काठमाडौँ । रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको पाँचौँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । पाँचौँ एपिसोड प्रथम नेपाली स्रष्टा ललितत्रिपुरसुन्दरीको बारेमा केन्द्रीत छ।
परिचय
स्रष्टा ललितत्रिपुरसुन्दरी
जन्ममिति : वि.सं. १८५०
निधन : वि.सं. १८८८ चैत १६
माता : राजकुमारी थापा
पिता : नयनसिंह थापा
प्रथम नेपाली स्रष्टा हुने श्रेय ललितत्रिपुरसुन्दरीलाई दिइएको छ ।
ललितत्रिपुरसुन्दरीले महाभारतको शान्तिपर्व अन्तर्गत अनुशासन पर्वलाई ‘राजधर्म’ का नाममा नेपाली भाषामा भावानुवाद गरेकी हुन् ।
ललितत्रिपुरसुन्दरीको जन्ममिति, जन्मस्थल, माता–पिता आदिबारे इतिहासकारमा एकमत छैन ।
वि.सं. १८५० मा उनको जन्म भएको धेरैको ठहर छ ।
तर, इतिहासकार दिनेशराज पन्तका अनुसार चाहिं उनको जन्म वि.सं. १८४७ मा भएको हो ।
अझै कैयन् पक्ष उद्घाटन हुन बाँकी छन् ।
कतिपयले उनको नाम ललितत्रिपुरासुन्दरी पनि उल्लेख गरेका छन् ।
पुर्ख्यौली दर्साउने क्रममा कतिपय इतिहासकारले उनलाई थापा क्षेत्रीकी छोरी भनेका छन् ।
कतिपयले भीमसेन थापाका भाइ नयनसिंह थापाकी कान्छी छोरी जनाएका छन् । यस अर्थमा उनी भीमसेन थापाकी भतिजी देखापर्छिन् ।
नयनसिंह थापाको विवाह काजी रणजित पाँडेकी छोरी राजकुमारीसित भएको थियो ।
यिनै नयनसिंह र राजकुमारीलाई ललितत्रिपुरसुन्दरीका पिता तथा माता मानिएको छ ।
वि.सं. १८६२ साल फागुन २६ गते उनको विवाह तत्कालीन श्री ५ रणबहादुर शाहसित भएको हो ।
रणबहादुर शाहकी राजराजेश्वरी, सुवर्णप्रभा, कान्तवती र चन्द्रवतीपछिकी कान्छी पत्नी ललितत्रिपुरसुन्दरी आफ्ना पतिभन्दा १८ वर्ष सानी थिइन् ।
रणबहादुर शाहका पत्नी यत्ति मात्र होइनन्, योभन्दा तेब्बर पत्नी भएको उल्लेख पाइन्छ ।
रणबहादुर शाहको अन्त्येष्टिसँगै र पछि गरेर सती जानेको सङ्ख्या १६ भएको इतिहास छ ।
विवाह भएको अल्प समयमै विधवा बनेकी ललितत्रिपुरसुन्दरीले चाहिं सती जानुपरेन ।
यसका पछाडि भीमसेन थापाको सहयोग रहेको मानिन्छ । विवाह भएको अर्को वर्ष नै उनले विधवा हुनुपर्यो ।
‘रजोवती’ नभएकीले सती पठाउन नमिल्ने भनी उनलाई सती जानबाट रोक लगाई बचाइएको थियो ।
पति रणबहादुर शाहको हत्यापछि बालबिधवा बनेकी ललितत्रिपुरसुन्दरी पढाइ, लेखाइका साथै धार्मिक, सामाजिक काममा बढी रुचि राख्थिन् ।
‘यथा नाम तथा गुण’ भनिए झैं ललितत्रिपुरसुन्दरी असाध्यै रूपवती थिइन् ।
शारीरिक सौन्दर्य मात्र होइन, चालचलन, विधि, व्यवहार सबै कुरा उनका सुन्दर भएको बयान पाइन्छ ।
साहित्यकार एवं, लेखक नरेन्द्रराज प्रसाईका अनुसार नेपाली भाषासाहित्यमा पहिलोपल्ट अक्षर खेलाउने नारी ललितत्रिपुरसुन्दरी हुन् ।
यसका साथै नेपाली भाषामा पहिलोपटक कविता रचना गर्ने स्रष्टा पनि ललितत्रिपुरसुन्दरी नै हुन् ।
विद्वान् गोविन्द भट्टको भनाइ यतिखेर स्मरणीय बनेको छ ।
आदिकवि भानुभक्त आचार्य र ललितत्रिपुरसुन्दरी कालक्रमको लेखाजोखा गर्दै विद्वान् भट्टले दुई अढाइ दशकले मात्रै अघि–पछि जन्मिएका र बितेका भानुभक्त आचार्य (वि.सं.१८७१–१९२५) र ललितत्रिपुरसुन्दरी (वि.सं.१८५०–१८८८) का बीच केही रोचक समानता औंल्याएका छन्-ः
दुवै स्रष्टाको जन्म इतिहासको अशान्त अवधिमा भएको, दुवैले प्राचीन हिन्दुधर्म र दर्शनलाई आफ्नो साहित्य रचनाको मूल प्रेरणा बनाएको, अध्यात्मवादबाटै राष्ट्रका सबै समस्या र सङ्कटको समाधान पाउन सकिने परम्परावादी मान्यताप्रति गहन आस्था रहेको र भानुभक्तले ‘रामायण’ तथा ललितत्रिपुरसुन्दरीले ‘महाभारत’ लाई अनुवाद र अन्य रचनाको आधार मानेको दृष्टिकोण प्रकट गरेका छन् ।
ललितत्रिपुरसुन्दरीले वि.सं.१८८१ सालमा संस्कृतबाट नेपाली भाषामा अनुवाद गरेको ‘राजधर्म’ लाई भुवानन्दले वि.सं.१९३० मा सारे ।
यस कृतिलाई जनसामु ल्याउने स्तुत्य काम चाहिं योगी नरहरिनाथबाट भएको अविस्मरणीय छ ।
प्रकाशनमा ल्याउने काम चाहिं वि.सं.२०१९ सालमा जगदम्बा प्रकाशनले गरेको हो ।
नई प्रकाशनले यस कृतिलाई २०६४ सालमा पुनः छाप्ने काम ग¥यो ।
‘राजधर्म’ अनूदित कृति भए तापनि यसको भाषा, शैली उत्कृष्ट छ ।
ललितत्रिपुरसुन्दरीले यसमा मौलिकताको जलप दिएको अनुसन्धाता बताउँछन् ।
अहिलेका लेखक, साहित्यकारको भाषाभन्दा ‘राजधर्म’ को भाषा, शैली र प्रस्तुति अत्यन्तै मिठासपूर्ण रहेको धारणा इतिहासकार दिनेशराज पन्तको छ ।
‘राजधर्म’ मात्रै नभई अन्य क्षेत्रमा पनि उनको भाषाप्रतिको अनुराग छरपस्ट रहेको पाइन्छ । उनको शासनकालमा ठड्याइएका कैयन् शिलालेख यसका बलिया साक्षी बनेका छन् । सौतेनी छोरा श्री ५ गीर्वाण र नाति श्री ५ राजेन्द्रको अभिभावकत्व ग्रहण गर्दै २५ वर्ष देशको नायबी सह्मालेकी ललितत्रिपुरसुन्दरीको शासन सञ्चालन पनि निकै महत्त्वपूर्ण मानिएको छ ।
‘श्री ५ पृथ्वीनारायण शाहको निधन वि.सं.१८३१ पश्चात् वि.सं.१९०० सम्म करिब ७० वर्षको अवधिमा पाँचवटी महारानीहरूः प्रतापसिंहकी विधवा महारानी राजेन्द्रलक्ष्मीदेवी, श्री ५ रणबहादुर शाहकी जेठी महारानी राजराजेश्वरीदेवी, उनैकी माहिली महारानी सुवर्णप्रभादेवी र कान्छा महारानी ललितत्रिपुरसुन्दरीदेवी, श्री ५ राजेन्द्रविक्रम शाहकी कान्छा महारानी राज्यलक्ष्मीदेवी नाबालक राजाहरूः क्रमशः श्री ५ रणबहादुर शाह, श्री ५ गीर्वाणयुद्धविक्रम शाह, श्री ५ राजेन्द्रविक्रम शाह र श्री ५ सुरेन्द्रविक्रम शाहका नायब बनेका थिए ।
यी पाँच जना महारानीमध्ये महारानी ललितत्रिपुरसुन्दरीले सबैभन्दा बढी नायबी सञ्चालन गरिन् ।
उनको नायबीकालमा अन्य महारानीको नायबीकालमा झैं अस्थिरता, अशान्ति, शासक–प्रशासक बीचमा गुटबन्दी, आपसी हानथाप, झगडा, मारपिट तथा देश र जनतामाथि शोषण, उत्पीडन र थिचोमिचो भएन ।
मुलुक त्यस बेला शान्त र सुस्थिर रह्यो । सबैभन्दा महत्त्वपूर्ण र प्रशंसनीय कुरा त उनी चारित्रिक रूपमा पवित्र, निष्कलङ्क, नैतिकवान्, पतिभक्त, देशभक्त तथा धर्मपरायण महारानी कहलिएको’ उल्लेख लेखक राजेश्वर थापाले आफ्नो कृति ‘नायब महारानी ललितत्रिपुरसुन्दरी शाह (थापा)’ मा गरेका छन् ।
काठमाडौंको वागमती र टुकुचाको दोभानस्थित कालमोचन घाटमा आफ्नो नाममा त्रिपुरेश्वर महादेवको मन्दिर बनाइन् ।
पछि आएर यसै मन्दिरका कारण स्थानीय स्थलको नाम नै त्रिपुरेश्वर रहन पुग्यो ।
यस मन्दिरको हाताभित्र ललितत्रिपुरसुन्दरीदेवीको प्रतिमा राखिएको छ ।
थापाथलीमा वागमतीको पुल निर्माण गरेकी ललितत्रिपुरसुन्दरीले मठ, मन्दिर, पाटी, पौवा, गुठी लगायतका निर्माण एवं पुनर्निर्माणमा सक्रियता बढाएकी थिइन् ।
बस्ती विकासमा पनि उनको योगदान छ । उनी वि.सं. १८६९ मा बनारस गई दुई वर्ष त्यहाँ बिताएको उल्लेख पाइन्छ ।
बनारसमा रहँदा उनले नेपाली मन्दिर निर्माण गराइन् ।
काशी विश्वनाथ मन्दिर नजिकै रहेको ‘नेपाली घाट’ लाई पुनर्निर्माण गराएकी उनले त्यसको माथ्लो भागमा ‘साम्राज्येश्वर पशुपतिनाथ मन्दिर’ स्थापना गरिन् ।
उनले पुनर्निर्माण गराएको घाट आज पनि ‘ललिताघाट’ नामले प्रसिद्ध छ । स्थानीय बासिन्दा साम्राज्येश्वर पशुपतिनाथ मन्दिरलाई ‘नेपाली मन्दिर’ पनि भन्दछन् ।
ललिता गौरी मन्दिरको इतिहाससित पनि उनको साइनो गाँसिएको छ ।
साम्राज्येश्वर पशुपतिनाथ मन्दिर निर्माण गरिंदा नेपाली कलाको मौलिकताका लागि नेपालबाटै ईंट, चून, लकडी, झिंगटी र कलाकार समेत लगिएका थिए ।
ढुण्डिराज भण्डारीले ‘नेपालको आलोचनात्मक इतिहास’ मा यसबारे उल्लेख गरेका छन् ।
पोखरी, बाटो, कुलो आदिको निर्माणमा पनि उनको अग्रसारिता रहेको थियो ।
उनले वि.सं.१८८२ मा गजुरसहितको धरहरा बनाइन् । यसको अघिल्लो वर्ष, वि.सं. १८८१ मा भीमसेन थापाले आफ्नो दरबार नजिकै धरहरा बनाएका थिए ।
त्यहीं छेवैमा उनले अर्को धरहरा निर्माण गराएकी हुन् ।
इतिहास अनुसार, वि.सं. १८९० को भुइँचालो र वि.सं. १९१३ सालको वज्रपातमा परी धरहराहरू क्षतिग्रस्त भएका थिए ।
वि.सं. १९९० को महाभूकम्पमा दुवै धरहरा भत्किए ।
भीमसेन थापाले बनाएको धरहरा पूरै ढल्यो ।
ललितत्रिपुरसुन्दरीद्वारा निर्मित धरहरा चाहिं आधा भत्किएको थियो ।
पछि, यस धरहरालाई श्री ३ जुद्धशमशेरले जीर्णोद्धार गराए ।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको सोही धरहरा हाल पुनर्निर्माण भई खडा रहेको छ ।
सुनधाराको निर्माण पनि उनले नै गराएकी हुन् ।
उनको नाम अङ्कित मुद्रा पनि रहेका छन् ।
ललितत्रिपुरसुन्दरीको नायबीकालमा दरबारमा साहित्यकारको ठूलो सम्मान थियो । ललितत्रिपुरसुन्दरी आफू स्वयं कवयित्री, लेखिका भएकीले हुनसक्छ, त्यतिखेर साहित्यकार उत्प्रेरित तथा प्रोत्साहित थिए । त्यस बखत राजकीय पुस्तकालय निर्माण हुनुले पनि उनको पठनपाठनप्रतिको दृष्टिकोण उजागर हुन्छ । भनिन्छ, सोही पुस्तकालय पछि आएर राष्ट्रिय अभिलेखालयका रूपमा परिणत भयो ।
आफू मात्रै पढ्ने होइन, अरूलाई पनि पढ्न प्रेरित गर्ने ललितत्रिपुरसुन्दरीले पुस्तक दान दिने गरेको उल्लेख पनि पाइन्छ ।
उनको पढ्ने, पढाउने प्रवृत्तिकै छाप परेकाले हुनसक्छ,
नाति श्री ५ राजेन्द्रले संस्कृत र नेवाः भाषामा गरी तीनवटा कृति लेखेको भनाइ वरिष्ठ समालोचक दयाराम श्रेष्ठको छ ।
धर्मपरायण ललितत्रिपुरसुन्दरीका सम्बन्धमा शिलालेख, अभिलेख र इतिहास आदिले केही प्रकाश पारेका छन् ।
कैयन् विद्वान् लेखकका रचनाले पनि उनका बारेमा विविध पक्ष उद्घाटन गर्दै आएका छन् ।
यस क्रममा लेखक नरेन्द्रराज प्रसाईको देन स्मरणीय छ ।
तैपनि ललितत्रिपुरसुन्दरीका सम्बन्धमा अझै धेरै कुरा अज्ञात रहेका छन् ।
‘समाजसेवा’ ललितत्रिपुरसुन्दरीको अर्को उल्लेख्य पक्ष हो ।
पाटी, पौवा, कुलो आदि निर्माणका कुरा त छँदैछन्, महामारी फैलिएका बखत जनसाधारण माझ पुग्नु उनको वैशिष्ट्य मान्नुपर्छ ।
देशमा बिफर (शीतलामाई) फैलिएको बेलामा उनी बाहिर निस्किई समाजसेवामा लागेकी थिइन् ।
हुन त ललितत्रिपुरसुन्दरी आफै पनि यसको चपेटामा परिन् र यही रोग उनको मृत्युको कारण समेत बन्न पुग्यो ।
वि.सं.१८८८ चैत १६ गते उनले यस संसारबाट बिदा लिएको इतिहास रहेको छ ।
ललितत्रिपुरसुन्दरीमा अनेक विशेषता रहेकैले हुनुपर्छ, सुन्दरानन्द बाँडाले आफ्नो ‘त्रिरत्न सौन्दर्यगाथा’ कृतिमा उनलाई ‘साक्षात् देवी’ संज्ञा दिएका छन् ।
त्यतिखेरका विद्वान् वाणीविलास पन्तले पनि ललितत्रिपुरसुन्दरीलाई नेपालका रत्नमध्ये ‘अमूल्य रत्न’ ठहर गरी निकै प्रशंसा गरेका छन् ।
यहाँ ललितत्रिपुरसुन्दरीलाई अन्य धेरैजसो लेखकले झैं प्रथम नेपाली महिला स्रष्टा भनिए तापनि यसबारे घोत्लिनुपर्ने देखिएको स्मरणीय छ ।
लेखक रतन भण्डारीका अनुसार ललितत्रिपुरसुन्दरीले ‘राजधर्म’ अनुवाद गर्नु ८८ वर्षपूर्व अर्थात् वि.सं. १७९२ मा डडेल्धुराकी भुवनेश्वरी उप्रेतीले महाभारतका एकलाख श्लोक हातले लेखेकी थिइन् ।
मल्लकालमै नेपाली कवयित्री देखापरेको भनाइ चाहिं प्रा.डा. कुमारबहादुर जोशीको छ । उनका अनुसार प्रताप मल्लकी रानी लालमती कवयित्री थिइन् ।
इतिहासकार सूर्यविक्रम ज्ञवालीको ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’ मा यस प्रकार उल्लेख छः
‘ठिमी तथा बोडेका माझमा पर्ने नाग देशमा पण्डित श्री जिनश्रीज्ञानले लेखेको शतसाहस्रिका प्रज्ञापारमिता राखिएको छ ।
त्यो हेर्न प्रताप मल्ल तथा रानी लालमती गएछन् ।
सो पुस्तक देखी मुग्ध भएकी रानी लालमतीले तत्काल केही श्लोक रचना गरी आफ्ना मनको श्रद्धा व्यक्त गरिछन् ।
सो सुनी प्रताप मल्लले पनि सो महान् ग्रन्थको प्रशंसा गरी श्लोक रचना गरेछन् ।
उपलब्ध तथ्य, प्रमाण र इतिहासकारहरुसँगको कुराकानीका आधारमा ललितत्रिपुरसुन्दरीलाई प्रथम नेपाली महिला स्रष्टा मानिएको छ । तर, समग्रमा भन्नुपर्दा, इतिहास सधैं खोजीको विषय हुन्छ । अतः प्रथम नेपाली महिला स्रष्टा खुट्याउने काममा सम्बन्धित सबैबाट व्यापक अध्ययन र अनुसन्धान जरुरी रहेको छ ।
प्रतिक्रिया