आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
बिदाइ

‘करोड क्लब’का सचिन परियारको नियति : बालकैमा भाइरल, बालकैमा गुमनाम

बिहीबार, १८ पुस २०८१, १९ : ००
बिहीबार, १८ पुस २०८१

काठमाडौँ ।

‘रातो रबर, कान्छी के छ खबर’

तीन वर्षअघि बजारमा आएको यो गीत नेपाली सांगीतिक आकाशमा गुन्जिइरहनेछ । यसका गायक १३ वर्षीय सचिन परियार भने भौतिक रूपमा अब गुन्जिने छैनन् । उनै गायक बिहीबार सदाका लागि यो दुनियाँबाट अस्ताएका छन् । जो नौ वर्षको उमेरमा भाइरल भए । लगत्तै गुमनाम हुनुको नियति पनि भोग्नुपर्‍यो ।

गीतमार्फत ‘कान्छी’हरूको खबर सोध्ने सचिन आफू भने ‘बेखबर’ भएर सदाका लागि बिदा भएका छन् । बाल–गायिका रविना बसेलसँग गाएको खबर सोध्ने गीत ३८ लाखभन्दा बढी भ्युजसहित चर्चित हुँदा गायक भने पछिल्लो समय गुमनाम प्रायः थिए । 

त्यसो त उनकै स्वरमा तीन वर्षअघि रेकर्ड भएको पहिलो गीत ‘ओठ खोलेर’ करोड क्लबमा दर्ज भएको छ । यो समाचार तयार पार्दासम्म यो गीतले युट्युबमा १ करोड ९० लाखभन्दा बढी भ्युज पाइसकेको छ ।

यिनै गायक परियार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा पाँच दिनदेखि उपचाररत थिए । निमोनियाबाट ग्रस्त उनको बिहीबार बिहान १० बजे निधन भएको हो । ‘सिभियर निमोनिया’का कारण ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको चिकित्सकले बताएका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ ।

प्रधानमन्त्री भन्छन्, ‘एक जना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धमा संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ ।’

 

यसरी उदाएका थिए सचिन

सचिन २०७७ सालमा सामाजिक सञ्जालमार्फत उदाएका थिए । त्यो समय कोरोनाका कारण स्कुल बन्द थियो । आकर्षक र झट्टै बोल्ने शैलीका उनी अर्घाखाँची पार्कमा खेल्न गएका थिए । उनको शैली मन पराएर कसैले छोटो कुराकानीसहित भिडियो टिकटकमा अपलोड गरिदियो । एक सञ्चारकर्मीले त्यो टिकटक देखेर उनीसँग कुराकानी गरी आफ्नो युट्युबमा राखे । त्यसपछि सचिनको अन्तर्वार्ता अरू दुई युट्युबमा अपलोड भयो । यसरी एक–दुई गर्दै उनी भाइरल भएका थिए । 

जसको पारिवारिक वातावरण खलबलिएको थियो । आमा दोस्रो विवाह गरेर गएकी थिइन् । बुबा तेजेन्द्र पनि दोस्रो विवाह गरी बसेका थिए । गुल्मी मुसिकोट नगरपालिका– ९ का सचिन जसकारण मावलीमा बसेर गल्कोट माविमा २ कक्षामा पढ्दै थिए ।

जब भाइरल भए तब कतिले उनलाई कमेडियन बनाए त कतिले गायक । उनको चर्चा देखेर बुबा तेजेन्द्रले काठमाडौँ लिएर आए । सुरुकै सञ्चारकर्मीले लोकगीतसम्बन्धी कार्यक्रम ‘इन्द्रेणी’मा पुर्‍याए । ‘इन्द्रेणी’का सञ्चालकले चन्दा उठाएर कक्षा १२ सम्म पढाइदिने भनी हिमाली इङ्लिस बोर्डिङमा भर्ना गराए । 

गीत गाउन, म्युजिक भिडियोमा अभिनय गर्न र मेला–महोत्सवमा जाँदा पढाइ छुट्यो । तब तेजेन्द्रले छोरालाई पैसाका लागि विभिन्न काममा प्रयोग गरे । सचिनलाई अगाडि राखेर थुप्रै युट्युबरसामु अन्तर्वार्ता दिए । चन्दा माग्दै चल्न थाले । बिरामी भनेर प्रयोग गरे ।

पहिलो गीत नै करोड क्लबमा 

सचिनको स्वरमा रेकर्ड भएको पहिलो गीत हो, ‘ओठ खोलेर’ । तीन वर्षअघि रेकर्ड भएको यो गीत १ करोड ९० लाखभन्दा बढीले युट्युबमा हेरेका छन् । त्यसपछि उनले ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’लगायत दर्जनभन्दा बढी गीत गाए ।

अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरे । हास्य शृंखला ‘मेरी बास्सै’का केही भागमा देखिए । पाँच दर्जनभन्दा बढी गीतको भिडियोमा अभिनय गरेका एक निकटस्थ बताउँछन् । उनले थुप्रै मेला–महोत्सवमा आफ्नो प्रस्तुतिसमेत दिएका थिए ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर लोकगीतलाई चाहिने उत्कृष्ट बाल प्रतिभाका रूपमा सचिनको स्मरण गर्छिन् । ‘उहाँ एकदमै प्रतिभाशाली कलाकार हुनुहुन्थ्यो । मेरो मन छुने गीतहरू गाउनुहुन्थ्यो । म उहाँका गीतहरू पनि सुन्थेँ’, उनी भन्छिन्, ‘बोली–वचन र उहाँका हर्कतहरू पनि कलाकारमा हुने खालकै थियो । हाँसेरै गाउनुहुन्थ्यो । हाँसेरै बोल्नुहुन्थ्यो ।’ 

सचिनमा शारीरिक अस्वस्थता जन्मैदेखि नै थियो । उनको कम्मरमुनिको भाग नचलेर २०८० मा अस्पताल भर्ना गरियो । सुरुमा हेटौँडामा उपचार गरी बुबा तेजेन्द्रले काठमाडौँ ल्याई टिचिङ अस्पतालमा भर्ना गराएका थिए । सचिनको उपचारार्थ रकम संकलन गरियो । केही खर्च गरी केही सचिनकै नाममा राखियो । बुबा तेजेन्द्रले त्यही पैसा लिएर छोरोको उपचार गराउँदै आएका थिए । त्यही बेला तेजेन्द्र र युट्युबरबिचको विवाद पनि सार्वजनिक भएको थियो । सचिन बिरामी परेपछि ओझेल पर्दै गएका थिए ।

सचिनको निधनप्रति कलाकर्मीले विभिन्न माध्यमबाट दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । गायक शिव परियारले सचिनको जस्तो नियति कसैले पनि भोग्नु नपरोस् भनेका छन् । शिवले फेसबुका लेखेका छन्, ‘फेरि पनि कुनै बालबालिकाले सचिनले भोगेको जस्तो नियति भोग्न नपरोस् । हार्दिक श्रद्धाञ्जली सचिन तिम्रो आत्माको स्वर्गमा बास होस्, यही प्रार्थना गर्दछु ।’

संगीतकार अर्जुन पोखरेलले उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘सानो बाबु तर ठुलो प्रतिभा भएका भविष्य सुन्दर थियो नै । परिवारको रेखदेखमा भएको कमजोरीले हो या आफ्नै कारणले यो संसारबाट बिदा भए, बिदा भइसकेपछि यी बाबुलाई श्रद्धाञ्जली दिनेहरू धेरै छौँ हामी, यो बाबुको अवस्था के थियो ? अब सोधखोज हुँदै छ । दुःख व्यक्त गरिँदै छ । तर, हामीले जिउँदै रहँदासम्म आफ्नो तर्फबाट सहयोग के कति गर्‍यौँ ? आफैँ मनन् गरौँ । प्रतिभा फुलाउने, बचाउने जिम्मा हाम्रो पनि हो र राज्यको पनि हो ।’ 

प्रधानमन्त्रीले यसरी सम्झिए सचिन

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिनको निधन भएको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘एक जना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धमा संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप