आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
विकास निर्माण

बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब लाग्ने, कसरी होला बजेट व्यवस्थापन ?

शुक्रबार, १९ पुस २०८१, ०७ : २१
शुक्रबार, १९ पुस २०८१

काठमाडौँ । सरकारले गरेको प्रारम्भिक अध्ययनअनुसार बीपी राजमार्ग पुनर्निर्माणका लागि साढे ९ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

गत असोजमा आएको बाढी र पहिरोले यो राजमार्ग अन्तर्गत भकुण्डेदेखि नेपालथोकसम्म ठाउँठाउँमा क्षति भएको छ । यो राजमार्ग  पुनर्निर्माणका लागि कुल ९ अर्ब ६६ करोड रुपैयाँ लागत लाग्ने देखिएको भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले रातोपाटीलाई बताए ।

बीपी राजमार्गको कालढुङ्गा चौकी डाँडा खण्डको १२ किलोमिटर सडकमध्ये ८ किलोमिटर खण्डमा पूर्ण रूपमा क्षति पुगेको छ । उक्त सडकमा तीन किसिमका पर्खाल (वाल) लगाउनुपर्ने देखिएको छ । जसमा आरसीसी रिटेनिङ वाल, प्लम वाल, गेभिएन वाल लगाउनुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।

यो ८ किलोमिटर सबै खोलाले बगाएको छेउको बाटो हो । आरसीसी वाल खोला आउन सक्ने ठाउँमा लगाउनुपर्ने देखिएको छ । कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनु पर्ने अध्ययन निष्कर्ष छ ।

अध्ययनले यो खण्डका केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखाएको थियो । तर पुल बनाउन महँगो पर्ने र पर्खाल लगाउँदा सस्तो पर्ने योगेशको भनाइ छ ।

‘यसैमा आधारित भएर बनाउँदा त नौ अर्ब ६६ करोड लागत लाग्ने देखियो । पुल बनाउँदा त झन् खर्च बढ्छ,’ उनले भने, ‘त्यही भएर अहिले वाल लगाउने तयारी भएको हो । माथि आसपाल्ट कङ्क्रिट र दुई लेनको सडक हुन्छ ।’

योगेशका अनुसार यसअघि इन्टरमिडियट लेनको सडक थियो । जबरजस्ती दुई लेनमा प्रयोगमा ल्याइएको थियो । तर अब भने दुई लेन सडक निर्माण गर्ने तयारी छ ।

अझै भएन बजेटको स्रोत सुनिश्चित

यो सडक खण्ड पुनर्निर्माणको अध्ययन सकिए पनि बजेट व्यवस्थापनको पहल नभएको योगेशले बताए । उनका अनुसार यो खण्ड पुनर्निर्माणका लागि लाग्ने लागत रकमको स्रोत अहिलेसम्म सुनिश्चित हुन सकेको छैन ।

‘नेपाल सरकार आफैँले गर्ने कि जापान सरकारले गर्ने अथवा अरु स्रोत खोज्ने भन्ने टुङ्गो लागेको छैन । निर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभएसम्म ठेक्का खोल्न सकिँदैन,’ योगेशले भने, ‘ढिला भइसक्यो । अब ठेक्का खोल्दाखेरी वर्षा याम सुरु हुन्छ । वैशाखपछि पानी पर्न सुरु हुने भएकाले निर्माणमा समस्या हुन्छ ।’

योगेशका अनुसार चाँडै बजेटको व्यवस्था नहुने हो भने वैशाखपछि यो सडक सञ्चालन गर्न नसकिने निश्चित छ । त्यसैले सरकारले यो खण्ड निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गर्न आवश्यक देखिएको उनले बताए ।

सरकारले जति छिटो बजेट व्यवस्थापन गर्छ,  त्यति नै चाँडो निर्माण कार्य अघि बढ्ने योगेशको भनाइ छ । ‘स्रोत सुनिश्चितता भयो भने हामी काम सुरु गर्थ्यौँ । अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन सक्छ,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको वर्षा अगाडि पर्खाल नबनाइ नहुने स्थानमा पहिला पर्खाल बनाइहाल्ने हो । त्यो अवस्था रहेमा वर्षामा पनि सवारी चलाउन सकिन्छ ।’

तर पूर्ण रूपमा सडक निर्माण गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने अध्ययनले देखाएको छ ।

कसरी हुन्छ बजेट व्यवस्थापन ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी भइरहेको बताए ।

साथै उनले दातृ निकायहरू एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर राजमार्ग निर्माण गर्ने तयारी थालेको बताए ।

‘साढे नौ अर्ब लागत लाग्ने भनिए पनि यसबाट ५/१० प्रतिशत लागत घट्न सक्छ । यो लागत रकम उपलब्ध गराउन अर्थ मन्त्रालयमा छलफल भएको छ,’ शर्माले भने, ‘विपद् जोखिम न्यूनीकरणको कोषबाट र अन्य दातृ निकायसँग सहुलियत ऋण लिएर बजेट उपलब्ध गराउँछौँ ।’

ढिलोमा पनि फागुनसम्ममा ठेक्का प्रक्रिया अघि बढाउने सचिव शर्माको भनाइ छ । बीपी राजमार्गमात्र नभएर कान्ति, अरनिको राजमार्ग पुनर्निर्माणका लागि यसरी नै स्रोत सुनिश्चितता गरिने उनले बताए ।

धुलिखेल–बर्दिबाससम्म करिब १६० किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको थियो । सन् २००५ मा निर्माण सुरु गरेको यो राजमार्ग २६ अर्ब येन लागतमा २०१५ मा सम्पन्न भएको थियो ।

२०७२ सालको भूकम्पमा करिब ५ स्थानमा यो सडक भासिएको थियो । त्यतिबेला जापान सरकारले १८ महिना लगाएर पुनर्निर्माण गरिदिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप