आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेलकुद अन्तर्वार्ता

‘अहिलेकै अवस्थामा खेलकुद मन्त्रालय आवश्यक नै छैन’

कसैको तागत छैन टीएल चौधरीको मन्त्री पद खुस्काउने : मन्त्री तेजुलाल चौधरी
शुक्रबार, १९ पुस २०८१

संघीय सरकारका युवा तथा खेलकुद मन्त्री हुन्, तेजुलाल चौधरी । चौधरीले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेको करिब ६ महिना पुग्दैछ । तर, उनले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेको छोटो समयमा नै नेपाली खेलकुदमा केही महत्त्वपूर्ण घटना भएका छन् । 

उनकै कार्यकालमा नेपालले विश्व खेलकुदको सबैभन्दा वृहत् प्रतियोगिता ओलम्पिकमा सहभागिता जनायो । यद्यपि, विगतमा झैँ यस पटक पनि ओलम्पिक खेलकुद हाम्रा लागि अनुभव आर्जन गर्ने थलो मात्र बन्न पुग्यो । 

अर्कोतिर, नयाँ र प्रतिभाशाली खेलाडी उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण मानिने वृहत् राष्ट्रिय खेलकुद सम्बन्धी अन्योल अझै कायमै छ । यद्यपि, वृहत् राष्ट्रिय खेलकुदको १०औँ संस्करण आगामी चैतमा कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरिएको छ । तर, वृहत् राष्ट्रिय खेलकुद निर्धारित समयमै आयोजना हुनेमा खेलाडी र खेल पदाधिकारीहरू नै ढुक्क हुन सकिरहेका छैनन् । 

यसै गरी, चौधरीकै कार्यकालमा नेपाल ओलम्पिक कमिटीको विवाद पनि उत्सर्गमा पुगेको छ । ओलम्पिक कमिटीका पदाधिकारीहरूले अदालतका आदेश तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई समेत बेवास्ता गर्दै आफ्नो निर्वाचन सम्पन्न गरेपछि विवाद चुलिएको छ ।

निर्वाचनको संघारमा अदालतको आदेशलाई पनि बेवास्ता गर्दै ओलम्पिक कमिटीको विधान संशोधन गरेर जीवनराम श्रेष्ठले तेस्रो पटक अध्यक्ष बनेपछि नेपाली खेलकुद तरङ्गित भएको अवस्था छ । राष्ट्रिय खेल संघहरुले समेत मन्त्रालय र परिषद्को निर्देशन उल्लंघन गर्दै ओलम्पिक कमिटी निर्वाचनमा भाग लिएपछि अवस्था झनै गम्भीर बनेको छ ।

यी र यस्तै अन्य समसामयिक विषयहरूमा केन्द्रित रही रातोपाटीका लागि रोहित दाहालले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग गरेको कुराकानीको सम्पादित अंश : 

  • मन्त्री पदको अनुभव कस्तो हुँदैछ ?

बाहिरबाट हेर्दाभन्दा धेरै नै कठिन हुने रहेछ ।

  • के कठिन हुने रहेछ ?

मानिसहरुमा इच्छाशक्तिको कमी पाएँ । खेलकुदसँग असम्बन्धित व्यक्तिहरूलाई पनि बोर्डमा राख्ने प्रचलन व्यापक रहेछ । यसले पनि काममा ढिलासुस्ती हुने रहेछ । सानो–सानो कुराका लागि अर्थ मन्त्रालय, योजना आयोग धाउनु पर्ने बाध्यता पनि आफ्नै ठाउँमा छ । हरेक कुरा मन्त्रिपरिषद्मा लैजानुपर्ने भएकाले पनि काम समयमा नहुने रहेछ ।

  • अहिलेकै संरचनामा खेलकुद मन्त्रालय आवश्यक छ जस्तो लाग्छ ?

अहिलेकै अवस्थामा त खेलकुद मन्त्रालय नै आवश्यक छैन जस्तो लाग्छ । यसलाई शिक्षा मन्त्रालयको एउटा शाखा बनाए हुन्छ ।

कानुनी प्रक्रिया अघि बढेकाले यस विषयमा म धेरै बोल्दिन । ढुक्क हुनुस्, निर्वाचनले मान्यता पाउँदैन । कारबाही हुन्छ । 
  • प्रधानमन्त्रीबाट कत्तिको सहयोग पाउनु भएको छ नि ?

सोचे अनुसार सहयोग भएकै छ । तर, प्रधानमन्त्रीको व्यस्तताले कतिपय काम ढिला हुने गरेको छ ।

  • खेलकुद मन्त्रालयअन्तर्गतका नियुक्तिमा प्रधानमन्त्रीले व्यापक हस्तक्षेप गरेको देखिन्छ । अनि कसरी सहयोग भयो ?

प्रधानमन्त्री हो । हरेक  नियुक्तिमा सोध्ने, चासो राख्ने त भइहाल्छ नि ।

  • प्रधानमन्त्रीबाट हस्तक्षेप नभएको भए नियुक्तिमा यति ढिला किन भइरहेको छ त ?

कसैलाई दोष दिन मिल्दैन । ढिला भएको कुरा म ‘रियलाइज’ गर्छु ।

  • उपाध्यक्ष एमालेलाई दिएपछि राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव तपाईँहरूको भागमा पर्ला नि ? अहिलेको सदस्यसचिवलाई कहिले हटाउँदै हुनुहुन्छ ?

अहिले कसैलाई हटाउँदिन ।

teju 1

  • अहिलेका सदस्यसचिव पुरै कार्यकाल रहन्छन् त ?

राख्ने मेरो कोसिस भइरहेको छ । तर, निर्देशन नमानेमा तत्काल एक्सनमा आउन पनि म हिचकिचाउँदिन ।

  • अहिलेका सदस्यसचिवसँग पाँच महिना त सँगै काम गरिसक्नुभयो । कस्तो रह्यो त अनुभव ?

म खुसी छैन । सम्झाउँदै छु ।   

  • नेपाल ओलम्पिक कमिटीको निर्वाचनलाई कसरी हेर्नुभएको छ ?

सकारात्मक रूपमा लिएको छैन । यो निर्वाचनलाई मान्यता दिइँदैन ।

  • निर्वाचन भइसक्यो, पदाधिकारी घोषणा भइसके, अब के गर्नुहुन्छ र ?

कानुनी प्रक्रिया अघि बढेकाले यस विषयमा म धेरै बोल्दिन । ढुक्क हुनुस्, निर्वाचनले मान्यता पाउँदैन । कारबाही हुन्छ ।

  • अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिइसक्यो भनेर दाबी गरिएको छ नि ? 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि मान्यता दिएको छैन । न्यायालयको आदेशको अवज्ञा गरेको देखि–देखि  मान्यता दिन्छ जस्तो लाग्दैन । तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता नै दियो भने पनि अब हामी पछाडि फर्कने पक्षमा छैनौँ ।

गलत भनेको गलत हो । कसैको तागत छैन टीएल चौधरीको मन्त्री पद खुस्काउने । गलत गर्ने व्यक्ति जतिसुकै बलियो भए पनि टीएल चौधरीको अगाडि कमजोरै हुन्छ । 
  • अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई पत्र पठाउनुभएको छ ?

साँच्चै भन्ने हो भने पत्र पठाएको छु । छिट्टै त्यसको जवाफ पनि आउँदै छ । 

  • आफू मातहतको एउटा सानो  निकायलाई कानुन कार्यान्वयन गराउन नसक्ने कति असक्षम मन्त्री तपाईँ ?  

यसमा मन्त्री असक्षम होइन । केही दिनपछि नै तपाईँहरूले थाहा पाउनुहन्छ । निर्वाचित भनिएको कमिटी विघटन हुन्छ ।

  • त्यसका लागि के प्रक्रिया अगाडि बढाउनुभएको छ ?

ओलम्पिक कमिटीसँग आबद्ध २७ वटा  संघलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । ‘अदालतको आदेश विपरीत किन भोटिङमा सहभागी भयौ’ भन्ने प्रश्नको उचित जवाफ माग गरिएको छ । उनीहरूलाई निलम्बन गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ ।

  • सातवटा त मतदानमै सहभागी भएनन् । उनीहरूलाई चाहिँ किन सोध्नुभएको नि ?

ठिक छ । भोट नहालेकोले भोट हालेनौँ भनेरै जवाफ फर्काउलान् नि त ।

  • संघको बैठक बसेर निर्णय गरेर मतदानका लागि पठाएको भए पो संघलाई कारबाही गर्ने हो ? कोही व्यक्तिगत रूपमा मतदानमा सहभागी भएका छन् भने त्यस्तो स्थितिमा व्यक्तिलाई पो कारबाही गर्नु पर्छ भनेर केही संघका पदाधिकारीको भनाइ छ नि ? 

त्यही कुरा संघको बैठक बसेर त्यही निर्णय गरेर पठाए भयो नि त । त्यसपछि थाहा हुन्छ संघलाई कारबाही गर्ने कि व्यक्तिलाई भनेर । त्यसो हो भने, विशेष साधारणसभामार्फत विधान संशोधन प्रक्रियामा सहभागी भएर मन्त्रालयले पठाएको पत्रको उल्लघंन किन गरेको त ? त्यसको पनि त जवाफ दिनु पर्ला नि । 

  • ओलम्पिक कमिटीप्रति यति धेरै पूर्वाग्रह किन राख्नुभएको ?

म कुनै संस्थाप्रति पनि पूर्वाग्रही छैन । गलत कार्यलाई रोक्न खोजेको मात्र हो । न्यायालयको प्रतिष्ठा जोगाउन खोजेको हो । कानुनको पालना गराउन खाजिएको हो ।

  • विधान संशोधन गरेर आईओसीको समर्थनमा गरिएको निर्वाचनलाई मान्यता नदिनु पूर्वाग्राह नभएर के हो त ?

आईओसीले मान्यता दिएको छैन । दिँदा पनि दिँदैन । यदि, दियो भने पनि नेपालको कानुनअनुसार कारावाही हुन्छ ।

  • के कारबाही हुन्छ ?

आजै नखोलौं होला ।  पछि थाहा भइहाल्न नि ।

  • खोल्नुस् न । के फरक पर्छ र ?

सबैभन्दा पहिला ओलम्पिक कमिटीको खाता बन्द हुन्छ । त्यसपछि कमिटी विघटन गर्ने हो । 

  • त्यति ल्याकत राख्नुहोला त ?

स्पष्ट हुनुस्, यो खेलकुद मन्त्री खुट्टा कमाउने मान्छे होइन ।

  • ओलम्पिक कमिटीमा नेपाली कांग्रेस निकट व्यक्तिले जितेको भए पनि कारबाही गर्नुहुन्थ्यो ?

जोसुकैले जितोस् । त्यहाँ पार्टीको कुरै छैन ।

  • तर, जुन–जुन संघलाई कारबाही गर्छु भन्दै हुनुहुन्छ ती अधिकांश संघमा त कांग्रेस निकट बलिया व्यक्तिहरू नै छन् । सक्नुहुन्छ कारबाही गर्न ?

गलत गर्ने व्यक्ति कांग्रेस वा जोसुकै भए पनि टीएल चौधरी पछाडि फर्कँदैन । क्लियर हुनुस् ।

teju 2

  • तपाईँको मन्त्री पद नै पो खुस्कने त होइन ? 

गलत भनेको गलत नै हो । कसैको तागत छैन टीएल चौधरीको मन्त्री पद खुस्काउने । सरकार ढल्यो भने मात्र खुस्किन्छ । गलत गर्ने व्यक्ति जतिसुकै बलियो भए पनि टीएल चौधरीको अगाडि कमजोरै हुन्छ । 

  • ओलम्पिकमा त्यस्तै लफडा छ । खेल संघहरु मन्त्रीले भनेको मान्दैनन् । नेपाल स्काउटको कुरै गर्नु परेन । अब तपाईँलाई असफल मन्त्री किन नभन्ने ? 

अहिलेसम्म म असफल भएको छैन ।

  • त्यो बाटोमा चाहिँ हुनुहुन्छ ?

त्यो बाटोमा पनि छैन । सुधार्ने प्रक्रिया गर्दा केही बाधा अड्चन आएको मात्र हो । यसअघि पनि यस्ता घटना भएका हुन् । तर, मजस्तो कुनै मन्त्रीले बोल्न सकेका थिएनन् । गलत गर्ने संघहरुको खाता रोक्का गर्न सकेका थिएनन् । नेपाली खेलकुदलाई म सिस्टममा ल्याएरै छाड्छु । ढुक्क हुनुस् । 

  • कर्णालीमा अर्को दलको सदस्यसचिवको कार्यकाल सकियो । अब त आफ्नै दलको सदस्यसचिव ल्याउने नै होला ? त्यस पछि त दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गराउनुहोला नि ?

चैतको २३ गतेबाट दसौँ राष्ट्रिय खेलकुद कर्णालीमा सुरु हुन्छ ।  

  • तपाईँसँग नेपाली खेलकुद र खेलाडीहरूका लागि नयाँ केही कार्यक्रम छन् ?

राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडीहरूका छोराछोरीलाई निजी विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था गर्दैछु । त्यस्तै खेलकुद मन्त्रालयलाई सामाजिक उत्तरदायित्वअन्तर्गत ल्याउने कामका लागि पनि पहल भइरहेको छ । बैंकहरु, संस्थानहरूमा खेलाडीहरूका लागि कोटा छुट्याएर रोजगारीको अवसर सृजना गराउने काम पनि भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया