आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

कृषि मन्त्रीका सय दिन : कानुन, कार्यविधि र नियमावली निर्माणमा केन्द्रित

‘सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गरिरहेको छु’
बिहीबार, १८ पुस २०८१, १९ : २९
बिहीबार, १८ पुस २०८१

विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले आफ्ना १ सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रालयमै बिहीबार पत्रकार सम्मेलन गरी उनले आफूले गरेका नीतिगत कामसम्बन्धी १३ बुँदा सार्वजनिक गरेका हुन् । 

उनले आफू मन्त्री भएपछि सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गरिरहेको बताए । उनले सार्वजनिक गरेको पहिलो नम्बरमा सहकारीमा बचतकर्ताहरूको बचत रकमलाई व्यवस्थित गर्न र सहकारीको नियमन गर्न सहज बनाउन सहकारी संस्थामा एप्लिकेशन सफ्टवेयर प्रयोगसम्बन्धी कार्यविधि ल्याएको बताए । जसअनुसार उक्त सफ्टवेयरमा १७ वटा कम्पनी सूचीकृत भएको र सूचीकृत कम्पनीहरूमार्फत १ हजार ३ सय सहकारीमा प्रयोग सुरु गरिएको उनले बताएका छन् । 

यस्तै उनले सहकारी संस्थालाई सङ्कटग्रस्त सहकारी घोषणा गरी बचतकर्ताको बचतलाई सुरक्षित गर्न विद्यमान प्रदेश सहकारी ऐनमा संशोधन गरी अध्यादेश ल्याएर सहकारीको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गरिएको, प्रदेशबाट खोरेत मुक्त गर्न खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धी कार्यविधि स्वीकृत गरी कार्यान्वयन गरेको र इलाम जिल्लाको १० वटै स्थानीय तहहरूलाई खोरेत मुक्त बनाउन जोनिङसहित खोप कार्यक्रम सञ्चालन गरिएको, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान (दोस्रो संशोधन) नियमावलीलाई संशोधन गरी कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन कार्यविधि मस्यौदा स्वीकृत गरेको, प्रदेशमै बिउ बिजन उत्पादन, परीक्षण, प्रशोधन तथा विक्री वितरण सम्बन्धी कार्यलाई नियमन गरी गुणस्तरीय बिउको उत्पादनका लागि प्रदेश बिउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा मन्त्रिपरिषद्‍बाट स्वीकृत गरिएको उल्लेख छ । 

यस्तै प्रदेशमा जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, भण्डारण विक्री वितरण प्रयोग विसर्जन जस्ता कार्यलाई व्यवस्थित गर्न प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयकको मस्यौदा मन्त्रिपरिषद्बा‍ट स्वीकृत गरेको, प्रदेश औद्योगिक व्यवसाय (पहिलो संशोधन) विधेयक राय सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको, उद्योग वाणिज्य तथा आपूर्ति कार्यक्रम सञ्चालन मार्गदर्शन २०८१ जारी गरेको, वृद्धिमुखी उद्यमशीलता तथा रोजगार प्रवर्द्धन कार्यक्रम कार्यविधि २०८१ को मस्यौदा तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको, स्टार्टअपलाई ब्याज अनुदान सहयोग उपलब्ध गराउने कार्यविधि मस्यौदा तयार गरी स्वीकृतिको क्रममा रहेको पनि उनले बताए । 

यस्तै स्थानीय कच्चा पदार्थ, साधन सिप प्रयोग गरी उत्पादित भएका वस्तु तथा सेवाको गुणस्तर र विश्वसनीयता कायम राखी निर्यात प्रवर्द्धन तथा बजारीकरण गर्न प्रदेशका १० जिल्लामा लेबलिङ तथा प्याकेजिङ तालिम सञ्चालन गर्ने क्रममा रहेको र दुई जिल्लामा सम्पन्न गरेको, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूबाट पशु स्वास्थ्यमा सुधारको लागि १ लाखभन्दा बढी विभिन्न रोगविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको र पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अन्तर्गत प्रदेशका ४ जिल्लाका १३ वटा स्थानीय तहका कृषकहरूका फलफूल बगैँचा स्थापनाका लागि आवेदन माग गरी ती पालिकामा सामाजिक परिचालक र कृषक सहजकर्ताको समेत व्यवस्था गरेको मन्त्री हाङगामले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप