एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !

काठमाठौँ । सत्ताको नेतृत्व गरिराखेको दल नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट निष्कासन गरेको विषयमा नेकपा माओवादी केन्द्रले टिप्पणी गरेको छ । माओवादीले रावलमाथिको कारबाही र अन्य दुई नेतामाथिको ६ महिने निलम्बनलाई ‘एमालेको तानाशाही हर्कत’को रूपमा टिप्पणी गरेको हो ।
बिहीबार स्थायी समिति बैठक सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले एमालेले बोली बन्द गरेर तानाशाही शासन गर्न लागेको आरोप लगाए । कांग्रेस र एमालेको गठबन्धन सरकारबाट लोकतन्त्र करिबकरिब समाप्त भएको समेत उनले जिकिर गरे ।
‘लोकतन्त्र करिबकरिब समाप्त भयो । एमालेमा छलफल बहस हुन्छ भनेर मानिसले बुझेका थिए । व्यापारीबाट दान दिएर पार्टी कार्यालय बनाउने विषयमा बोलेबापत भीम रावललाई पार्टीबाट निष्कासन नै गरिसक्यो । बिन्दा पाण्डे र उषा किरण तिम्सेनालाई निलम्बन गरियो’, उनले भने, ‘वास्तवमा मुख थुनेर शासन गरिँदैछ । यो हदसम्मको निरंकुशता र यो हदसम्मको तानाशाहीकरण हर्कतले यो सरकार त जान्छ जान्छ । तर देश भयानक संकटको भुमरीमा पर्दैछ ।’
सापकोटाले ओली सरकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याबारे बेखबर देखिएको आरोप लगाए । एकप्रकारले सरकार पूर्ण असफल भइसकेको उनको टिप्पणी थियो ।
‘सरकार उल्टो दिशामा पुगिसक्यो । भ्रष्टाचारलाई संरक्षण गर्ने, माफिया र बिचौलियालाई संरक्षण गर्ने काम गरिरहेको छ’, उनले भने । उनले प्रधानमन्त्रीले पहिलोपटक त्रिभुवन विश्वविद्यालयको सिनेटको बैठक सिंहदरबारमा गरेकोप्रति पनि आपत्ति जनाए । ‘इतिहासका कहिल्यै त्यस्तो भएको थिएन । सिनेटको बैठक प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालयमै गर्नुपर्थ्यो’, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ वर्षपछि बारमा फर्किएका मिश्र : निःशुल्क कानुनी परामर्शदेखि अन्तर्राष्ट्रिय मञ्चको प्रतिनिधित्वसम्म
-
ट्र्याक्टरको तेल ट्याङ्कीभित्र ब्राउन सुगर, दुई भारतीय नागरिक पक्राउ
-
बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला
-
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?
-
घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव