आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
गौशाला घटना

जापान जाने तयारीमा थिइन् मृतक सुस्मिता

बिहीबार, १८ पुस २०८१, १४ : ४३
बिहीबार, १८ पुस २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशालास्थित होटलमा मृत फेला परेकी सुस्मिता खड्का कलेजसँगै जापनिज भाषा पनि पढिरहेकी थिइन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी बुधबार होटल बागमतीको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।

सुस्मिताको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनीसँगै होटलमा गएका युवक फरार छन् । जापान जाने तयारी स्वरूप उनले भाषाकक्षा पढिरहेकी थिइन् । पुस १६ मा मध्यान्ह उनीसँगै होटलमा गएका युवक फरार छन् ।

युवक जापानबाट मंसिर ३० मा नेपालमा आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ३ वर्षदेखि जापानमा बसेका ती युवक छुट्टीमा काठमाडौँ आएका थिए । होटलमा सुस्मिताको हत्या गरिएको अनुसन्धान अधिकृतहरूले आशंका गरेका छन् । युवक होटलको ढोकामा ताला लगाएर फरार भएको भेटिएको छ । एकजना अधिकृत भन्छन्, ‘बाहिरबाट ढोक लक गरेर चाबी लिएर आरोपी भागेको देखिन्छ ।’

सुस्मिताको शरीरमा चोटपटक देखिएको छैन । पोष्टमार्टम पछि उनको मृत्युको कारण खुल्छ । ती युवक बिहीबार नै जापान फर्किने तयारीमा थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । सुस्मिताको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागि जाहेरी दिएका छन् । प्रहरी स्रोतका अनुसार सुस्मिता ती युवकसँग प्रेम सम्बन्धमा थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप