त्रिभुवन विश्वविद्यालयमा नियुक्तिसँगै किन हुन्छ धर्ना ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा फेरि अस्थिरता सुरु भएको छ । विद्यार्थीदेखि शिक्षक–कर्मचारीसम्म धर्ना, जुलुस तथा विरोध प्रदर्शनमा उत्रिन थालेका हुन् ।
उपकुलपतिसहितका नयाँ पदाधिकारी आएसँगै केही समय शान्त बनेको विश्वविद्यालय यतिबेला विरोध प्रदर्शन तथा धर्नाले घेरिन थालेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीसहित पाँच विद्यार्थी संगठनले मंगलबारदेखि रेक्टर प्राडा खड्क केसीको कार्यकक्ष बाहिर धर्ना दिँदै आएका छन् ।
त्यस्तै कर्मचारीहरू झण्डै एक महिनादेखि दिनहुँ विरोध प्रदर्शनमा उत्रिँदै आएका छन् । उनीहरूले हरेक दिन बिहान एक घण्टा त्रिवि परिसरमा नाराबाजीका साथ विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले विरोध प्रदर्शन गर्ने समयमा उपकुलपति लगायतका पदाधिकारीहरू विश्वविद्यालय प्रवेश गर्दैनन् ।
यसअघि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिवि अध्यक्ष तथा स्ववियु सचिव सिद्धान्त भट्ट १९ दिनसम्म उपकुलपतिको कार्यकक्ष बाहिर धर्नामा बसे । ३६ बुँदे सहमति भएपछि पुस १४ गते उनले धर्ना स्थगित गरे ।
जबजब त्रिविमा नयाँ नियुक्तिको प्रक्रिया अघि बढ्छ, तब विद्यार्थीहरू धर्ना, विरोध प्रदर्शन तथा तालाबन्दीमा उत्रिने गरेका छन् । यतिबेला विभिन्न क्याम्पसमा रिक्त क्याम्पस प्रमुखको नियुक्ति प्रक्रिया अघि बढिरहेको छ । त्यही बेला अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठन धर्नामा बसेका हुन् । यसअघि उनीहरूले विभिन्न शाखामा ताला लगाएका थिए ।
त्रिविका एक प्राध्यापकले नयाँ नियुक्तिको प्रक्रिया अघि बढेसँगै अखिल क्रान्तिकारी लगायतका विद्यार्थी धर्नामा बसेको बताए । क्याम्पस प्रमुखमा आफ्नो भाग खोज्नका लागि उनीहरू धर्नामा बसेको ती प्राध्यापकको आरोप छ ।
यसअघि अनेरास्ववियु अध्यक्ष भट्ट धर्नामा बस्दा डीनको नियुक्तिको प्रक्रिया अघि बढिरहेको थियो । नेकपा एमालेको तर्फबाट कोही पनि डीन नबन्ने देखिएपछि केन्द्रीय नेतृत्व खुलेरै विरोधमा उत्रिएको थियो । त्यही बेला भट्ट उपकुलपतिको कार्यकक्ष बाहिर २४ घण्टे धर्नामा बसे । तर, उनले डीन नियुक्तिको विषय र आफ्नो धर्नासँग कुनै सम्बन्ध नरहेको प्रस्ट पार्दै आएका छन् ।
विगतदेखि नै विश्वविद्यालयको सुधारका लागि काम गर्दै आएको र सम्पूर्ण नियुक्ति सकिएपछि धर्नामा बसेको भट्टले बताए ।
अखिल क्रान्तिकारीका पूर्वत्रिवि अध्यक्ष प्रदीप भट्टले समेत अहिलेको आन्दोलन नियुक्तिसँग कुनै सम्बन्ध नरहेको बताए । संयुक्त विद्यार्थी संगठनको तर्फबाट विभिन्न १० बुँदे माग अघि सारिएका छन् । मागको पहिलो नम्बरमै मेरिटोक्रेसीको आधारमा क्याम्पस/विभागीय प्रमुखहरू विनाशर्त नियुक्ति गर्नुपर्ने भनिएको छ ।
रेक्टर कार्यालयमा विद्यार्थीहरूको धर्ना चलिरहेका बेला क्याम्पस प्रमुखको नियुक्ति प्रक्रियासमेत चलिरहेको छ । रेक्टर कार्यालयमा एकातिर धर्ना दिइरहेका हुन्छन् भने अर्कोतिर क्याम्पस प्रमुखका लागि अन्तरवार्ता चलिरहेको हुन्छ ।
अन्य मागमा डाक्टर पुष्कर रैखोला नेतृत्वको छानबिन समितिको प्रतिवेदनले समकक्षता दिने भनी गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने, अध्ययन बिदा लिइ विदेश गएका र स्वदेश नफर्किने प्राध्यापक र कर्मचारीहरूको यकिन विवरण सार्वजनिक गरी उक्त अवधिको सेवा, सुविधा, तलब विश्वविद्यालयलाई फिर्ता गर्नुपर्ने लगायत छन् ।
अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (छैटौँ), अखिल (समाजवादी) र नेपाल समाजवादी विद्यार्थी युनियन संयुक्त रूपमा धर्नामा बसेका हुन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर टंकनाथ धमलाले विश्वविद्यालयभित्र दलगत राजनीति तुरुन्त बन्द नहुँदासम्म केही नहुने बताए । भित्रभित्रै मेरिटोक्रेसीको खिल्ली उडाएर विश्वविद्यालय नबन्ने बताउँदै उनले त्यसका लागि सबैभन्दा पहिला दलगत राजनीति बन्द हुनुपर्नेमा जोड दिए ।
रेक्टर कार्यालयमा विद्यार्थीहरूको धर्ना चलिरहेका बेला क्याम्पस प्रमुखको नियुक्ति प्रक्रियासमेत चलिरहेको छ । रेक्टर कार्यालयमा एकातिर धर्ना दिइरहेका हुन्छन् भने अर्कोतिर क्याम्पस प्रमुखका लागि अन्तरवार्ता चलिरहेको हुन्छ ।
विद्यार्थीहरूले विभिन्न खालका माग ल्याएर तालाबन्दी गर्ने गरेकाले अन्य काम गर्न नसकिएको ती अधिकारी बताउँछन् ।
आफ्नालाई क्याम्पस प्रमुख बनाउन दबाब दिन धर्नामा बसेको अखिल क्रान्तिकारी लगायतमाथि आरोप छ । अहिले एमाले र नेपाली कांग्रेस सम्मिलित सरकार छ । क्याम्पस प्रमुखमा एमाले र कांग्रेस निकटका प्राध्यापकमात्रै आउने भएकाले आफ्ना पक्षकालाई समेत समेट्न धर्नामा बसेको आरोप उनीहरूमाथि लाग्दै आएको छ ।
‘१० बुँदे मागको पहिलो बुँदामै मेरिटोक्रेसीमा क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने भनिएको छ । त्यो भनेको हाम्रा मान्छे पनि हाल्नुपर्छ भन्न खोजेको हो । नत्र किन धर्नामा बस्नुपर्यो ?’ एक प्राध्यापकले भने ।
पूर्वअध्यक्ष भट्टले भने मेरिटोक्रेसी नमिचियोस् भनेर खबरदारी गर्न धर्नामा बसेको दाबी गरे ।
विद्यार्थी संगठनहरूका यस्ता क्रियाकलापबाट त्रिवि पदाधिकारीहरू भने आजित भइसकेका छन् । त्रिविका एक अधिकारीले भने, ‘कहिले कोही आउँछन्, कहिले कोही केही माग लिएर आउँछन् । यस्तैयस्तै काममा दिनचर्या जान्छ । विश्वविद्यालयको काम गर्न सकिने अवस्था नै छैन ।’
विद्यार्थीहरूले विभिन्न खालका माग ल्याएर तालाबन्दी गर्ने गरेकाले अन्य काम गर्न नसकिएको ती अधिकारी बताउँछन् ।
यसअघि पूर्वउपकुलपति प्राडा धर्मकान्त बास्कोटाले आफ्नो चार वर्षे कार्यकालमा एक वर्ष त तालाबन्दीमा भोगेका थिए । बिदाइ हुँदै गर्दा उनले विद्यार्थी संगठन र कर्मचारीहरूले अनावश्यक माग राख्दा काम गर्न नसकिएको बताएका थिए । अहिलेका पदाधिकारीहरूले समेत त्यही नियति भोग्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ राजनीतिक कोर्सको ६ महिना : ओलीको प्रतिवेदनमा सरकारका सात उपलब्धि
-
घरमा लिन नआएको भन्दै गाउँपालिका उपाध्यक्ष आक्रोशित, सरकारी गाडी तोडफोड
-
अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी
-
चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेको मुद्दामा फैसला
-
साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो
-
तत्काल माओवादीको विशेष महाधिवेशन बोलाउन प्रदेश अध्यक्षहरुको दबाब