आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

जुत्ता–चप्पलमा आत्मनिर्भर हुने थियौँ !

बिहीबार, १८ पुस २०८१, १५ : ४५
बिहीबार, १८ पुस २०८१

हाम्रा स्वदेशी उद्योगमा छालाका जुत्ता, चप्पल तथा फुटवेयर जन्य उद्योगहरू एवं छालाका सामान बनाउने उद्योगहरू अग्रपंक्तिमा छन् । 

२०७४ मा गरिएको एक अध्ययनले हामीकहाँ साना–ठुला गरी देशभर १५ सयको हाराहारीमा जुत्ता–चप्पल उद्योग रहेको देखाएको थियो । जसमध्ये ठुला तथा मझौला २२९, साना तथा परम्परागत शिल्पीहरूमा आधारित एक हजार ७२ वटा र हस्तकलामा आधारित दुई सय रहेका छन् । 

स्वदेशी जुत्ता–चप्पलले बजारमा ६० प्रतिशतभन्दा बढी स्थान ओगट्न सफल देखिन्छन् । पछिल्ला वर्ष नेपाली फुटवेयर एवं छालाजन्य वस्तु खाडी मुलुक, युरोपियन मुलुक एवं अमेरिका लगायत तेस्रो मुलुकमा समेत निर्यात भइरहेको अवस्था छ ।

२०७४ को अनुसन्धानका बखत उत्पादनको अवस्था वार्षिक चार करोड ३९ लाख जोर थियो भने हाल बढेर पाँच करोड ६५ लाख जोर पुगेको छ । हाल यस क्षेत्रका उद्योगमा करिब ५५ हजार श्रमिक कार्यरत रहेको अनुमान गरिएको छ ।

नेपालीले प्रतिव्यक्ति सरदर तीन जोर विभिन्न प्रकारका जुत्ता–चप्पल प्रयोग गर्ने अध्ययनले देखाएको छ । यस आधारमा सामान्य औसत अनुमान गर्न सकिन्छ— हाम्रो तीन करोड जनसंख्यालाई आधार मान्दा नौ करोड जोर हाराहारी जुत्ता–चप्पल आन्तरिक बजारमा माग छ । 

नेपाली उद्योगहरूको वार्षिक उत्पादन क्षमता १६ करोड जोरभन्दा माथि छ । उत्पादन क्षमतालाई विश्लेषण गर्दा करिब पाँच करोड जोर भन्दामाथि निर्यात गर्न सक्ने क्षमतामा देखिन्छ । 

यस्तो सम्भावना हुँदाहुँदै पनि निम्न समस्या यस क्षेत्रमा देखापरेका छन् ।

१) चोरी तस्करीबाट आयात : बुटवल, भैरहवा, कृष्णनगर, नेपालगन्ज, वीरगन्ज, जनकपुर तथा मधेस प्रदेशका सिमानाका क्षेत्रहरू; महेन्द्रनगर, धनगढी तथा वरपरका क्षेत्र, विराटनगर, झापा तथा आसपासका क्षेत्रबाट खुला सिमानाको दुरुपयोग गरी व्यापक मात्रामा जुत्ता–चप्पल चोरी तस्करी भई आउने गरेको पाइन्छ । 

२) तोरी तस्करीबाट पैठारी : वार्षिक करिब दुई करोड जोर जुत्ता–चप्पल चोरी पैठारी भइरहेको अनुमान छ । यसबाट करोडौँ राजस्व गुमेको छ । 

३) चोरी तस्करीमा मिलेमतो : सवारी–साधनकै प्रयोग गरेर ठुलो मात्रामा चोरी–पैठारी गरी ल्याउने समूह घट्नुको सट्टा बढ्दै आएको देखिन्छ । यस्ता समूहमा सरोकारवाला निकायका व्यक्तिको समेत मिलेमतो रहने गरेको छ । 

व्यापारीले भन्सार महसुल, कर छली गर्ने मनसायले बिल मिलाई वास्तविक मूल्यभन्दा कम मूल्य घोषणा गरी लाग्नेभन्दा कम राजस्व तिरेर सामान आयात गर्ने गरेको पाइन्छ । 
५) रोजगारीमा असर : जुत्ता–चप्पलमा आत्मनिर्भर रही निर्यात समेत गर्न सक्ने क्षमतामा रहेका नेपालका उद्योगलाई सरकारको सकारात्मक सहयोग र संरक्षण छैन । विभिन्न कारण उद्योग बन्द हुने अवस्थामा पुग्दा कतिपयको रोजगारी खोसिएको छ । 

नेपालीले प्रतिव्यक्ति सरदर तीन जोर विभिन्न प्रकारका जुत्ता–चप्पल प्रयोग गर्ने अध्ययनले देखाएको छ । यस आधारमा सामान्य औसत अनुमान गर्न सकिन्छ— हाम्रो तीन करोड जनसंख्यालाई आधार मान्दा नौ करोड जोर हाराहारी जुत्ता–चप्पल आन्तरिक बजारमा माग छ ।
  • व्यापार घाटा

व्यापारीले भन्सार महसुल र कर छली गर्ने मनसायले बिल मिलाई वास्तविक मूल्य भन्दा कम मूल्य घोषणा गरी लाग्नेभन्दा कम राजस्व तिरेर सामान आयात गरिरहेका छन् । सरोकारवाला निकायका व्यक्तिको समेत मिलेमतो हुँदा चोरी–पैठारी बढेको छ । तसर्थ जुत्ता क्षेत्रमा नेपालले आयात निर्यातमा व्यापार घाटा बेहोर्नुपरेको हो । 
विगतको तीन आर्थिक वर्षमा रहेको व्यापार घाटा निम्न अनुसार छ । pdf1111

 

  • सम्भावना 

नेपालमा सक्रिय रूपमा काम गर्न सक्ने उमेर समूह (१५–५९ वर्ष) को जनसंख्या ६१.५ प्रतिशत छ । कुल जनसंख्याको करिब ३० प्रतिशत अर्ध–बेरोजगार जनशक्ति र ११.४ प्रतिशत पूर्ण–बेरोजगार जनशक्ति रहेको अध्ययनले देखाएका छन् । 

अर्कोतिर वार्षिक पाँच लाखभन्दा बढी व्यक्ति श्रम बजारमा प्रवेश गर्दै छन् । देशभित्र पर्याप्त रोजगारीका अवसर नभएकाले दैनिक करिब हजार व्यक्ति रोजगारीका लागि बिदेसिनुपरिरहेको स्थिति छ । 

नेपाली जुत्ता–चप्पल तथा छालाजन्य उद्योगको विकास एवं प्रवद्र्धन गर्न सके थप करिब ५० हजारदेखि ७५ हजारसम्म रोजगारी सिर्जना हुन सक्नेछ । आन्तरिक राजस्वमा तीन गुणा वृद्धि हुन सक्नेछ । भन्सारमा उचित मूल्याङ्कन भएमा हाल प्राप्त भइरहेको राजस्वमा ५० प्रतिशत वृद्धि हुन सक्नेछ । जुत्ता–चप्पलमा देश आत्मनिर्भर भई निर्यातमा थप वृद्धि हुन सक्नेछ ।

नेपालबाट वार्षिक निर्यात हुने अर्ध प्रशोधित छालाको निर्यात रोकी यसलाई नेपालमै पूर्ण प्रशोधन गर्ने हो भने त्यसबाट ५० लाख जोर छालाका जुत्ता उत्पादन गर्न सकिन्छ । 
अर्कातिर देशभर खसी, बाख्रा र भेडाको संख्या एक करोड ५५ लाख जति देखिन्छ । वार्षिक आयात पनि प्रशस्त हुन्छ । यस्ता बाख्रा र भेडाबाट छाला प्रशस्तै उत्पादन हुन्छ र त्यसबाट ६ करोड भन्दा बढी जोर जुत्ता उत्पादन गर्न सकिन्छ । 

नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, शिक्षक, बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी, एनजीओ–आईएनजीओमा कार्यरत कर्मचारीलाई अनिवार्य रूपमा नेपालमै उत्पादित स्वदेशी जुत्ताको प्रयोग अनिवार्य गर्न सकिन्छ । नेपालको गुणस्तर विभागबाट निर्धारित गुणस्तर मापदण्डलाई आधार बनाएर उपरोक्त सरकारी निकायमा खरिद गर्ने व्यवस्था मिलाइनुपर्छ । 

भन्सार तथा सुरक्षा निकायलाई सीमा क्षेत्रमा व्यापक रूपमा परिचालन गरी खुला सिमानाबाट हुने सबै तस्करी नियन्त्रण गरेको खण्डमा र सरोकारवाला निकायले जुत्ता–चप्पल बिक्री–वितरण हुने डिलर तथा होलसेल जुनसुकै पसलमा अनुगमन गरी हेर्ने हो भने चोरी–तस्करीबाट आएका सामान सजिलै फेला पार्न सकिन्छ । यसमा इच्छाशक्ति र सक्रियता आवश्यक देखिन्छ । 

जुत्ता–चप्पल उद्योगको प्रवद्र्धनका लागि सरकारले मध्यकालीन र दीर्घकालीन रणनीति लिन अत्यावश्यक छ । 

मध्यकालीन रणनीतिका रुपमा आगामी तीन वर्षभित्र जुत्ता–चप्पलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न सक्ने गरी योजना बनाउन सकिन्छ । खासगरी यसमा निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छ । 

यस्तै दीर्घकालीन रणनीतिका रुपमा नेपालमा गुणस्तरीय जुत्ता–चप्पल उत्पादन गरी विदेशमा निर्यात बढाउनका लागि कूटनीतिक पहल गर्न सकिन्छ । विदेशी लगानी, सीप र प्रविधि भित्र्याउने प्रक्रियालाई सरलीकरण गर्न सकिन्छ । 

आयातमा रोक लगाउन सके जुत्ता–चप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन समस्या छैन । देशमा औद्योगिक वातावरण नभएको बताइरहँदा पनि जुत्ता–चप्पल उद्योग भने आत्मनिर्भरता उन्मुख देखिएका छन् । निर्यात समेत हुन थालेको यस उद्योगका प्रशस्त चुनौती पनि छन्, जसलाई सम्बोधन नगरे यसबाट अपेक्षित लाभ लिन नसकिने मात्र होइन, यसको भविष्य समेत नराम्रो हुन सक्छ । नयाँ उद्योगका लागि सरकारले जति प्राथमिकता दिनुपर्छ, त्योभन्दा बढी स्थापित उद्योगलाई प्रोत्साहन दिन आवश्यक छ । 

सरकारले उद्योगलाई प्रतिस्पर्धी बनाउन कर छुटसँगै कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न प्रोत्साहन गर्ने नीति लिनुपर्छ । 

जनतालाई नै सिर्जनशील, कर्मशील र उद्यमशील नबनाएसम्म विद्यमान बेरोजगारीको समस्या समाधान हुने सम्भावना छैन  । अदक्ष श्रमिकलाई अर्धदक्ष, अर्धदक्ष श्रमिकलाई दक्ष र दक्ष श्रमिकलाई उद्यमशील बनाउन सरकारले उत्प्रेरकको भूमिका निर्वाह गर्नुपर्छ  । 

(लेखक कानुनका विद्यार्थी हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरोज भट्टराई
सरोज भट्टराई
लेखकबाट थप