१० बजे १० समाचार : सीके र रेशम मिल्दै, वामदेवलाई मागेको पद दिन अनकनाए माधव
आज मिति २०८१ साल पुस महिनाका १८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. एमाले बैठक
नेकपा एमालेले देशभित्र अराजकता बढ्दै भएको निष्कर्ष निकालेको छ । एमालेले केन्द्रीय समिति बैठकमा पेस गर्न तयार रहेको राजनीतिक प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको छ ।
एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले पछिल्लो अराजकता बढ्दै गएको र मुलुकलाई अस्थिरतातर्फ धकेल्न समेत प्रयासहरू भएको सन्दर्भमा पार्टीले खेल्नुपर्ने भूमिकाका सन्दर्भमा प्रतिवेदनमा उल्लेख भएको बताए ।
२. माओवादी बैठक
नेकपा माओवादी केन्द्रले संविधान संशोधनलाई नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता प्राप्तिको बहाना बनाएको आरोप लगाएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधान संशोधनलाई दुई ठुला दलले सत्ता प्राप्तिको बहना बनाएको आरोप लगाएका हुन् ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान समाहित गर्न लगातार छलफल र संवाद भइरहेका छन् । पुस ५ पछि मात्र दुई पक्षका नेताहरूबिच तीन पटक छलफल भइसकेको छ ।
तर वामदेवले वरिष्ठ नेतासहित संगठन विभाग पद माग्दा माधव नेपाल अनकनाएका छन् ।
३. एकताको गृहकार्य
डा सीके राउत अध्यक्ष रहेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता हुने भएको छ ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेसी दलबिच मोर्चाबन्दीको प्रयास गरिरहेका बेला यी दुई पार्टीबिच एकता हुने गरी गृहकार्य अगाडि बढेको हो । यस विषयमा अध्यक्षद्वय राउत र चौधरीबिच निरन्तर कुराकानी भइरहेको छ ।
४. रहेनन् सचिव परियार
बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो ।
५. थप शक्तिशाली बन्दै अख्तियार
भ्रष्टाचार नियन्त्रणमा सक्रिय संस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बलियो बनाउने गरी कानुन बनाउने तयारी भएको छ । भ्रष्टाचारको अनुसन्धानमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष अनुसन्धान विधि र नवीन प्रविधिको प्रयोग गर्न सक्ने’ गरी विधेयक संसदीय समितिबाट पारित भएपश्चात् अख्तियारको अधिकार क्षेत्र विस्तारको तयारी भएको हो ।
प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित पारित भएको छ । समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा बनेको उपसमितिले तयार पारेको प्रतिवेदनसहित विधेयक पारित भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।
६. कानुन निर्माणलाई तिव्रता दिइने
कानुन निर्माणमा रफ्तार बढाउन सत्ता साझेदार दल कांग्रेस र एमालेले काम गरिरहेका छन् । यी दुई दलले संयन्त्र नै बनाएर काम गरिरहेका हुन् ।
उक्त संयन्त्रको बैठक बिहीबार एमाले संसदीय दलको कार्यालयमा बसेको छ । उक्त बैठकले संघीय संसद्मा विचाराधीन विधेयकका सम्बन्धमा छलफल गरेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
७. अदालत
नेपाल विद्युत् प्राधिकरणले खरिद गरेको ट्रान्सफर्मरमा भ्रष्टाचार भएको जिकिरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा बिहीबार पनि सुनुवाइ हुने सकेन ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी रहेको उक्त मुद्दा हेर्न नभ्याउने भएको हो ।
बिहीबार संयुक्त इजलासमा अधिकांश भ्रष्टाचारका मुद्दा पेसी रहेका थिए । ती मध्ये प्राधिकरणको ६४ करोडको भ्रष्टाचार सम्बन्धी मुद्दा तीन नम्बरमा पालो भएपनि इजलासमा चढेको पहिलो मुद्दामै बहस नसकिएपछि अन्य मुद्दा सबै हेर्न नभ्याउने भएका थिए ।
८. सहकारी ठगी प्रकरण
सहकारी ठगी सहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतका मुद्दामा कास्की जिल्ला अदालतमा बिहीबार पनि थुनछेक बहस भएको छ । अघिल्लो २ दिन सरकारी वकिलहरूको तर्फबाट बहस भएकोमा बिहीबार जाहेरवालाको तर्फबाट कानुन व्यवसायीले बहस गरेका हुन् ।
९. सेयर बजार
बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४.६३ अंकले बढेको छ । सामान्य अंकले बढ्दा नेप्से २५८६.२३ बिन्दुममा पुगेको हो ।
थप आर्थिक समाचार
१०. वैदेशिक रोजगार ठगी
वैदेशिक रोजगारसम्बन्धी उजुरी गत आर्थिक वर्ष (आव) २०८०–८१ मा ७ हजार ७ सय ६३ वटा परे । यो वैदेशिक रोजगार विभाग र प्रहरीमा परेका उजुरीको संख्या हो । जुन अघिल्लो वर्षको तुलनामा ४२.४९ प्रतिशतले बढी हो । चालू आवको पाँच महिना अवधिमा (साउन–मंसिर)मात्र पनि ४ हजार ८९ उजुरी परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोली घोषणा
-
आजको दिन कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
यस्तो छ विदेशी मुद्राको भाउ, कसको मूल्य कति ?
-
मुटु कमाउने जाडो झेलिरहेका शीतलहरपीडितलाई सेनाको सहयोग
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता