१०३ वर्षमा अस्ताइन् विश्वकै सबैभन्दा जेठी ओलम्पिक पदक विजेता केलेटी
काठमाडौँ । विश्व खेलकुदकी ऐतिहासिक पात्र एग्नेस केलेटीको निधन भएको छ । एक सय तीन वर्षको उमेरमा उनको निधन भएको समाचारमा जनाइएको छ । उनी विश्वकै सबैभन्दा बढी उमेरसम्म जीवित ओलम्पिक पदक विजेता खेलाडी थिइन् ।
हंगेरीकी खेलाडी एग्नेस केलेटीले विश्व खेलकुदको सबैभन्दा वृहत् प्रतियोगिता ओलम्पिकमा पाँचपटक स्वर्ण पदक जितेकी थिइन् । उनी आफ्नो समयकी प्रभावशाली जिमन्याष्टिक खेलाडी थिइन् । उनले सन् १९५२ मा हेलसिन्कीमा सम्पन्न ओलम्पिक खेलकुदमा पहिलो पटक स्वर्ण पदक चुमेकी थिइन् ।
ओलम्पिक खेलकुदमा पहिलो स्वर्ण पदक जित्दा उनको उमेर ३१ वर्ष थियो । त्यसपछि मेलबर्नमा सन् १९५६ मा सम्पन्न ओलम्पिक खेलकुदमा पनि उनले चारवटा स्वर्ण पदक हात पारेकी थिइन् । उनले ओलम्पिक खेलकुदमा पाँच स्वर्णका अतिरिक्त अन्य पाँच पदक पनि जितेकी थिइन् ।
उनी हंगेरीकी दोस्रो सर्वकालिन सफल ओलम्पियन पनि हुन् । उनको जन्म सन् १९२१ मा बुडापेष्टमा भएको थियो । उनले सन् १९४० मा पहिलो पटक हंगेरियन च्याम्पियनसिपको उपाधि जितेकी थिइन् । त्यसपछि उनी केही समय प्रतिबन्धमा परेकी थिइन् ।
त्यतिबेला धार्मिक कारणले उनीमाथि प्रतिबन्ध लगाइएको थियो । मेलबर्न ओलम्पिकको एक वर्षपछि उनी इजरायलमा बसाई सरेकी थिइन् । त्यसपछि उनले इजरायलमै विवाह गरेकी थिइन् । उनका दुई सन्तान छन् ।
समाचारमा जनाइए अनुसार, बिहीबार राति बुढापेष्टस्थित सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी लामो समयदेखि मुटुको समस्याबाट पीडित रहँदै आएकी थिइन् । जनवरी ९ तारिखमा उनी आफ्नो १०४औँ जन्मदिन मनाउने तयारीमा थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते
-
नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना सार्वजनिक
-
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनमा के–के भइरहेको छ बहस ?
-
स्टार्टअप उद्यम कर्जा परियोजनाका लागि एक हजार बढी प्रारम्भिक सूचीमा
-
भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु
-
त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्न थाल्यो