आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

महिला लिगको फाइनल राउण्डमा आर्मीको सुखद सुरुवात

बिहीबार, १८ पुस २०८१, २० : २३
बिहीबार, १८ पुस २०८१

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग फुटबलको फाइनल राउन्डमा सुखद सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबारदेखि सुरु भएको महिला लिगको फाइनल चरणको खेलमा आर्मीले बागमती युथ क्लबमाथि २–० को जित निकाल्दै सुखद सुरुवात गरेको हो । 

एन्फा महिला लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए । उक्त पहिलो चरण (४५ खेलपछि) मा शीर्ष पाँच टोलीले फाइनल चरणमा स्थान बनाएका हुन् । पाँचौँ स्थानको कोशी प्रदेश फुटबल संघले आर्थिक समस्या देखाउँदै दोस्रो चरणको लिग खेल्ने भएपछि बागमती छैटौँ स्थानमा रहे पनि फाइनल राउन्ड खेल्न पाएको हो । तर घरेलु फुटबलका स्टार र विदेशी खेलाडीबिना खेलेको बागमतीको फाइनल राउण्डको सुरुवात राम्रो हुन सकेन । 

विभागीय टोलीविरुद्ध कमजोर प्रदर्शन ग¥यो र २–० ले नतिजा सुम्पिन पुग्यो । आर्मीका लागि विमला चौधरीले दुई गोल गरिन् । आर्मीले दुवै हाफमा समान एक गोल गरेको हो । विमलाले खेलको २५ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । डिफेन्स लाइनबाट विमला विकले दिएको लामो क्रस सदुपयोग गर्दै उनले गोल गरेकी हुन् । विमलाले ३८औँ मिनेटमा गोल गर्ने अर्को अवसर खेर फालिन् । बागमतीका डिफेन्स लाइनले क्लियर गर्न नसकेको बललाई विमलाले प्रहार गरे पनि गोलकिपर सुजता तामाङले रोकिन् । लगत्तै रिबाउन्ड बल नियन्त्रणमा लिँदै विमलाले अर्को प्रहार गरिन् । तर यसपल्ट भने उनले पोस्टको दिशा लिन सकिनन् ।

यससँगै पहिलो हाफ बागमती १–० ले पछि रह्यो । दोस्रो हाफको सुरुमै बागमतीकी अस्मिता खवासले गोल गर्ने अवसर गुमाइन् । पेनाल्टी बक्सनजिकैबाट अस्मिताले फितलो प्रहार गरिन् । ५५औँ मिनेटमा आर्मीकी कप्तान पुनम जर्घामगरको हेडर गोलमा परिणत हुन सकेन । कर्नरबाट आएको बललाई पुनमले नजिकैबाट हेड गरे पनि पहिलो बारमा लागेर फर्किन पुग्यो । ६२औँ मिनेटमा पनि आर्मीकी सपना लामाले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार बागमतीकी गोलकिपर सुजता तामाङका लागि चुनौती भएन ।

तीन मिनेटपछि नै पुनमले दोस्रो बार च्याप्दै गरेको उत्कृष्ट प्रहार बागमतीकी गोलकिपर सुजताले पन्चै गर्दै संकट टारिन् । ७१औँ मिनेटमा नै विमला चौधरीले नै दोस्रो गोल गरिन् । सपना लामाले कर्नरबाट दिएको बललाई विमलाले हेडमार्फत गोल गरेकी हुन् । चार मिनेटपछि नै बागमतीकी सेमिहाङ्मा लिम्बूले करिब २५ यार्डबाट गरेको फ्रिकिक आर्मीकी गोलकिपर अञ्जना रानामगरले नियन्त्रणमा लिइन् । ८० औँ मिनेटमा आर्मीकी कप्तान पुनमको फ्रिकिक बागमतीकी गोलकिपर सुजताले मुस्किलले बचाइन् ।

त्यसपछि पनि आर्मीले गोलका केही राम्रा अवसर सिर्जना ग¥यो । तर गोल निस्किएन र आर्मीले बागमतीमाथि २–० को जित निकाल्यो । फाइनल राउण्डमा तीन विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लब र आर्मीसँगै वालिङ नगरपालिका र बागमतीले खेल्नेछन् । यीमध्ये आर्मीले सुखद सुरुवात गरेको हो । विभागीय तीनसहित १० टोलीले गत भाद्र र असोजमा एन्फा कम्प्लेक्सको मैदानमा राउण्ड रोबिनको आधारमा सञ्चालित लिगको पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा एपिएफ (२५ अंक) पहिलो, आर्मी (२२) दोस्रो, पुलिस (२१) तेस्रो, वालिङ (१५) चौथो र कोसी (१४) पाँचौँ स्थानमा थिए । 

त्यस्तै बागमती (१०) छैटौँ, संकटा फुटबल क्लब (आठ) सातौँ, चन्द्रपुर नगरपालिका (आठ) आठौँ, कर्णाली प्रदेश (चार) नवौँ र सबै खेल हारेको सुदूरपश्चिम प्रदेश अन्तिम तथा दसौँ स्थानमा रहेका थिए । फाइनल लिगमा पाँच टोलीले एकअर्काविरुद्ध समान २/२ खेल खेल्नेछन् । यहाँबाट एक टोली बाहिरिइनेछ भने शीर्ष चार टोली प्लेअफ पुग्नेछन् । त्यसमा शीर्ष दुई टोली पहिलो क्वालिफायरमा पुग्नेछन् । तेस्रो र चौथो स्थान हासिल गर्ने टोली इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायर विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेताको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप