आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
टीयू टपरका कुरा

परीक्षामा राम्रो नम्बर ल्याउन के गर्ने ? गोल्ड मेडलिस्टका यस्ता छन् टिप्स

विश्वविद्यालयमा प्राध्यापक, पदाधिकारीहरू पुरानो मानसिकताबाट ग्रसित हुनुहुन्छ : सुशील पोखरेल, रसायनशास्त्रमा एमएससी टपर
शुक्रबार, १९ पुस २०८१

गुल्मीका सुशील पोखरेल रसायनशास्त्र विषयमा एमएससी टपर हुन् । उनले ३.९५ सीजीपीए प्राप्त गरी अमृत पदक प्राप्त गरे । जुझारु स्वभावका पोखरेल राजनीतिप्रति उत्तिकै रुचि राख्छन् । उनले त्रिभुवन विश्वविद्यालय, परीक्षा प्रणाली र पाठ्यक्रम सुधार गर्नुपर्नेमा जोडदार आवाज उठाइरहेका छन् । प्रस्तुत छ, पोखरेलसँग नरेन्द्र रौलेले गरेको कुराकानी :–

  • तपाईंले एमएससी टपर बनेर प्रधानमन्त्रीबाट अमृत पदक प्राप्त गर्नुभयो । कत्तिको खुसी हुनुहुन्छ ? 

आफूले गर्न चाहेको काम पूरा भएको छ । यो लक्ष्य प्राप्तिका लागि लामो समय मिहिनेत गरेको छु । जुन बीउ छरेको थिएँ, आज फल प्राप्त भएको छ । तर, धेरै बढी एक्साइटेड हुनुपर्ने केही छैन । 

  • दिनमा कति घण्टा पढ्नुहुन्थ्यो ?

तपाईं दिनमा कति घण्टा पढ्नुहुन्छ ? त्यो कुरा खासै अर्थ राख्दैन । म आफ्नो मिहिनेतलाई घण्टा, नम्बरमा र संख्यामा दाँज्न चाहन्नँ । हामीले कुनै चलचित्र हेर्दा त्यसको कहानी वर्षौँसम्म सम्झिन्छौँ । रमाइला पलहरू, आफूलाई मन परेको मानिस, विभिन्न कुराहरू हामी सम्झिन्छौँ । तर, जुन कुरा हामीलाई असहज–असजिलो लाग्छ त्यो हामी सम्झिँदैनौँ । त्यसकारण पढ्नका लागि सबैभन्दा पहिले आफूले पढ्ने कुरा आफ्नो रुचि के हो ? म केका लागि जन्मिएको हो भनेर जतिसक्दो छिटो पत्ता लगाउन सक्ने हो भने त्यो मानिस सफल हुन्छ । 

मेरा लागि रसायनशास्त्र रुचिको विषय हो पहिल्यैदेखि । जब करिअर केमा बनाउने भनेर मैले निर्णय लिनुपर्ने भयो, रसायनशास्त्र मेरो छनोटको विषय बन्न पुग्यो । तब म यसैमा भिज्न थालेँ । म यसमै रम्न थालेँ । 

Shushil.00_39_57_15.Still005

  • स्कुल तहको पढाइपछि तपाईंलाई के बन्ने सपना थियो ?

गुल्मीको दुर्गम ठाउँ रेसुंगाको सामान्य स्कुलमा मैले पढेँ । त्यो स्कुलबाट मैले २०७० सालको एसएलसीमा डिस्टिङ्सन ल्याएँ । सानैदेखि म जिज्ञासु स्वभावको थिएँ । गाडी कसरी चल्छ होला ? चरा कसरी उड्छन् होला ? किन आकाशमा फ्याँकिएको ढुंगा तल खस्छ ? यस्तै कुरा चासो राख्थेँ । आफैँ जवाफ खोज्थेँ । त्यो भनेको विज्ञान रहेछ । म बिस्तारै यतातिर ढल्किएँ । एसएलसीपछि र प्लस टु पढ्ने बेला यी र यस्तै जिज्ञासाले विज्ञान विषयमा मेरो रुचि बढ्यो । 

पढाइबाहेक मलाई समाजका तमाम विषयमा रुचि थियो । समाजमा भेदभाव, असमानता, अपमानबारे चासो हुन्थ्यो । विद्यालयमा नियमित पत्रपत्रिका पढ्थेँ । सफलता, असफलता, संघर्ष, प्राप्ति, विभेदका अनेक समाचार पढेँ । त्यसले मलाई समाज, इतिहास, विज्ञान, अर्थशास्त्र, राजनीति, कूटनीति लगायतका तमाम विषयमा मेरो रुचि बढ्यो । बृहत् रूपमा अध्ययन गर्न मन लाग्यो ।

  • तपाईंको पारिवारिक पृष्ठभूमिका बारेमा बताइदिनुस् न । 

म हुने–खाने परिवारबाट आएको होइन । मेरो परिवार सामान्य खेती–किसानी गर्छ । त्यही भएर तल्लो तहदेखि संघर्ष गर्दै आएको हो । तर, मलाई परिवारको साथ–सहयोग छ । जसका कारण मैले यो सफलता प्राप्त गरेको छु । 

  • बुबा–आमाले तपाईंलाई पेसागत रूपमा के बनाउन चाहनुहुन्थ्यो ? 

म त गुल्मीको मान्छे । त्यो क्षेत्रमा लोकसेवा पढेर सरकारी सेवामा जानेहरू बढी छन् । तर, मेरो लक्ष्य लोकसेवा पास गरेर सर्ट र टाई बाँधेर अरूको नमस्ते खाने रहर भएन । अरूको अर्डर मानेर, १०–५ को जागिर खाने मेरो इच्छा भएन । म १०–५ को जागिर खान जन्मिएको होइन । अध्ययन–अनुसन्धान नै गर्छु भन्ने लाग्यो । परिवारको खासै दबाब आएन । 

  • राजनीतिमा कत्तिको रुचि राख्नुहुन्छ ?

विद्यार्थीका रूपमा पढ्ने मात्र मेरो जिम्मेवारी होइन । विद्यार्थीहरूका आवाज उठाउने, लड्ने काम गर्दै आएको छु । म पूर्णकालीन राजनीति गर्नेमा पर्दिनँ । विभागमा गएर रेकर्ड हेर्नुभयो भने बिरामी पर्दा, काठमाडौँबाहिर हुँदा बाहेक म कक्षामा गयल छैन । 

विश्वविद्यालयमा प्राध्यापक, पदाधिकारीहरू पुरानो मानसिकताबाट ग्रसित हुनुहुन्छ । उहाँहरूमाथि कसैले प्रश्न उठायो भने त्यो व्यक्तिको चरित्रमाथि उल्टै प्रश्न गर्नुहुन्छ । 

कतिपय विभाग यस्ता छन्, कसैले नबुझेको प्रश्न बारम्बार सोध्यो भने त्यो विद्यार्थी शिक्षकको टार्गेटमा पर्छ । विश्वविद्यालयको सिस्टम, परीक्षा प्रणाली सुधार्नुपर्नेछ । पाठ्यक्रम समयअनुसार परिमार्जन गर्दै लैजानुपर्ने जरुरी छ । त्यसका लागि विद्यार्थी आन्दोलन अपरिहार्य छ । 

म व्यक्तिकेन्द्रित हुन चाहन्नँ । हाम्रा संस्था, विभाग, समग्र त्रिभुवन विश्वविद्यालय कमजोर हुनुहुँदैन भन्ने पक्षमा छ । कला, संस्कृति, सभ्यतासँगै यी संस्थाहरू कमजोर हुँदै गए देश नै कमजोर हुन्छ भन्ने मेरो बुझाइ हो । त्यसकारण अलिअलि बुझ्ने मानिसले जोखिम लिनुपर्छ । बोल्नुपर्छ । 

Shushil.00_48_25_16.Still008

  • विद्यार्थीले राजनीति बुझ्न र राजनीति गर्न कत्तिको जरुरी छ ?

राजनीति भनेको राज्य सञ्चालन गर्ने नीति हो । तर, हामीले कुनै निश्चित दलको संगठनमा आवद्ध हुनुलाई मात्र बुझ्छौँ । अन्यायका विरुद्ध बोल्न सक्नुपर्‍यो । विश्वविद्यालयमा राजनीतिक बहस हुनु नराम्रो होइन । विद्यार्थीहरूले आफ्नो अधिकारका लागि संगठित हुनु नराम्रो होइन । जब कुनै पदाधिकारी नियुक्ति खानका लागि पैसा बोकेर दलका नेताको दैलोमा पुग्छ ऊ दलप्रति वफादार हुन्छ । विद्यार्थीका लागि ऊ वफादार हुन्न । त्यो समस्या हो । विद्यार्थीले राजनीति बुझ्न र राजनीति गर्न एकदमै जरुरी छ । 

  • के तपाईंलाई कहिलेकाहीँ देश बिग्रिँदै गएको आभास हुन्छ ? अहिले देशमा जुन माहौल छ त्यो देखेर कत्तिको निराश हुनुहुन्छ ?

त्यो लेभलमा देश पूरै बिग्रिसकेको छैन । त्यो भनाइ गलत हो । सरकारले समन्वयकारी भूमिका खेल्नुपर्छ । नेतृत्व गर्ने मान्छेले चाह्यो भने, काम गर्ने भने थोरै समयमा बन्छ । म आशावादी छु । 

प्लस टु पुस्ता देश छाडेर जान चाहन्छन् । उनीहरू जतिसक्दो छिटो देश छाड्न चाहन्छन् । हामी उनीहरूलाई उत्प्रेरणा दिन सक्दैनौँ । त्यो समस्या छ । विदेश जान्छु नै भन्नेहरूलाई रोक्न सकिँदैन । कसैलाई रोक्न सकिँदैन । कम्तीमा देशभित्र केही गर्न खोज्ने, संघर्ष गर्न खोज्नेहरूलाई यहाँ बस्ने वातावरण बनाउनुपर्‍यो । म अहिलेसम्म निराश भइसकेको छैन । तर, देशमा सुधार गर्नुपर्ने धेरै कुराहरू छन् । म आफ्नो ठाउँबाट भूमिका खेल्छु । 

  • प्रधानमन्त्रीसँग भेट्ने मौका पायो भन्ने के कुरा राख्नुहुन्छ ?

दीक्षान्त समारोहमा प्रधानमन्त्रीसँगको छोटो भेटमा मैले भनेको थिएँ, तपाईंले समय दिनुभयो भने विश्वविद्यालय, शिक्षाको क्षेत्र र विद्यार्थीका समस्याबारे ‘ग्राउन्ड रियालिटी’बारे बताउँछु भनेको थिएँ । उहाँले त्यो बेला ‘हुन्छ’ भन्नुभयो । त्यसपछि सम्पर्क भएन । विद्यार्थीका समस्या, हाम्रा आशा, अपेक्षाबारे कुरा राख्छु । त्यसका लागि वातावरण मिलोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया