रास्वपाको नजर सहकारी अध्यादेशदेखि रविको अदालती मुद्दासम्म
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक शनिबार र आइतबार दुई दिन बस्दै छ । केन्द्रीय समितिको विस्तारित बैठकका लागि रास्वपाले विभिन्न एजेन्डा तय गरिसकेको छ ।
राजधानी काठमाडौँको स्वयम्भू स्थित स्वयम्भू स्टार व्यान्केटमा बस्ने बैठकमा पार्टीले सभापति रवि लामिछानेको सहकारी केन्द्रित अदालतमा रहेको मुद्दादेखि सरकारले केही दिन अघि ल्याएको सहकारी सम्बन्धी अध्यादेश २०८१ सम्बन्धी छलफल गर्ने कार्यसूची रहेको छ ।
पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बिहीबार सार्वजनिक गरेको केन्द्रीय समिति बैठकको एजेन्डा अनुसार पहिलो दिन अर्थात् भोलि नै करिब ४५ मिनेट समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ हुने उल्लेख गरिएको छ ।
यस्तै पहिलो दिनकै बैठकमा केही महिना अघि सम्म स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने तयारी छ । यस्तै पहिलो दिनकै बैठकमा सङ्गठनको समीक्षा र सङ्गठन रणनीतिको विषयमा पनि छलफल हुनेछ । यसको अर्थ वैशाखमा गर्ने भनिएको महाधिवेशन केन्द्रित छलफल हुने बुझिएको छ ।
‘पहिलो दिन सङ्गठन सबलीकरण र जागरण‚ प्रशिक्षण सामाग्री‚ अभियान‚ लिडरसिप एकेडेमी‚क्यान्डिडेट क्लब र ब्लूपिन्ट फ्रेमवर्क तथा प्रदेश समन्वय संयन्त्र सम्बन्धमा छलफल हुनेछ‚’ कार्यवाहक महामन्त्री बुर्लाकोटीले लेखेका छन् ।
रास्वपाले जारी गरेको एजेन्डा तालिका अनुसार शनिबारको बैठकमा सहकारी सम्बन्धी अध्यादेश २०८१ का विषयमा पार्टी आधिकारिक धारणा बनाउने गरी छलफल हुनेछ । यस्तै संसद्मा दर्ता भएको विधेयक र पार्टी धारणा बनाउने तयारी छ ।
यस्तै पार्टीको आइतबारको बैठकमा पार्टीले संविधान परिमार्जनको विषयमा छलफल गर्ने कार्यतालिका बनाएको छ । आइतबार सम्पन्न हुने बैठकमा यसबाहेक प्रस्तावनाको व्याख्या एवम् सर्वाङ्गीण कासको भावी रोडम्याप‚ जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा गर्नुपर्ने पार्टीको आगामी कार्यदिशा कार्यक्रमको बारेमा छलफल‚ केन्द्रीय समिति सल्लाहकार परिषद् र थिंकट्याक एवम् केन्द्रीय विभाग पुनर्संरचना लगायत विषयमा छलफल हुने बताइएको छ ।