५ महिनामा ४५ हजार बीमा पोलिसी सरेन्डर, किन बढ्दैछ समर्पण?
काठमाडौँ । पाँच महिनाको अवधिमा झन्डै ४५ हजार जना बीमितले बीमा पोलिसी सरेन्डर (समर्पण) गरेका छन् । नियमित रूपमा बीमाको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था भएपछि मंसिर महिनासम्म मात्रै ४५ हजार ६० वटा बीमालेख होल्डरले त्यस्तो बीमा पोलिसी त्यागेका हुन् ।
मंसिर मसान्तसम्म नेपालमा सञ्चालित बीमा कम्पनीहरूले १ करोड ३७ लाख ८४ हजार वटा बीमालेख बिक्री गरेका छन् । त्यसबाहेक समर्पण गर्न नमिल्ने खालका वैदेशिक रोजगार म्यादी जीवन बीमालेख, एकल बीमाशुल्क बीमालेख, म्यादी जीवनबीमा, लघु जीवनबीमा र अन्य बीमाको हिस्सालाई घटाउँदा ४० लाख ४२ हजार ३४८ वटा बीमालेख रहेका छन् । त्यसमध्ये उल्लेखित संख्यामा सरेन्डर भएको बीमा प्राधिकरणले जनाएको छ ।
कुन बीमा कम्पनीको सरेन्डर कति ?
यसरी बीमालेख सरेन्डर हुनेहरुमा यसमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल सबैभन्दा अगाडि छ । एलआईसीको मात्रै यो अवधिमा ११ हजार ७९३ वटा बीमा सरेन्डर गरिएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १० हजार ३१७ वटा, राष्ट्रिय जीवन बीमा कम्पनीको ५ हजार ११० वटा, एसियन लाइफ इन्स्योरेन्सको ३ हजार ७५२ वटा, हिमालयन लाइफ इन्स्योरेन्सको ३ हजार ३३ वटा पोलिसी सरेन्डर भएका छन् ।
त्यस्तै, नेशनल लाइफको २ हजार ५४१ वटा, सुर्यज्योति लाइफको २ हजार ४८८ वटा, मेट लाइफको १ हजार ५१६ वटा, सिटिजन लाइफको १ हजार १०८ वटा, सानिमा रिलायन्स लाइफको ७८७ वटा, आईएमई लाइफको ६६३ वटा, रिलायबल नेपालको ७०८ वटा, प्रभु महालक्ष्मी लाइफको ५४९ वटा सन नेपाल लाइफको २९५ वटा, बीमालेख सरेन्डर गरिएका छन् ।
यो अवधिमा सरेन्डर भएका बीमालेखको कुल मूल्य ६ अर्ब १० करोड ७२ लाख ४२ हजार रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । यसमध्ये एलआईसी नेपालको मात्रै यो अवधिमा १ अर्ब ९३ करोड ३५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ६७ करोड ९६ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीको ५१ करोड ३२ लाख, एसियन लाइफ इन्स्योरेन्सको ४० करोड १४ लाख, नेशनल लाइफको ३७ करोड ११ लाख, सूर्यज्योति लाइफको ३२ करोड ६४ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको २८ करोड ३० लाख रुपैयाँ छन् ।
त्यस्तै, मेट लाइफको १७ करोड २३ लाख, सानिमा रिलायन्स लाइफको १० करोड ९५ लाख, आईएमई लाइफको ८ करोड ४३ लाख, सिटिजन लाइफको ८ करोड, , प्रभु महालक्ष्मी लाइफको ७ करोड ८० लाख, रिलायबल नेपालको ४ करोड ४६ लाख र सन नेपाल लाइफको २ करोड ९४ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरिएका छन् ।
किन बढ्दैछ सरेन्डर ?
यसरी बीमा पोलिसी एकपछि अर्को सरेन्डर हुँदै जानुमा अस्वस्थ प्रतिस्पर्धा मुख्य कारण देखिएको छ । खासगरी नयाँ बीमा कम्पनीहरू सञ्चालनमा आएपछि बीमा क्षेत्रका अभिकर्ताबिच बढेको प्रतिस्पर्धा अहिलेको पोलिसी सरेन्डरको मुख्य कारण रहेको बीमा अभिकर्ता संघका पूर्व अध्यक्ष नन्द तिवारी बताउँछन् ।
खासगरी तत्कालिन बीमा समिति (बीमा प्राधिकरण)ले १० वटा जीवन बीमा कम्पनीलाई नयाँ लाइसेन्स दिएसँगै बजारमा प्रतिस्पर्धा ह्वात्तै बढ्यो । नयाँ बीमा कम्पनी खुलेपछि अभिकर्ता मात्रै थपिएनन् । पुराना अभिकर्ताको खोसाखोसको अवस्था पनि उत्तिकै देखियो । अभिकर्ता एउटा बीमा कम्पनीबाट अर्कोमा सिफ्ट हुँदा आफैँले गराएको बीमालेख पनि नराम्रो भनेर नयाँ कम्पनीमा बीमा गर्न लगाउने अवस्था पनि देखिएको छ । पुराना कम्पनीहरुमा भइरहेको सरेन्डर वृद्धिले यो अवस्था देखिएको सरोकारवालाको भनाइ छ ।
पछिल्लो समय केही पुराना कम्पनीहरुको बोनस दर घटेको छ । बोनस घट्दै जाँदा यसको प्रभाव समेत परेको अवस्था देखिन्छ । समकालीन कम्पनीहरूमध्ये केही कम्पनीको सरेन्डर अत्यधिक धेरै हुनु र केहीको कम हुनुमा यो कारण रहेको उनीहरूको बुझाइ छ ।
बीमा अभिकर्ता संघका पूर्व अध्यक्ष तिवारी बीमा कम्पनीदेखि अभिकर्ताको बदमासी र नियामक निकाय नेपाल बीमा प्राधिकरण समेत उदासीनताका कारण बीमा सरेन्डरमा अहिलेको अवस्था देखिएको बताउँछन्, यो अवस्थाले बीमितको अर्बाैँ डुब्दै गएको छ ।
बीमा कम्पनीले जनता झुक्याउने गरी पोलिसी ल्याउने, अभिकर्ताले बीमितको आवश्यकता र क्षमताको आधारमा नभएर आफ्नै स्वार्थ हेरेर बीमा गर्ने र नियामकले पनि जथाभाबी बीमा पोलिसी स्वीकृत गर्ने गरेकोले अहिलेको समस्या देखिएको उनको भनाइ छ । पोलिसी स्वीकृतिमा कडाइ र धेरै सरेन्डर हुने अभिकर्तामाथि प्राधिकरणले प्रष्टीकरण सोध्ने हो भने यो समस्या कम हुने उनको भनाइ छ ।
अहिले बीमा गराउँदा अभिकर्ताले पहिलो र दोस्रो वर्षको बीमा प्रिमियमको २५/२५ प्रतिशत कमिसन पाउने गरेका छन् । त्यसपछि भने कमिसन घट्छ । बीमितको क्षमताभन्दा धेरै प्रिमियम तिरेर बीमा गराइदिने तर बीमितिले प्रिमियम नियमित गर्न नसकेर सरेन्डरमा गएको उदाहरण बढी देखिएको पाइन्छ । दुई वर्षसम्म पनि तिर्न नसक्नेलाई भने सरेन्डर गर्न समेत दिइँदैन । यस्तो अवस्थामा उनीहरूले सबै प्रिमियम गुमाउनुपर्ने अवस्था अहिले छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णलक्ष्मीको रकम गोर्खा मिडियामा आएकोबारे आफूलाई जानकारी नभएको छविलाल जोशीको बयान
-
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे रवि लामिछानेको बयानमा के छ ?
-
संस्कृत विश्वविद्यालय जग्गा तथा सम्पत्ति खोजबिन समितिले बुझायो प्रतिवेदन
-
भाडा नतिरेपछि घर मालिकले उखेलेर लगे घरको ढोका र झ्याल
-
जनमत नेतृत्वको मधेस सरकार ढल्न लागेको हो ?
-
स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसँग ५ करोड ८ लाख मागदाबी, अन्यको हकमा कति ? (सूचीसहित)