आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

सर्वाधिक पुरस्कार राशिसहित ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुनमा

शुक्रबार, १९ पुस २०८१, १६ : ४४
शुक्रबार, १९ पुस २०८१

काठमाडौँ । ई–स्पोटर्स संघ नेपालले आगामी फागुनमा ‘ई–स्पोटर्स राष्ट्रिय च्याम्पियनसिप–२०२५’ आयोजना गर्ने भएको छ । प्रतियोगिता ‘नेपाल प्लेज’ को व्यवस्थापनमा सञ्चालन हुने जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

प्रतियोगिता फागुन ८ देखि १० गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ । आयोजक संघले यो प्रतियोगिता नेपाली ई–स्पोर्टसको इतिहासमा हालसम्मकै सर्वाधिक पुरस्कार राशिको भएको पनि बताएको छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि २५ लाख रुपैयाँ रहेको बताइएको छ । प्रतियोगितामा सहभागी ६ वटा विधाका विजेता र उपविजेता खेलाडीले यो पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न ६ वटा विधा समावेश गरिएको जानकारी आयोजक संघका अध्यक्ष अञ्जन धमलाले दिए ।

प्रतियोगितामा ई–फुटबल, मोबाइल लिजेन्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले रहेको गरी ई–स्पोर्टको ६ विधा समावेश गरिएको अध्यक्ष धमलाले बताए । प्रतियोगिताको छनोट चरणका खेलहरू अनलाइनमार्फत हुनेछन् ।

अन्तिम चरणको खेल भने भौतिक रूपमै काठमाडौँको दशरथ रंगशालामा खेलाइने बताइएको छ । कार्यक्रममा नेपाल प्लेजका प्रबन्ध निर्देशक उज्जेनलाल श्रेष्ठले नेपाली ई–स्पोर्ट खेलको इतिहासमा यो प्रतियोगिता महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । प्रतियोगिता सम्पन्न गर्न तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक संघले जनाएको छ ।

ई–स्पोटर्स संघ नेपालले यो प्रतियोगिताका लागि चलचित्रकर्मी निश्चल बस्नेतलाई सद्भावना दूतका रूपमा नियुक्त गरेको छ । सद्भावना दूत नियुक्त भएका बस्नेतले नेपाललाई अन्तर्राष्ट्रिय खेलमञ्चमा फरक पहिचान दिलाउन ई–स्पोटर्स खेल महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप