आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ठगी गर्ने नेताका मान्छेको पर्दाफासदेखि सहकारी ठगीको मुद्दामा प्रमाण नभएको जिकिरसम्म

शुक्रबार, १९ पुस २०८१, २२ : ००
शुक्रबार, १९ पुस २०८१

आज मिति २०८१ साल पुस महिनाको १९ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. माओवादी बैठक

नेकपा माओवादी केन्द्रभित्र विशेष महाधिवेशन बोलाउने कि नियमित महाधिवेशनको तयारी गर्ने भन्ने विषय केन्द्रित बहस भएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा महाधिवेशनको तयारी गर्न नेतृत्वसमक्ष नेताहरूले सुझाव दिएका थिए ।

उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण, विचार संश्लेषण सम्बन्धमा आफूले राखेको प्रस्तावबारे सुनुवाइ नभएकोमा असन्तुष्टि पोखेका थिए । स्रोतका अनुसार विधान अधिवेशनले दिएको म्याण्डेट कार्यान्वयन गर्न आगामी असोज वा कात्तिकसम्म विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा शर्माले राखेका थिए ।

२. राज्य व्यवस्था तथा सुशासन समिति

शुक्रबार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित थिए लोक सेवा आयोगका प्रमुख र पदाधिकारीहरू । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्न उनीहरूलाई समितिले बोलाएको थियो ।

बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले विधेयकमाथि सुझाव दिएका थिए । उनले लोक सेवा प्रवेश गर्ने विन्दु पुरूषका लागि ३२ र महिलाका लागि ३७ वर्ष अनिवार्य गर्न सुझाव दिए ।

त्यसका पछाडि उनले अनेक तर्क गरे । आयोगका तर्फबाट सुझाव राख्दै उनले धेरै लामो समयसम्म कुनै व्यक्तिलाई अवसर प्रदान गर्दा त्यसको सदुपयोग हुन नसके ‘व्यक्तिको जीवन पनि बरबाद’ हुने तर्क गरे ।

रेग्मीका अनुसार जो मान्छे चारपाँच पटक परीक्षा दिँदा पास हुँदैन, त्यसलाई २० औँ चोटी अवसर दिँदा जीवनभर प्रेसरमा रहन्छ । ‘घर–परिवार, गाउँ लगायतबाट प्रेसर हुन्छ । ऊ पनि पास हुँदैन,’ उनको तर्क थियो ।

रेग्मीले योग्यता, क्षमता नभएको मान्छे पचास पटक परीक्षा दिए पनि पास नहुने दाबीसमेत गरे ।

३. सूर्यदर्शन सहकारी प्रकरण

सूर्यदर्शन सहकारी ठगीसहितका मुद्दामा जारी बहसका क्रममा शुक्रबार प्रतिवादी छविलाल जोशी र लिला पछाईंका कानुन व्यवसायीहरूले आफ्नो तर्क पेस गरेका छन् ।

बहसमा सहभागी हुँदै छविलाल जोशीका कानुन व्यवसायी जगन्नाथ ढकालले अभियोगपत्र दर्ता गर्दा प्रमाण पुष्टि हुने कागजात नै नभएको बताए । ‘उहाँले पैसा लिएको देखिएको छैन । शेयर हालेको कुरा आएको छ । तर शेयर हाल्दा पैसा पनि दिइएको छैन, छोडेपछि पैसा पनि लिइएको छैन,’ उनले भने, ‘नेचर हब्समा २७ दिनमा छोड्नुभएको छ । गोर्खा मिडिया पनि ५ महिना नपुग्दै छोड्नुभएको छ । सबै हेर्दा प्रमाणको खिलापमा अभियोग दर्ता भएको छ ।’

४. धमाधम बीमा पोलिसी सरेन्डर

पाँच महिनाको अवधिमा झन्डै ४५ हजार जना बीमितले बीमा पोलिसी सरेन्डर (समर्पण) गरेका छन् । नियमित रूपमा बीमाको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था भएपछि मंसिर महिनासम्म मात्रै ४५ हजार ६० वटा बीमालेख होल्डरले त्यस्तो बीमा पोलिसी त्यागेका हुन् ।

५. संघीयता कार्यान्वयनमा कमजोरी

नेपालको संविधानले निर्धारण गरे अनुसार देशमा तीन तहका सरकार छन् । संविधानले संघीयता अनुसार तीनै तहका सरकारबिच अधिकार बाँडफाँट गरेको छ । तर, केही अधिकार अझै पनि संघबाट प्रदेशमा प्रत्यायोजन हुन सकेको छैन । संघीयता कार्यान्वयनको ७ वर्ष अवधि पूरा हुँदै गर्दा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने प्रहरी प्रशासनको सेवा प्रवाह गर्ने अधिकार संविधान अनुरुप केन्द्रबाट प्रदेशहरूमा विकेन्द्रीकरण हुन सकेको छैन ।

६. कांग्रेस बैठक

नेपाली कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता समितिको शुक्रबार बसेको बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको हो ।

७. ठगीको पर्दाफास

एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट बर्खास्त गरेका छन् । पोखरेल ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएपछि पदबाट हटाइएको हो ।

८. चुनावी मुभमेन्टको झल्को

आवधिक निर्वाचन हुन झण्डै पौने तीन वर्ष बाँकी छ । तर प्रमुख राजनीतिक दलहरू भने अहिलेदेखि नै विभिन्न अभियानका नाममा चुनाव केन्द्रित ‘मुभमेन्ट’ चलाउन व्यस्त देखिन्छन् ।

सत्तारुढ दल नेकपा एमालेदेखि नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसम्म अभियान केन्द्रित बनेका हुन् । उनीहरूले सञ्चालन गर्ने अभियानका नाम फरकफरक भए पनि जनता आफ्नो पक्षमा पार्ने मुख्य उद्देश्य राखेको देखिन्छ ।

९. साइबरको माध्यमबाट ठगी

साइबरको माध्यमबाट पोखरा र चितवनमा मात्रै ७३ लाख रुपैयाँ लुटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख लुटिएको हो ।

१०. पुस्तक विमोचनमा पूर्वराष्ट्रपति

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लेखेको आमा, सपना र ताराहरू नामक पुस्तक विमोचन गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली र उपप्राध्यापक डा. विन्दु शर्माले विमोचन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप