सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाको आफन्त अझै न्यायको प्रतीक्षामा
सुर्खेत । ‘माओवादी भनेर गाउँकै मान्छेले सुराकी लगाए, प्रहरीले आमा, जेठो भाइ र मलाई जेलमा लग्यो । कान्छो भाइलाई बेपत्ता पार्यो । यतिका वर्ष भयो, म मेरो भाइको प्रतीक्षा कहिलेसम्म गरौँ सरकार ?’ केही दिनअघि वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा ५१ वर्षीय मायादेवी हमालले रुँदै राज्यमाथि प्रश्न गरिन् ।
सहकर्मी समाज नामक एक संस्थाले सत्य निरुपण तथा मेलमिलाप ऐन, २०७१ कार्यान्वयनका विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा हमाललाई निम्ता रहेछ । उनको पुरानो घर जुम्ला हो । सशस्त्र द्वन्द्वभन्दा अघि नै उनीहरूको एक तले घर वीरेन्द्रनगरको एयरपोर्ट क्षेत्रमा थियो । ०५७ सालमा उनको सम्पूर्ण परिवारलाई माओवादी भएको भन्दै राज्य पक्षले जेल हालेको रहेछ ।
जुम्लाको कनकासुन्दरीका उनीहरूलाई गाउँकै केही व्यक्तिले माओवादी हुन् भन्दै प्रहरीलाई सुराकी दिएका रहेछन् । उक्त समयमा माओवादीले थालेको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । हमालका बुबा, जेठो भाइ, कान्छो भाइ सुर्खेत घरमा बस्थे भने आमा विष्णुदेवी जुम्लामै बस्थिन् ।
त्यतिबेला आमालाई जुम्ला जेल, जेठो भाइलाई सुर्खेतबाट पक्राउ गरेर सुर्खेत जेल हालिएको हमालको भनाइ छ । युद्धमै रहेकी उनी पनि नेपालगञ्ज जेलमा परेकी रहिछन् ।
हमालका कान्छा भाइ लोकेन्द्र त्यतिबेला वीरेन्द्रनगरस्थित एयरपोर्टमा रहेको नेवारे स्कुलमा कक्षा १० मा पढ्थे । ‘यो माओवादीको परिवार हो भन्ने सुराकीकै आधारमा भाइलाई लगेर बेपत्ता पारियो,’ उनले रातोपाटीसँग भनिन्, ‘एयरपोर्टमा रहेको हाम्रो घरमा प्रहरी भाडामा बस्थे । एक दिन साँझतिर सुर्खेत विमानस्थलको प्रहरी आएर माओवादीको घरमा किन बसेको भन्दै गाली गरेछन् । बुबा र भाइलाई केरकार गरेछन् ।’
हमालका अनुसार त्यसपछि भाडामा बसेका प्रहरी गए । उक्त दिन विमानस्थलका ती प्रहरी पनि केरकार गरेर फर्किए ।
७ वर्षमै बिहे गरेकी मायादेवी हमालका एक छोरा थिए । श्रीमानले अर्को विवाह गरेपछि उनी माइतकै बस्थिन् । उनी एउटा छोरोसहित युद्धमा होमिएकी थिइन् । ‘प्रहरी र आर्मीको यातनाबाट यति दुःख पाइयो, नाफाको जिन्दगी थियो हाम्रो,’ उनले ती दिन सम्झिइन्, ‘भाग्यले बाँचेका थियौँ ।’
भाइलाई लैजान खोज्दा बुबाले ‘हामी माओवादी होइनौँ, यस्तो नगर्नुहोस्’ भनेर रोइ–कराइ गरेपछि उक्त दिन प्रहरी फिर्ता भएको हमाल बताउँछिन् । उनका अनुसार पर्सिपल्ट विद्यालय गएका लोकेन्द्रलाई आर्मी आएर लगे । ‘त्यसपछि कहाँ लगे, के गरे भन्ने अहिलेसम्म कुनै पत्तो छैन,’ रुँदै उनले भनिन्, ‘हामी त जसोतसो बाँचियो तर भाइ बेपत्ता भयो ।’
हमालको एउटै माग छ—‘कि सास देऊ, कि लास देऊ ।’
अहिलेसम्म बेपत्ता पारिएकाहरूको खोजी र छानबिनमा राज्यले उदासीनता देखाइरहेको उनको आरोप छ । अहिले माओवादी पार्टीले पनि खासै वास्ता नगरेको उनको भनाइ । उनले अगाडि थपिन्, ‘न सहिद घोषणा भयो, न लास पत्ता लाग्यो ।’
७ वर्षमै बिहे गरेकी हमालका एक छोरा थिए । श्रीमानले अर्को विवाह गरेपछि उनी माइतकै बस्थिन् । उनी एउटा छोरोसहित युद्धमा होमिएकी थिइन् । ‘प्रहरी र आर्मीको यातनाबाट यति दुःख पाइयो, नाफाको जिन्दगी थियो हाम्रो,’ उनले ती दिन सम्झिइन्, ‘भाग्यले बाँचेका थियौँ ।’
हमालका अनुसार भाइ लोकेन्द्र बाँचेको छ भन्ने आशा छैन । ‘यदि बाँचेको भए त घर फर्किन्थ्यो होला नि,’ उनले भनिन् ।
वीरेन्द्रनगर नगरपालिका–८, की शान्ति ढकालका श्रीमान् गणेश प्रसाद शर्मा ०५५ वैशाख २२ गते दैलेखबाट सुर्खेत आउँदै गर्दा राज्यपक्षबाट बेपत्ता पारिए । शर्मा तत्कालीन लालीकाँडा गाविसको सचिव पदमा कार्यरत थिए ।
उनी सरकारी कामको सिलसिलामा सुर्खेत आउँदै थिए । ६ दिनसम्म चरम यातनापछि बेपत्ता पारिएको ढकाल बताउँछिन् ।
‘मेरो जीवनको खुसी लुटिएको २७ वर्ष भयो,’ ढकाल भन्छिन् । अढाइ दशक बितिसक्दा पनि आफूहरूले न्याय नपाएको उनको गुनासो छ ।
युद्धकै क्रममा आफू पनि ८४ पटक हिरासतमा परेको ढकालले बताइन् । उनले भनिन्, ‘नेताहरूको लडाइँका कारण हामी थिचोमिचोमा पर्यौँ । कति सहेर बस्ने हो ? २७ वर्षदेखिको पीडा कति पचाउनु ?’
०५५ सालदेखि बेपत्ता भएकी वीरेन्द्रनगरकी भगवती मल्लको अवस्था अझै अज्ञात छ । उनकी आमा जानकली मल्ललाई अझै आफ्नी छोरी जिउँदै छिन् जस्तो लाग्छ रे । अमर ज्योति विद्यालयमा कक्षा ७ मा पढ्दै गरेकी भगवती दिउँसो नजिकैको पसलमा जान्छु भनेर घरबाट निस्किएकी थिइन् । जानकलीका अनुसार ०५५ को साउन महिनामा साँझसम्म पनि उनी घर नफर्किएपछि खोजी भयो । चार दिनपछि थाहा भयो, भगवतीलाई त माओवादी कार्यकर्ताहरूले लगेका रहेछन् ।
पाँच वर्षपछि भगवती आफैँ घर फर्किए पनि उनी पुनः युद्धमै होमिन गइन् । आमा जानकली ती दिन सम्झिन्छन्, ‘अब न जा छोरी भनेर कति रोएँ, मैले त मर्छु, नजासम्म भनेँ तर उसले मानिन ।’
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार सल्यान जिल्लाबाट २८ जना, सुर्खेतका १४ जना, जाजरकोटका २१ जना, दैलेखका १, डोल्पाका २, कालिकोटका २६, मुगुका २ र जुम्लाका ५ जना बेपत्ता छन् ।
सुर्खेतमा बस्न सक्ने अवस्था नभएपछि दैलेख मामाघर पठाएको तर केही महिनापछि माओवादी कार्यकर्ताले त्यहाँबाट लगेको उनको भनाइ छ । त्यसपछि भगवतीको कुनै अत्तोपत्तो नभएको जानकलीले बताइन् ।
उनले भनिन्, ‘छोरी अझै पनि जिउँदै छे जस्तो लाग्छ । तर, न अहिलेसम्म लास पाएका छौँ, न त सास नै । छोरीको कारण आज म पनि मानसिक रूपमा अशक्त भइसकेँ । छोरीकै तनावका कारण श्रीमानको निधन भयो ।’
यी केही उदाहरणमात्र हुन् । १० वर्षे माओवादी सशस्त्र युद्धका बेला राज्य र विद्रोही पक्षबाट कर्णाली प्रदेशभरका ९९ जना बेपत्ता पारिएको इन्सेकको तथ्याङ्क छ ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार सल्यान जिल्लाबाट २८ जना, सुर्खेतका १४ जना, जाजरकोटका २१ जना, दैलेखका १, डोल्पाका २, कालिकोटका २६, मुगुका २ र जुम्लाका ५ जना बेपत्ता छन् ।
न्यायको प्रतीक्षा
पीडित मायादेवी हमाल भन्छिन्, ‘जनयुद्धकै जगमा अहिले प्रचण्ड पनि पटक–पटक प्रधानमन्त्री भइसके तर हामीले न न्याय पाएका छौँ, न त आफन्त नै फर्के ।’
माओवादी पार्टी निरन्तर सत्तामा रहे पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन ०७१ कार्यान्वयन हुन नसक्नु ठुलो धोका भएको उनको भनाइ छ ।
प्रचण्ड नै प्रधानमन्त्री हुँदा पनि ठिक ढङ्गले कार्यान्वयन नभएको ऐन अब होला भन्ने आशा नरहेको उनले बताइन् ।
अर्की पीडित शान्ति ढकाल पीडितलाई मैदान बनाएर नेताहरू र राज्य सञ्चालकहरूले राजनीतिक खेल खेलिरहेको बताउँछिन् ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी ऐन तेस्रो पटक संशोधन भएर आए पनि कार्यान्वयन हुन नसकेको बताउँछन् । अब कार्यान्वयनका लागि सबै पक्षले दबाब दिनुपर्नेमा उनको जोड छ । सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो छिटो टुङ्ग्याउन आवश्यक भएको उनको भनाइ छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मानबहादुर कार्की बेपत्ता पारिएका नागरिकहरूको बारेमा आयोगले सरकारलाई ध्यानाकर्षण गराइरहेको बताउँछन् । ‘थप दबाबका लागि नागरिक समाज, सरोकारवाला निकायदेखि सबै पक्षले आवाज उठाउनुपर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश प्रमुख देवकोटालाई दलित आयोगको प्रतिवेदन हस्तान्तरण
-
सिंगापुरमा किन बढ्दैछ नक्कली बिहे ?
-
‘एक्टरः टेक वन’ को ‘के भरोसा गरम’ गीत : दिव्या र आनासँग रोमान्टिक प्रदीप
-
बेवारिसे स्कार्पियो गाडी गौर भन्सारमा बुझाइयो
-
दीपक मनाङेको मुद्दामा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक
-
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो