माओवादीको विधानमा अस्पष्टता, के हो रुकुम (पश्चिम)को विवाद ?
काठमाडौँ । रुकुम(पश्चिम) नेकपा माओवादी केन्द्र चौरजहारी नगर समितिको तेस्रो अधिवेशनका क्रममा भएका निर्वाचन प्रक्रियालाई लिएर प्रश्न उठेपछि जिल्ला संयोजक तथा अधिवेशन प्रतिनिधि गोविन्द रोका(सचिन)ले मुख खोलेका छन् ।
पुस १७ गते भएको निर्वाचनबाट अध्यक्षमा सुन्दर शर्मा निर्वाचित भएका थिए । सचिवमा अर्जुन कुमाल निर्वाचित भएका थिए । त्यसअघि पुस १५ गते भएको कार्यसमिति सदस्यहरूको निर्वाचनमा शर्मा पराजित भएका थिए । तर कार्य समिति सदस्यमा पराजित भएका व्यक्तिलाई मनोनीत गरी अध्यक्ष बनाएको भन्दै केही व्यक्तिबारे यसबारे प्रश्न उठाएपछि रोकाले मुख खोलेका हुन् ।
रोकाले विधानमा भएको अस्पष्टता कारण समस्या आएको दाबी गरेका छन् । साथै सबै तहमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने उनको भनाइ छ ।
‘नगर समितिका सदस्य सबै प्रत्यक्ष निर्वाचनबाट चुनिनुभयो । ६ जना पराजित हुनुभयो । तीमध्ये सुन्दर शर्मा पनि पराजित हुनुभएको हो । जतिले जितेका थिए उनीहरूको बैठक बस्यो । तर अल्पमत पक्ष निर्वाचन प्रक्रियादेखि बैठकमा समेत भाग लिनु भएनन् । विधानमा पराजित व्यक्तिलाई मनोनयन गर्न पाउने नपाउने कुनै व्यवस्था छैन । यही अस्पष्टताका कारण समस्या आएको हो । सबै तहमा प्रत्यक्ष निर्वाचन प्रक्रिया अपनाएको हो यो समस्या आउने थिएन’, रातोपाटीसँग उनले भने ।
नयाँ विधान अनुसार ५५ जना कार्यसमिति रहनेछ । तीमध्ये ९० प्रतिशत प्रत्यक्ष निर्वाचित र १० प्रतिशत मनोनयन गर्न पाउनेछ ।
विधानमा भएको यही अस्पष्टता हटाउन गत कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले कार्यदल गठन गरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका थिए । पालिकामा देखिएका समस्या समाधानका लागि महासचिव गुरुङकै नेतृत्वमा अर्को कार्यदल गठन गरेको थियो । जसमा उपमहासचिव पुन र सचिव हितराज पाण्डे रहेका थिए । उक्त कार्यदलले पुस १२ गते बसेको पदाधिकारी बैठकमा प्रतिवेदन बुझाएको थियो । पालिकामा अध्यक्ष, दुई उपाध्यक्ष, दुई सहसचिव एक सचिव र कोषाध्यक्ष तथा वडामा अध्यक्ष र सचिव, सेलमा सेक्रेटरी मात्र पदाधिकारी रहने गरी कार्यविधि पारित गरेको थियो ।
गतवर्ष फागुनको पहिलो हप्ता काठमाडौँमा सम्पन्न नेकपा माओवादी केन्द्रको विधान अधिवेशनले सबै तहको समिति प्रत्यक्ष निर्वाचित हुने र पदाधिकारी निर्वाचित समितिले छनोट गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । माओवादीको अन्तरिम विधान–२०७८ मा अधिवेशन÷महाधिवेशनबाट समिति चुनिने र समितिले पदाधिकारी मनोनयन गर्ने व्यवस्था थियो । नयाँ विधानमा नगर समिति ५५ सदस्य रहने व्यवस्था रहेको छ । तीमध्ये ५१ प्रतिशत खुला र ४९ प्रतिशत समानुपातिक गरी समावेशी गरिनुपर्ने व्यवस्था विधानमा रहेको छ । तर अधिवेशनले पारित गरेको भन्दा फरक तरिकाले विधान आएको रोकाले दाबी गरेका छन् ।
विवादबारे रोकाको धारणा यस्तो छ-
१. चुनावमा पराजित व्यक्तिलाई मनोनीत गरेर सोही पदमा ल्याउन पाइने वा नपाइने विषयमा पार्टीको विधान केही बोलेको छैन । स्पष्ट गर्न जरुरी भइसकेको छ ।
२. विधानमा स्पष्ट व्यवस्था नभएको सन्दर्भमा नवगठित नगर समितिको बहुमतले गरेको निर्णय विधि विधान विपरीत भयो भनेर भन्न मिल्ने ठाउँ देखिँदैन । यो विषय मनोनीत गर्ने अधिकारीहरूको स्वविवेक र मनोनीत हुने व्यक्ति स्वयंको नैतिक मूल्यसँग जोडिएको विषय हो । यसमा सङ्गठनात्मक विधि पद्धतिगत त्रुटि छैन ।
३. गत २०८० फागुनमा सम्पन्न पार्टीको प्रथम विधान अधिवेशनमा क. जनार्दन शर्माले पदाधिकारीहरू समेत प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने लिखित प्रस्ताव पेस गर्नु भएको थियो । उक्त प्रस्तावबारे अधिवेशन हलमा छलफलमा भाग लिएका २७ जनामध्ये २४ जना प्रतिनिधिहरूले प्रस्तावको पक्षमा आफ्नो स्पष्ट मत व्यक्त गरेका थिए । तर पनि केन्द्रीय पदाधिकारी टिम यो मान्न तयार भएन । कार्य समिति प्रत्यक्ष निर्वाचनबाट र पदाधिकारीहरू कार्य समितिबाट चुन्ने प्रस्ताव हलमा राखेर त्यही पारित भएको घोषणा गरियो ।
४. संयोगवश आज क. जनार्दनको गृह जिल्लामा पार्टीको विधान कार्यान्वयन गर्न खोज्दा समस्या सतहमा आयो। पदाधिकारीहरू पनि प्रत्यक्ष निर्वाचनबाटै चुन्नुपर्छ भन्ने उहाँको प्रस्तावको औचित्य व्यवहारमै पुष्टि भयो । विधानमा भएको व्यवस्था अनुसार चौरजहारीमा नगर समिति सदस्यहरू सबै प्रत्यक्ष निर्वाचनबाट चुनिए । पदाधिकारीहरू कार्यसमितिबाट चयन गर्दा यस्तो समस्या आयो ।
५. त्यसैले कमरेडहरू, चौरजहारीको समस्या
अस्पष्ट र अपूर्ण विधानले सृजना गरेको समस्या भएकोले कुनै नेता वा व्यक्ति केन्द्रित बहसतिर नलागौँ । बरु निर्वाचन प्रणाली परिवर्तन गरी पदाधिकारीहरूसमेत प्रत्यक्ष निर्वाचनबाट चुन्ने व्यवस्थाको लागि फेरि पनि रुकुमबाटै सशक्त पहल गरौँ । अहिलेको लागि चाहिँ लेनिनवादी सङ्गठनात्मक सिद्धान्त(अल्पमत बहुमतको मातहत) अनुसार नै पार्टी कामकाजमा क्रियाशील रहौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा फेरि पौडेल, यस्तो छ नयाँ सञ्चालक समिति
-
प्रधानन्यायाधीश र न्यायाधीशको नयाँ मर्यादाक्रम निर्धारण गर्न सर्वोच्चको आदेश (पूर्णपाठ)
-
झिल्टुङ क्रसकन्ट्री दौडको नवौँ संस्करण माघ ५ गते
-
संविधान संशोधन मात्र हैन खारेज गर्नुपर्छ: प्रभु साह
-
यो ज्वालामुखीले घटाएको थियो विश्वको तापमान
-
१०२ रनमै सेमिटयो मधेश प्रदेश, बागमतीका कप्तान सन्दीपले लिए ५ विकेट