१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. जिप दुर्घटनामा तीन जनाको मृत्यु
जिप दुर्घटना हुँदा बझाङमा तीन जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा केहीबेर अघि धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।
२. एमाले बैठक
नेकपा एमालेले देशभित्र अराजकता बढ्दै भएको निष्कर्ष निकालेको छ । एमालेले केन्द्रीय समिति बैठकमा पेस गर्न तयार रहेको राजनीतिक प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको छ ।
एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले पछिल्लो अराजकता बढ्दै गएको र मुलुकलाई अस्थिरतातर्फ धकेल्न समेत प्रयासहरू भएको सन्दर्भमा पार्टीले खेल्नुपर्ने भूमिकाका सन्दर्भमा प्रतिवेदनमा उल्लेख भएको बताए ।
३. माओवादी बैठक
नेकपा माओवादी केन्द्रले संविधान संशोधनलाई नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता प्राप्तिको बहाना बनाएको आरोप लगाएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधान संशोधनलाई दुई ठुला दलले सत्ता प्राप्तिको बहना बनाएको आरोप लगाएका हुन् ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान समाहित गर्न लगातार छलफल र संवाद भइरहेका छन् । पुस ५ पछि मात्र दुई पक्षका नेताहरूबिच तीन पटक छलफल भइसकेको छ । तर वामदेवले वरिष्ठ नेतासहित संगठन विभाग पद माग्दा माधव नेपाल अनकनाएका छन् ।
४. एकताको गृहकार्य
डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता हुने भएको छ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेसी दलबीच मोर्चाबन्दीको प्रयास गरिरहेका बेला यी दुई पार्टीबीच एकता हुने गरी गृहकार्य अगाडि बढेको हो । यस विषयमा अध्यक्षद्वय राउत र चौधरीबीच निरन्तर कुराकानी भइरहेको छ ।
५. रहेनन् सचिव परियार
बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो । तीन वर्षदेखि विरामी सचिनलाई राज्यले कुनै प्रकारको सहयोग नगरेको र उनी विभेद समेतको सिकार भएको भनी सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।
६. थप शक्तिशाली बन्दै अख्तियार
भ्रष्टाचार नियन्त्रणमा सक्रिय संस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बलियो बनाउने गरी कानुन बनाउने तयारी भएको छ । भ्रष्टाचारको अनुसन्धानमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष अनुसन्धान विधि र नवीन प्रविधिको प्रयोग गर्न सक्ने’ गरी विधेयक संसदीय समितिबाट पारित भएपश्चात् अख्तियारको अधिकार क्षेत्र विस्तारको तयारी भएको हो । प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित पारित भएको छ । समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा बनेको उपसमितिले तयार पारेको प्रतिवेदनसहित विधेयक पारित भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।
७. कानुन निर्माणलाई तिव्रता दिइने
कानुन निर्माणमा रफ्तार बढाउन सत्ता साझेदार दल कांग्रेस र एमालेले काम गरिरहेका छन् । यी दुई दलले संयन्त्र नै बनाएर काम गरिरहेका हुन् । उक्त संयन्त्रको बैठक बिहीबार एमाले संसदीय दलको कार्यालयमा बसेको छ । उक्त बैठकले संघीय संसद्मा विचाराधीन विधेयकका सम्बन्धमा छलफल गरेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
८.अदालत
नेपाल विद्युत् प्राधिकरणले खरिद गरेको ट्रान्सफर्मरमा भ्रष्टाचार भएको जिकिरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा बिहीबार पनि सुनुवाइ हुने सकेन ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी रहेको उक्त मुद्दा हेर्न नभ्याउने भएको हो । बिहीबार संयुक्त इजलासमा अधिकांश भ्रष्टाचारका मुद्दा पेसी रहेका थिए । ती मध्ये प्राधिकरणको ६४ करोडको भ्रष्टाचार सम्बन्धी मुद्दा तीन नम्बरमा पालो भएपनि इजलासमा चढेको पहिलो मुद्दामै बहस नसकिएपछि अन्य मुद्दा सबै हेर्न नभ्याउने भएका थिए ।
९. सहकारी ठगी प्रकरण
सहकारी ठगी सहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतका मुद्दामा कास्की जिल्ला अदालतमा बिहीबार पनि थुनछेक बहस भएको छ । अघिल्लो २ दिन सरकारी वकिलहरूको तर्फबाट बहस भएकोमा बिहीबार जाहेरवालाको तर्फबाट कानुन व्यवसायीले बहस गरेका हुन् । यद्यपि, थुनछेक बहस नसकिँदै प्रतिवादी रवि लामिछानेको पक्षधरतालाई लिएर सामाजिक सञ्जालमा कानून व्यवसायीहरुबारे अभद्र टिप्पणीहरु आउन थालेका छन् ।
बिहीबार सेयर बजार परिसूचक ९नेप्से० ४।६३ अंकले बढेको छ । सामान्य अंकले बढ्दा नेप्से २५८६।२३ बिन्दुममा पुगेको हो ।
११. वैदेशिक रोजगार ठगी
वैदेशिक रोजगारसम्बन्धी उजुरी गत आर्थिक वर्ष (आव) २०८०–८१ मा ७ हजार ७ सय ६३ वटा परे । यो वैदेशिक रोजगार विभाग र प्रहरीमा परेका उजुरीको संख्या हो । जुन अघिल्लो वर्षको तुलनामा ४२.४९ प्रतिशतले बढी हो । चालू आवको पाँच महिना अवधिमा (साउन–मंसिर)मात्र पनि ४ हजार ८९ उजुरी परिसकेका छन् ।
१२. न्यू ओर्लियन्स आक्रमण र विष्फोट कनेक्सन
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको लस एञ्जलसमा रहेको होटल अगाडि साइबर ट्रक विस्फोटको घटना न्यू ओर्लियन्समा कारले कुल्चेर १५ जनाकोज्यान गएको मामिलासँग सम्बन्धित थियो कि थिएन भनेर अमेरिकी प्रहरीहरूले छानबिन गरिरहेका छन् । लस भेगासमा टेस्लाको साइबर ट्रक विस्फोट हुँदा एक चालकको मृत्यु भएको थियो भने अरू सात जना घाइते भएका थिए । उक्त ट्रकभरि पट्का थिए । घाइते सबैलाई सामान्य चोटपटक लागेको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
क्रिकेटर शेख दाजुभाइको विवाह सम्पन्न
-
मधेसी दलहरू एकता होइन, मोर्चा बनाउन सकारात्मक
-
सभापति पोखरेलका स्वकीयको ठगी धन्दा : चेकको अर्धकट्टीमा भुक्तानी लिएको भन्दै हस्ताक्षर !
-
लोकेन्द्र तामाङको 'कति राम्रो चालमाला' सार्वजनिक
-
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड