आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

चुनावी ‘मुभमेन्ट’को झल्को, प्रमुख दलको ध्यान ‘अभियान’मा

शुक्रबार, १९ पुस २०८१, १८ : ००
शुक्रबार, १९ पुस २०८१

काठमाडौँ । आवधिक निर्वाचन हुन झण्डै पौने तीन वर्ष बाँकी छ । तर प्रमुख राजनीतिक दलहरू भने अहिलेदेखि नै विभिन्न अभियानका नाममा चुनाव केन्द्रित ‘मुभमेन्ट’ चलाउन व्यस्त देखिन्छन् ।

सत्तारुढ दल नेकपा एमालेदेखि नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसम्म अभियान केन्द्रित बनेका हुन् । उनीहरूले सञ्चालन गर्ने अभियानका नाम फरकफरक भए पनि जनता आफ्नो पक्षमा पार्नेे मुख्य उद्देश्य राखेको देखिन्छ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले तीन महिने वडा केन्द्रित अभियान चलाउने निर्णय गरिसकेको छ भने बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले ६ महिने जागरण अभियान चलाउने घोषणा गरेको छ ।

एमालेको मंसिर अन्तिम साता बसेको राष्ट्रिय कार्यशालाले माघदेखि चैतसम्म देशभर ‘वडा केन्द्रित’ तीन महिने अभियान चलाउने निर्णय गरेको हो । उक्त निर्णयमाथि यही पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पुनः छलफल गरेर अभियानको रोडम्याप तयार गर्ने एमालेको तयारी छ ।

मंसिरमा भएको उपनिर्वाचनपछि आ–आफ्नो हैसियत मूल्याङ्कन गरेका दलहरू अभियान अन्तर्गत जनतामा जाँदा आ–आफ्नै मुद्दा र एजेण्डा उठाउने तयारीमा छन् ।

सत्तारुढ दल सरकारले गरेका कामबारे जनतालाई बुझाउने तयारीमा देखिन्छन् भने प्रतिपक्ष दलहरू सरकारका कमजोरी केलाएर जनतामा जाने मुडमा देखिन्छन् ।

यसै क्रममा सत्तारुढ दल नेपाली कांग्रेसले सय दिने विशेष अभियानलाई जारी राखेको छ । गत असोज ७ मा सुरु भएको नेपाली कांग्रेसको सय दिने अभियान पुस १६ मा सक्ने गरी समय निर्धारण गरे पनि उक्त अभियान असोजमा आएको अविरल वर्षापछि गएको बाढीपहिरोका कारण केही समय रोकिएको थियो । प्राकृतिक प्रकोपको असर, स्थानीय तह उपचुनाव लगायतका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले कार्यसम्पादन हुन नसकेपछि उसले उक्त अभियानको समय थपेको छ । थपिएको समयअनुसार बाँकी रहेका जिल्लाहरूको अभियान कांग्रेसले आगामी माघ १६ (सहिद दिवस) मा समापन गर्ने गरी तयारी गरेको छ ।

महाधिवेशनको चटारो र सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुद्दा खेपिरहेका बेला चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि जनतामाझ जाने अभियानमै केन्द्रित छ ।

पार्टी स्थापना भएको दुई वर्षपछि महाधिवेशन केन्द्रित भएको उक्त पार्टी हालसम्म पनि तदर्थ समितिमा चलिरहेको छ । यद्यपि उसले २०८२ वैशाखको तेस्रो साता प्रथम महाधिवेशन गर्ने तयारी गरेको छ । गत मंसिरदेखि सुरु भएको रास्वपाको महाधिवेशन प्रक्रिया अन्तर्गत आठ महिनामा ३५६ वडामा अधिवेशन सम्पन्न गरेको छ ।

यसअघि रास्वपाले सरकारलाई जवाफदेही बनाउन स्थानीय तहमा छाया सरकार गठनको अभ्यास गर्ने जनाए पनि अहिलेसम्म त्यस्तो अभ्यास सुरु गरिसकेको छैन । यस क्रममा कुनै न कुनै ढंगले जनतासँग जोडिने रास्वपाको बुझाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि अभियानकै रूपमा कार्यक्रम बनाएको छ । उसले कांग्रेस–एमाले गठबन्धन सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने तयारी गरेको छ ।

पुस ९ गते बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कांग्रेस–एमाले गठबन्धन सरकारका कारण भ्रष्टाचार बढेको भन्दै भण्डाफोर अभियान चलाउने निर्णय गरेको हो । यसअघि गत असोजमै राप्रपाले यो वर्षभरि देशव्यापी रूपमा पार्टी सदस्यता विस्तार र नवीकरण अभियानसमेत चलाउने निर्णय गरिसकेको छ ।

ठुला दल मिलेर गत असारमा बनेको सरकारले जनतामा आशा जगाउन नसकेको राजावादी पार्टी राप्रपाको ठहर छ । त्यस्तै सरकारले अर्थतन्त्र चलायमान गराउन नसकेको, असन्तुलित परराष्ट्र नीतिका कारण अन्तर्राष्ट्रिय सम्बन्धमा समेत नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरामा पुगेको निष्कर्ष राप्रपाले निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि अभियान केन्द्रित बनेको छ । यो पार्टीको पुस १६ गते बसेको पदाधिकारी बैठकले मुलुकमा सुशासन र समृद्धिका लागि माघ महिनामा देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो पार्टीले ‘मिसन ०८४’ मा केन्द्रित भएर पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न उक्त अभियान सञ्चालन गर्ने दाबी गरेको छ ।

स्वदेशी उद्योग प्रवर्द्धनका लागि स्वदेशी वस्तु प्रयोग प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको नेकपा एकीकृत समाजवादीले महँगी एवं भ्रष्टाचार अन्त्य गरी रोजगारी, समृद्धि कायम गर्न सुशासनका पक्षमा जनमत सिर्जना गर्ने उद्देश्य राखेको छ ।

देशभरि एक पालिका, एक उद्योग ग्राम कार्यक्रम सञ्चालन गरी स्थानीय कच्चा पदार्थ प्रयोग गर्नेगरी घरेलु साना तथा ग्रामीण उद्योग स्थापना गर्नुपर्ने एकीकृत समाजवादीको माग छ ।

अभियानअन्तर्गत पार्टीका एजेण्डा तथा आर्थिक समृद्धिका लागि कृषि क्रान्ति, औद्योगिक विकासलगायत समाजवादका कार्यक्रम जनताले सुन्ने गरी सभा सम्मेलनहरू गर्ने कार्यक्रम रहेको पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालको भनाइ छ ।

ती कार्यक्रममार्फत आत्मनिर्भर अर्थतन्त्र बनाउन सन्देश प्रवाह गरिने भन्दै नेकपा एकीकृत समाजवादीले अभियान सफल पार्न सम्बन्धित जिल्ला तथा प्रदेशहरूले ठाउँठाउँमा साना ठुला सभा गर्नेे जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप