सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
नेपाली निबन्धको विकास

कस्तो लेखन निबन्ध हो, कस्तो होइन ?

शनिबार, २० पुस २०८१, १४ : ००
शनिबार, २० पुस २०८१

निबन्ध भनेको आत्म–प्रकाशन हो । कुनै व्यक्तिले आफ्ना अनुभव र अनुभूतिलाई स्वतन्त्र तरिकाले गद्यमा अभिव्यक्त गर्ने माध्यम हो निबन्ध लेखन । कुनै पात्र, घटना वा विषयप्रति व्यक्तिगत दृष्टिकोण वा अनुभूतिसहित वर्णन गरियो भने त्यो निबन्ध हुन्छ । यस कारण नै निबन्ध अरु विधासँग स्पष्ट रूपमा छुट्टिन्छ ।

पत्रकारितामा रिपोर्टरले समाचारका तत्त्व नपुर्‍याई लेख्यो भने निबन्धको उपमा दिइन्छ भन्ने जुन यहाँको भनाइ छ, निश्चय नै त्यसमा पत्रकारको व्यक्तिगत धारणा वा अनुभूति आयो होला र नै निबन्धजस्तो भनियो । पत्रकारितामा एबीसी (एक्युरिसी, ब्यालेन्स र क्रिडिबिलिटी) हुनुपर्छ । निबन्धमा एक्युरिसी कम भए पनि हुन्छ, किनभने निबन्ध व्यक्तिको भावना र दृष्टिकोणसँग जोडिएको हुन्छ । तर निबन्धमा ‘क्रिडिबिलिटी’ चाहिँ आउनैपर्छ ।  

जहाँसम्म निबन्ध ‘फिक्सन’ वा ‘फ्याक्ट’ के कति हो भन्ने छ, फिक्सनमा लेखिएको छ भने त्यसको पात्र वास्तविक होइन, काल्पनिक हो । जस्तो ः गुरुप्रसाद मैनालीले कथा प्रथम पुरुष (म पात्र) बाट लेखेका छन् भने पनि त्यो म पात्र गुरुप्रसाद मैनाली हो भन्न पाइँदैन । तर देवकोटाले निबन्धमा म फलानो ठाउँ गएको थिएँ, यस्तो देखेँ भन्छन् भने त्यो उनैले भनेको हो अर्थात् फ्याक्ट हो । यस्तोमा निबन्धकारले गलत लेख्छ अर्थात् आफू नगएको ठाउँको पनि व्याख्या गर्छ भने त्यो बदमासी हुन्छ, त्यहाँ निबन्धकारको इमानदारी च्यूत हुन्छ । इमानदारीविनाको लेखनमा विश्वसनीयता हुँदैन र त्यो निबन्ध पनि हुँदैन । यद्यपि पत्रकारिता वा समाचारमा जस्तो फ्याक्ट निबन्धमा हुँदैन, किनभने निबन्धमा निबन्धकारको केही तथ्यप्रतिको कल्पना, केही भावना र मूलतः व्यक्तिगत दृष्टिकोण नै आएको हुन्छ । विश्वमा निबन्ध लेखनको सुरुवात नै स्वतन्त्र रूपले व्यक्तिगत दृष्टिकोण अभिव्यक्त गर्नकै लागि भएको हो । 

निबन्धको जन्म यस्तो बेला भयो कि युरोपलाई क्रिस्चियानिटीले थिचेको थियो । त्यो बेला मानिसले आफ्नो कुरा अभिव्यक्त गर्न पाउँदैथे, सबै कुरा ईशुको प्रशंसा र कट्टर धार्मिक दृष्टिकोणबाट व्यक्त गर्नुपथ्र्यो । जे लेख्दा पनि पिता, परमेश्वर र पुत्र (ट्रिनिटी) का कुरामै सचेत हुनुपथ्र्यो । धर्मले शासित मध्यकालीन पाश्चात्य समाजको उकुसमुकुसबाट उम्केर पुनर्जागरणमा हाम्फालेको फ्रान्सेली समाजमा मोतेनले आफ्ना अनुभव प्रस्तुतिको प्रयास गर्दा निबन्ध विधा जन्मेको थियो । एक किसिमको मुक्तिको आवरणमा त्यहाँ निबन्ध लेखनको सुरुवात भएको थियो । पुनर्जागरण सुरु भएपछि निबन्ध अस्तित्वमा आउनाको मूल कारण नै व्यक्तित्वलाई खुला रूपले बाहिर ल्याउने अवसर पाउनु हो । 

आन्तरिक रूपमा व्यक्तिका कमजोरी वा सबलता दुवै होलान्, जे भए पनि निबन्धमार्फत उसको दृष्टिकोण बाहिर आउँछ । लेखकको दृष्टिकोण आउने हुनाले नै त्यो निबन्ध भएको हो, आख्यानमा पनि लेखकको दृष्टिकोण बाहिर आउँछ तर त्यो अर्कै पात्र वा परिवेशका माध्यमबाट अप्रत्यक्ष रूपमा आउँछ । त्यसैले आख्यानमा कथा भन्नेको दृष्टिकोण नै कथाकारको पनि हो भन्न पाइँदैन । 

  • निबन्ध र प्रबन्ध

यहाँले भनेजस्तो हामीकहाँ सांस्कृतिक निबन्ध, ऐतिहासिक निबन्ध भनेर पनि आएका छन् । वास्तवमा ती प्रबन्ध नै हुन् । जस्तो ः बाबुराम आचार्यको ‘अब यस्तो कहिल्यै नहोस्’ प्रबन्ध नै हो । त्यसमा मिठासपूर्ण तरिकाले ऐतिहासिक घटना वर्णन गरिएका छन् तर त्यसमा लेखकको आत्म–प्रकाशन न्यून छ । कुनै गद्यमा व्यक्तिगत दृष्टिकोणबिनै वस्तुपरक ढंंगले विषयवस्तुको वर्णन हुन्छ भने त्यो प्रबन्ध हो ।  

प्रबन्ध भनेको खासमा वस्तुपरक वर्णन हो, यो निरस खालको पनि हुन सक्छ । गाईको निबन्ध त भनिन्छ, खासमा त्यो प्रबन्ध वा आलेख हो । अहिले हामी बसिरहेको रेस्टुरेन्टका बारेमा वास्तविक वर्णन गर्‍यौँ भने प्रबन्ध हुन्छ । तर त्यसैमा लेखकले ‘सुमधुर धुनले कान तानिरहेको छ, मध्यम उज्यालो हाम्रो अनुहारमा बर्सिरहेको छ र त यहाँ बसिरहँदा मलाई झरनाछेउ बसिरहेको आभास भएको छ’ भनेर वर्णन गर्दा त्यो निबन्ध हुन सक्छ । त्यसैले लेखकको व्यक्तित्वको प्रदर्शन नै निबन्धको आत्मा हो ।

लक्ष्मीप्रसाद देवकोटाले जति बेला निबन्धका अनुवादलाई ‘पन्ध्र प्रबन्ध’ भनेर कृति निकाले, वास्तवमा त्यो प्रबन्ध अंग्रेजी शब्द ‘एस्से’को अनुवाद मात्र थियो । देवकोटाले प्रबन्ध भने कि भनेनन् भन्नेमा पनि शंका हुन्छ, किनभने भाषा अनुवाद परिषद्ले उनलाई अनुवाद गर्न लगाएको र पुस्तक प्रकाशन गरिदिएको हुनाले अरूले पो प्रबन्ध भन्ने शब्द राखिदिए कि ! नत्र किन उनले पछि आफ्नो मौलिक कृतिलाई ‘लक्ष्मी निबन्धसंग्रह’ भन्थे होलान् र ?

प्रबन्ध भनेको वास्तवमा विषयगत वर्णन हो । 

आख्यान र निबन्धमा फरक यही हो कि निबन्धमा निबन्धकारले आफ्नो वास्तविक अनुभूतिलाई व्यक्त गरेको हुन्छ । कसैले निबन्धमा अनुभूति भनेर काल्पनिक कुरा लेख्छ भने त्यो निबन्ध हुँदैन । जस्तो ः ‘म कक्षा २ मा पढ्दा अनौठो स्वभावको मेरो एकजना साथी थियो, उसका कुरा मात्रै होइन कि व्यवहार नै हैरान पार्ने खालको थियो’ भनेर कसैले लेख्छ भने यो वास्तविक हुनुपर्छ । यो कुरा ढाँटेको वा कल्पेको हो भने त्यो लेखकको कमजोरी हुन पुग्छ जसले उसको विश्वसनीयता रहँदैन । तर फिक्सनमा यस्तो हुँदैन, फिक्सनमा जति पनि कल्पेर लेख्न सकिन्छ, किनभने फिक्सन भनेकै बनाइएको कथा हो । यथार्थमा आधारित भए पनि फिक्सन अनेकौँ कल्पना, बौद्धिकता र नाटकीयताबाट सुविचारित तरिकाले बनाइएको हुन्छ । 

निबन्ध लेखन भनेको चंगा उडाएजस्तो हो, लट्टाई हातमा हुन्छ तर चंगा माथि उडिरहेको हुन्छ । निबन्धलाई विचारको धागोले निर्देशित गरिरहेको हुन्छ । यसमा घटना र पात्रहरू वास्तविक हुन्छन् तर केही भावुकता वा बहकाउ आए पनि त्यसमा लेखकको प्रत्यक्ष नियन्त्रण हुन्छ । निबन्ध सिधै पाठकलाई सम्बोधन गरेर लेखिएको हुन्छ । तर आख्यानमा पाठकलाई सिधै सम्बोधन गरिँदैन, त्यहाँ ‘न्यारेटर’ चाहिन्छ । निबन्धमा आख्यान, कविता, नाटक आदि पनि राख्न सकिन्छ, त्यसरी राख्यो भने त्यो आख्यानात्मक निबन्ध, काव्यात्मक निबन्ध वा नाटकीय निबन्ध हुन पुग्छ । त्यसैले निबन्धमा साहित्यका सबै विधाका विशेषता अट्न सक्छन् र यो सबैभन्दा लचिलो विधा बन्छ । 

निबन्ध लेखन एक कला हो, कलामा कुनै तत्त्वको मापन ठिक–ठिक तरिकाले हुँदैन । त्यसैले निबन्धमा पनि कति आख्यान वा कल्पना मिसिन्छ भनी यसै भन्न सकिन्न । तर निबन्ध धेरै हदसम्म तथ्यकै मिठासपूर्ण अभिव्यञ्जना हो । तथ्यगत आधारबिना निबन्ध निबन्ध रहँदैन । अर्थात् निबन्धमा तथ्यबाटै आत्म–प्रकाशन गरिने हुनाले विश्वसनीयता अनिवार्य हुन्छ । 

  • नेपाली निबन्धको आधुनिक काल

निबन्धको प्रारम्भ हुँदा यसमा लोककथा, मिथक र अनुभूति आदि आएका थिए ।  मानिसले आफ्ना अनुभव र घटनाक्रम पाठकलाई विश्वास पार्ने गरी सुनाउने क्रममै निबन्धको विकास भएको मान्नुपर्छ । त्यसैले निबन्धको गूढ तत्त्व अनुनय (पस्र्युएसन) लाई मानिन्छ । वास्तवमा नेपाली निबन्ध र कथा सँगसँगै हुर्किएको देख्छु म । १९९० को दशकमा बालकृष्ण समले लेखेको ‘बर्दाहामा सिकार’ पनि कथा र निबन्धको दोसाँधमा देखिन्छ । त्यो रचनामा अनुभव र अनुभूतिको वर्णन हुनाले निबन्ध हो, घटनाक्रमलाई मिलाएर केही काल्पनिक व्यवस्थापन पनि गरिएकाले कथा पनि हो । पछि श्यामप्रसाद शर्माले पनि वैचारिक निबन्धलाई कथात्मक रूप दिएको पाइन्छ भने भैरव अर्यालले निबन्धमा कथालाई जोडेको पनि पाइन्छ ।

१९९३ सालमा लक्ष्मीप्रसाद देवकोटाको ‘पहाडी जीवन’ प्रकाशित भयो । त्यसबाट नेपालीमा निबन्ध प्रवेश भयोे अर्थात् नेपाली निबन्धको आधुनिकाल सुरु भयो भनेर हामीले अहिलेसम्म मानिरहेका छौँ । त्यसअघि पनि निबन्धको शैलीका रचना नआएका होइनन्, तर तिनमा कल्पना बढी छन् । १९७० को दशकमै शम्भुप्रसाद ढुंगेलको ‘महेन्द्रमल्ली’मा निबन्धका तत्त्व आएका थिए । एउटा पैसाले आफ्नो कथालाई आत्मपरक ढंगले सुनाएको प्रसंग ढुंगेलले त्यसमा उल्लेख गरेका छन् । 

नेपाली निबन्धको आधुनिक काल लक्ष्मीप्रसाद देवकोटाको जस्तो दार्शनिक भावुकता, यथार्थको काल्पनिक आभा र भावुकताको वर्णनमा मात्रै अडिएको छैन । त्यसमा विभिन्न व्यक्तिबाट निबन्धको आयाममा विकास भएको छ । हृदयचन्द्रसिंह प्रधान, श्यामप्रसाद आदिलाई यसमा प्रगतिशील वैचारिकता थप्ने र नयाँ धार दिने व्यक्तित्वका रूपमा लिन सकिन्छ । 

मेरो दृष्टिमा खास गरी शंकर लामिछानेका निबन्धसँगै नेपाली निबन्धको प्रगति भएको हो । मलाई लक्ष्मीप्रसाद देवकोटाको भन्दा शंकर लामिछानेका निबन्ध साँच्चै उत्कृष्ट लाग्छन् । देवकोटाका निबन्धमा बढी भावुकता पाउन सकिन्छ, कति ठाउँमा दर्शनको गह्रौँ भारी बोकेर पनि धागो चुँडेको चंगाजस्तो बहकिन्छन् उनका निबन्ध । लामिछानेका निबन्धमा भने सघन वैचारिकता र अनुभवजन्य रोचक कथा बुनिएर आएको देखिन्छ । उनका निबन्धमा उनका विचार स्थापित छन् तर ती कलात्मक दक्षताबाट बाँधिएका छन् । यो खालको शैलीले धेरै पाठकलाई निबन्धतिर तानेको हो । नेपाली निबन्धलाई लोकप्रिय बनाउने र इज्जतिलो तरिकाले व्यापक बनाउने काम लामिछानेले नै गरेका हुन् । त्यसपछि भैरव अर्यालले हास्यव्यंग्य शैलीबाट निबन्धलाई फरक आयाम दिए । शैली हास्यव्यंग्य भएकाले उनका निबन्धमा कल्पना अलि बढी पाइन्छ, यद्यपि ती राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रवृत्तिका तथ्यमै आधारित छन् । तिनमा अनुप्रासका खेल अलि बढी खेलिन्छ, जसले अर्यालका निबन्धलाई रोचक बनाएको छ । 

यस्तै नियात्रालाई लैनसिंह बाङ्देलले उठाए, ताना शर्माले उचाइमा पुर्‍याए । अहिले निबन्धमा नियात्राको प्रभुत्व अधिक छ, कति नियात्रा कृत्रिम वर्णनमा पनि लेखिएका छन् । देवकोटाका जस्ता भावुक खालका निबन्ध अचेल लेखिँदैनन्, त्यस्ता कसरत गर्नुपर्ने निबन्धमा पाठकको रुचि पनि देखिँदैन । शब्दको अर्थहीन खेल भएका भावुक निबन्ध अचेल मोमिलाबाट आएका छन् तर अनुभव र दार्शनिक गहिराइविनाका त्यस्ता रचनाले केही क्षण पाठक अलमलिए पनि ‘वाह !’ भनिहाल्ने अवस्था भने म देख्दिनँ । 

निबन्धमा मानवीय सम्बन्धको भावुकतालाई उपयोग गर्ने सामथ्र्य निर्मोही व्यासमा पाइन्छ । कृष्णचन्द्र सिंह प्रधानले अलि जटिल प्रकृतिका निबन्ध लेखेका छन् । उनका निबन्धमा विचारहरू छिर्छन् तर ती विचार स्पष्ट नभई लेखक बाहिर निस्कन्छन् । अर्थात् तिनमा तर्कका जञ्जाल बढी हुन्छन् तर वैचारिक रूपमा धेरै अलमल देखिन्छ र तिनको गति शिथिल छ । निबन्धमा विचार स्पष्ट हुनुपर्छ भन्ने मेरो मान्यता हो । विचारलाई सम्प्रेषण गर्ने युक्ति खोजेर पाठकलाई आकर्षित गरिरहन सक्नु निबन्धकारका निम्ति प्रमुख चुनौती हुन्छ ।  

पछिल्लो चरणमा आएर हामीकहाँ धेरै पत्रकार र स्तम्भकारहरू निबन्धकार भएका छन् । अलिकति कलात्मक ढंगले लेख्न सक्यो भने पत्रकार निबन्धकार हुने सम्भावना बढी छ । अहिले रिपोर्टिङ वा भनौँ पत्रकारिताबाट आएका निबन्ध र अनुभव अनि चिन्तन मिसिएका निबन्धले पाठकलाई बढी प्रभाव पारेका छन् । 

खासगरी स्तम्भकारहरूले आफ्नो निजी अनुभव पनि आलेखका रूपमा लेखे । खगेन्द्र संग्रौला पत्रिकाबाटै आएका निबन्धकार हुन् । कान्तिपुरमा नारायण वाग्लेले निबन्ध लेखे, विमल निभाले धेरै वर्ष लेखे, झमक घिमिरेले त्यही गरिन् । सरिता तिवारीका आलेख पनि निबन्ध नै हुन् । 

कतिपयले पत्रिकामा छापिएका आफ्ना आलेख वा फिचरलाई निबन्ध भनेर पुस्तकका रूपमा ल्याएका छन् । जस्तो ः विमल निभा । उनले पत्रिकामा छापेका आलेखलाई नै निबन्ध संग्रह भनेर प्रकाशन गरेका छन् । यस्तै यज्ञशले भूइयाँ निबन्ध संग्रह ल्याए । वास्तवमा यो रिपोर्टिङ नै हो । रिपोर्टिङ शैलीको प्रयोग मोहन मैनालीका निबन्धमा पाइन्छ । तिनी निबन्धमा तथ्यात्मक सूचना त छन् तर तिनमा व्यक्तिको अनुभव र अनुभूति पढ्दा झन् आनन्द हुन्छ । 

अन्तर्विरोध समकालीन निबन्धको एउटा परिचय हो । खगेन्द्र संग्रौलाको लेख–रचना आत्मकथा वा स्मृतिप्रधान देखिन्छन् । विशेषतः उनले आफ्ना लेख रचनामा परम्परा र आधुनिकताबिच ‘कन्ट्रोभर्सी’ सिर्जना गरेका छन् । शंकर लामिछानेका निबन्धमा पनि निकै ‘कन्ट्रोभर्सी’ पाइन्छन् । विश्वेश्वरप्रसाद कोइरालाका लेखनमा पनि पर्याप्त ‘कन्ट्रोभर्सी’ देखिन्छ । कोइरालाका जेलजर्नल आत्मकथ्य जस्ता निबन्ध कृतिले त २०५० को दशकमा एक खालको तरंग नै ल्याए । ‘कन्ट्रोभर्सी’ मान्छेको कमजोर नियति देखाउँछ । वास्तवमा आफ्नो कमजोरी समेत केलाएर निबन्ध लेख्नु निबन्धकारको सफलता हो । यसले गर्दा पाठकको मनमा लेखकको अनुभवप्रति विश्वासको वातावरण सिर्जना हुन्छ ।

नेपाली निबन्धको समसामयिक काल भनेर २०५०/६० सालपछिको अवधिलाई मान्न सकिन्छ । यो अवधिमा जगदीश घिमिरेको अन्तर्मनको यात्राजस्तो चिन्तनीय निबन्ध आयो । यस्तै शारदा शर्माको ‘अग्नि स्पर्श’जस्तो दार्शनिक खालको निबन्ध संग्रह आयो । अगाडिदेखि नै लेखेका श्यामल, नारायण ढकाल, भूपिन लगायत कविहरूका निबन्ध अझ शक्तिशाली भएर आएका छन् । कविहरूका निबन्ध किन पनि शक्तिशाली र सुन्दर छन् भने त्यसमा कविता तत्त्वको प्रबलता छ । अनि तिनको लेखनमा आफ्नो झुटो व्यक्तित्व प्रदर्शन गर्ने नभई इमानदारिता पाइन्छ । केशव दाहालको ‘माधवी ! ओ माधवी !’ अनि दामोदर पुडासैनीको ‘डोल्पो, ओ डोल्पो’ले विचार र इमादारी दुवैलाई कलमा सम्प्रेषण गर्न सकेका छन् । 

समसामयिक निबन्धमा मूलतः सामाजिक तथ्यहरू नै बढी आउँछन् । खास गरी सामाजिक अभियान र आन्दोलनहरूलाई निबन्धको विषयवस्तु बनाइन्छ र बनाइएका पनि छन् । जस्तो ः शान्ता चौधरीको ‘कमलरीदेखि सभासद्सम्म’ पनि निबन्ध कृति हो । तारा राईको ‘छापामार युवतीको डायरी’ पनि निबन्ध कृति हो ।   

पछिल्लो समयका निबन्धमा सामाजिक न्याय वा सामाजिक आन्दोलनहरू आएका छन् । आहुतिको ‘जात–वार्ता’ पनि प्रभावशाली निबन्ध कृति हो । नवराज केसीको निबन्ध ‘शून्यको मूल्य’को प्रभाव आख्यानको भन्दा कति हो कति धेरै छ । राजकुमार बानियाँलगायत कतिपय पत्रकारले कसैसँग कुराकानी गरेर सूचना लिएर लेखेका अनुभूतिमूलक मिश्रित आलेख वा फिचर पनि निबन्धभित्रै पर्छन् । देवेन्द्र भट्टराईको यस्तो नाटकीय निबन्ध ‘स्रष्टा र समय’ गज्जबको छ । मेरै ‘सीमान्त आकाश ः स्रष्टासितको अन्तर्यात्रा’मा पनि पत्रकारिता, नियात्रा, संस्मरण  र समालोचना मिश्रणको आनन्द लिन सकिन्छ ।

पछिल्लो समय खास गरी किनारीकृत जाति, वर्ग, लिङ्गका पहिचानका मुद्दालाई जीवन्त बनाउने तथा निम्न वर्गका पात्रका पीडा टिप्ने काम बढी भएको छ । जसले गर्दा निबन्ध अभियानका गहन दस्ताबेज, संवेदनशील परिघटनाका साथै मिठासपूर्ण शब्दकर्म पनि बनेका छन् । अहिलेको निबन्धको प्रवृत्ति नै सामाजिक संघर्ष, पहिचान र सामाजिक न्यायतिर ढल्किएको छ । यस्ता निबन्धले पाठकलाई ‘कन्भिन्स’ गर्ने क्षमता राख्छन् । भर्खरै आएको कुमारी लामाको ‘दज्र्यू संलाप’लाई यसमा लिन सकिन्छ । यस्ता निबन्धलाई कसैले दार्शनिक बनाएका छन्, कसैले संवादात्मक वा नाटकीय बनाएका छन् । यिनै क्रममा समसामयिक नेपाली निबन्धका प्रवृत्तिहरू थिग्रिँदै भिन्न–भिन्न आकार लिँदै अघि बढ्छन् भन्ने अपेक्षा गरौँ ।     

(रातोपाटीकर्मी ध्रुवसत्य परियारसँगको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र एटम
नेत्र एटम
लेखकबाट थप