वामदेवले मागे वरिष्ठ नेतासहित संगठन विभाग, अनकनाए माधव
काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान समाहित गर्न लगातार छलफल र संवाद भइरहेका छन् । पुस ५ पछि मात्र दुई पक्षका नेताहरूबिच तीन पटक छलफल भइसकेको छ ।
पुस ५, १५ र १७ गते गौतम निवास भैँसेपाटी र एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा एकता प्रक्रियाका लागि भएका छलफल सकारात्मक भएको दुवै तर्फका नेताहरूको दाबी छ । एकीकृत समाजवादीका नेताहरूसँग गौतमले बुधबार गरेको छलफलपछि प्रतिक्रिया दिँदै एकताका लागि अध्यक्ष नेपाल र आफू एकजुट भएको प्रतिकृया मात्रै दिएनन् निकै उत्साहित भएको पनि बताए ।
‘माधवजी र म एकजुट हुने भइसकियो । एकताका लागि दुवै पार्टीबिच समझदारी गरेर जाने सहमति भएको छ,’ गौतमले भने, ‘दुवैतिरको गृहकार्य सकेर एक महिना भित्रमा एकीकरण प्रक्रिया सकिन्छ ।’
एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि गौतमसँगको छलफल सकारात्मक रहेको बताएका छन् । उनले राजनीतिक, सैद्धान्तिक पक्षमा छलफल भएको भन्दै ती विषयमा दुवै पक्षबिच थप छलफल गरेर निष्कर्षमा पुगिने बताए ।
‘केही दिनभित्र एकताको अन्तिम आकार दिने समझदारी भएको छ । सङ्गठनात्मकभन्दा पनि नीतिगत, राजनीतिक र सैद्धान्तिक छलफल भयो,’ रातोपाटीसँग खतिवडाले भने, ‘वामदेवजीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचित प्रणालीमा जानुपर्छ भन्ने प्रस्ताव राख्नुभएको छ । त्यो प्रस्तावलाई सकारात्मक रूपमा लिँदै हाम्रो अध्यक्षले थप छलफल गर्दै जान सकिने बताउनुभएको छ ।’
माधव नेपालसहित एकीकृत समाजवादीका नेताहरूसँग नेता गौतमले के के कुरा गरे ? अनि एकता प्रक्रियाको मोडल के हुन्छ भनेर बिहीबार रातोपाटीले गौतमलाई टेलिफोनमा सोधेको छ । रातोपाटीको प्रश्नमा गौतमले आफूलाई कार्यकारीसहित वरिष्ठ नेताको जिम्मेवारी दिन प्रस्ताव गरेको बताए ।
तर अहिलेसम्म सैद्धान्तिक वैचारिक साथै नेता व्यवस्थापनमा सहमति जुट्न बाँकी नै रहेको उनको भनाई छ । ‘मैले वरिष्ठ नेता, सम्मानित नेता भनेर मात्र हुँदैन, कार्यक्षेत्र चाहिन्छ भनेँ । मेरा साथीहरूको व्यवस्थापन हुनुपर्छ । यो भएपछि मात्र एकता टुंगिन्छ भनेको छु,’ उनले भने, ‘कार्यकारीसहितको वरिष्ठ नेता हुनुपर्छ भएन भने एकता हुँदैन ।’ प्रस्तुत छ गौतमसँगको कुराकानी :
- बुधबार माधव नेपालसँगको छलफलपछि तपाईं उत्साहित हुँदै माधवजी र म एक भइसक्यौँ, अब एकता भइहाल्छ भनेर प्रतिक्रिया दिनुभयो । कसरी गर्दै हुनुहुन्छ एकता ?
पार्टी एकता भइहाल्छ भनेको होइन, छलफल सकारात्मक भयो भनेको हुँ । म अध्यक्ष रहेको नेकपा एकता राष्ट्रिय अभियान छ । अब त्यसको केन्द्रीय कमिटी बैठक बस्छ । त्यो बैठकमा दुई पार्टीका नेताहरूबिच भएका छलफलका विषयहरूका बारेमा पुनः छलफल गर्छौ भनेको हुँ । त्यस कारण हामीसँग भएका नेता कार्यकर्ताहरूको व्यवस्थापनको काम बाँकी नै छ भन्ने हो ।
केन्द्रीय कमिटीको बैठक बोलाउँछौँ र त्यो बैठकमा यो विषय तपाईंले राख्नुस् भनेर मलाई भन्नुभएको छ । त्यसो गर्दा निरन्तर छलफल गरेर निर्णय गरेर पारित नहुँदासम्म राखिरहन पाउनुहुन्छ भन्नुभएको छ ।
- तपाईं अध्यक्ष रहेको अभियानको केन्द्रीय समिति बैठक कहिले राख्ने र निर्णय गर्ने हुनुभयो त ?
आज (बिहीबार) नै सचिवालय बैठक बस्छौँ । सचिवालयले केन्द्रीय कमिटी बैठकबारे निर्णय गर्छ । जतिसक्दो छिटो केन्द्रीय कमिटी बैठक बोलाउँछौँ ।
- माधव नेपालसँग भएका छलफलबारे आफ्नो केन्द्रीय समिति बैठकमा छलफल गर्ने भन्नुभयो । खासमा एकताका लागि पहिलो आधार मानिने राजनीतिक, सैद्धान्तिक र वैचारिक विषयमा के–के कुरा भयो ?
राजनीतिक सैद्धान्तिक विषयहरूमा छलफल हुँदा मैले एउटा विषय अगाडि सारेँ, त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली वीथ संसद् । संसद्समेत भएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली पार्टीको नीति बनाउनुपर्छ भनेँ । संसद्ले कार्यकारी कार्यकारी चुन्न नपाउने । तर नीति, कार्यक्रम, कानुन बनाउने र राष्ट्रपतिमाथि महाअभियोग लगाउने हैसियत भएको प्रतिनिधि सभा र राष्ट्रिय सभा । यसका साथै संघीयतालाई परिमार्जन गरेर विकेन्द्रीकरणका आधारमा सबैलाई अधिकार दिने । अहिले जति अधिकार छ, त्यो सबै दिने तर विकेन्द्रीकरण गर्ने ।
- तपाईंले राखेका यी प्रस्तावमा एकीकृत समाजवादीका नेताहरूको जवाफ के आयो त ?
मेरो यो प्रस्तावमा कसैले समर्थन गर्नुभयो । कसैले समर्थन गर्नुभएन । तर यो प्रस्ताव राष्ट्रव्यापी छलफलमा लैजान दिने भन्नुभएको छ ।
केन्द्रीय कमिटीको बैठक बोलाउँछौँ र त्यो बैठकमा यो विषय तपाईंले राख्नुस् भनेर मलाई भन्नुभएको छ । त्यसो गर्दा निरन्तर छलफल गरेर निर्णय गरेर पारित नहुँदासम्म राखिरहन पाउनुहुन्छ भन्नुभएको छ । तर जबसम्म त्यो प्रस्ताव पार्टीले कार्यान्वयनका लागि स्विकार्दैन त्यस बेलासम्म हाम्रो महाधिवेशनले पारित गरेका दस्ताबेजहरू बोकेर हिँड्नुपर्छ भन्नुभएको छ । मैले त्यसमा ‘हुन्छ त्यो त गर्ने नै हो’ भनेको छु ।
- सबै केन्द्रीय सदस्य पार्टीको होलटाइमर हुनुपर्छ भन्ने अर्को प्रस्ताव पनि तपाईंले नै राख्नुभएछ नि ?
कुनै पनि व्यक्ति सक्रिय हुन एउटा उसको समर्पण चाहिन्छ, अर्को के का लागि समर्पण हुने भन्ने विचार चाहिन्छ । विचार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित अरू धेरै विषयहरू छन् । समर्पण भनेको होलटाइमर । केन्द्रीय समितिका सबै सदस्य होलटाइमर हुने भन्ने नै हो ।
- यो प्रस्तावमा कस्तो जवाफ पाउनुभयो ?
माधवजीले हाम्रा नेता कार्यकर्ताहरूलाई सक्रिय बनाउन नै समस्या छ भन्नुभयो । मैले समाधानका रूपमा होलटाइमर बनाउनुपर्छ भनेर सुझाव दिएँ । मेरो प्रस्ताव लागु गर्नुभयो भने पार्टी र नेता सक्रिय हुन्छन् अनि २०८४ को निर्वाचनमा बहुमतसहितको शक्ति लिएर संसद्मा पुग्छौँ भनेको छु ।
मलाई वरिष्ठ नेताको पद दिने कुरा गर्नुभएको छ । त्यो वरिष्ठ नेता भन्ने पद अरू तीन जनाले पाइसक्नुभएको रहेछ । म पनि थपिएपछि चार जना हुन्छ । यो के भिन्नता हुन्छ भनेर भन्दा अरू सबै तल्लो तहमा हुनुहुन्छ, तपाईं तेस्रो वरीयतामा पर्नुहुन्छ भनेर भन्नुभएको छ ।
- तपाईंके प्रस्तावमा माधव नेपालले सैद्धान्तिक रूपमा सहमति जनाउनुभयो भनेर बुझ्दा भयो त ?
होइन । उहाँले मेरा दुवै प्रस्तावमा सहमति जनाइसक्नुभएको छैन । उहाँले केन्द्रीय कमिटीलाई छाडिदिनुभएको छ ।
तपाईं आउनुस्, केन्द्रीय कमिटीमा प्रस्ताव राख्नुस्, राष्ट्रव्यापी रूपमा यो मुद्दा लिएर जनतासँग पनि जानुस्, कार्यकर्तालाई सहमत गराउनुस् यो सबै गर्न तपाईं पाउनुहुन्छ भन्नुभएको छ । केन्द्रीय कमिटीमा छलफलको वातावरण म बनाइदिन्छु भन्नुभएको छ ।
- विचार मिलेपछि नेता व्यवस्थापनको कुरा होला । तपाईंसहितका नेताको व्यवस्थापन कसरी हुने भयो त ?
नेता व्यवस्थापनका लागि दुवै पक्षका कार्यदल बसेर मिलाउने कुरा भएको छ । कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छलफलमै गएपछि मात्र थाहा हुन्छ । मलाई वरिष्ठ नेताको पद दिने कुरा गर्नुभएको छ । त्यो वरिष्ठ नेता भन्ने पद अरू तीन जनाले पाइसक्नुभएको रहेछ । म पनि थपिएपछि चार जना हुन्छ । यो के भिन्नता हुन्छ भनेर भन्दा अरू सबै तल्लो तहमा हुनुहुन्छ, तपाईं तेस्रो वरीयतामा पर्नुहुन्छ भनेर भन्नुभएको छ ।
- कार्यक्षेत्रका बारेमा पनि छलफल भयो कि ?
मैले मेरो कार्यक्षेत्र के हुन्छ ? यदि कार्यक्षेत्र हुँदैन भने म तपाईंको पार्टीमा आउन सक्दिनँ भनेको छु । उहाँले तपाईंले रोज्दा चाहिँ के रोज्नुहुन्छ भनेर सोध्नुभयो । मैले रोज्दा संगठन विभाग रोज्छु भनेको छु । अहिले त संगठन विभाग माधवजीको विश्वासपात्रलाई जिम्मा दिएको रहेछ । मैले वरिष्ठ नेता, सम्मानित नेता भनेर मात्र हुँदैन, कार्यक्षेत्र चाहिन्छ भनेको छु । मेरा साथीहरूको व्यवस्थापन हुनुपर्छ, यो भएपछि मात्र टुंगिन्छ भनेको छु ।
- भनेपछि कार्यकारीसहितको वरिष्ठ नेताको अपेक्षा भएमात्र एकीकरण हुने देखियो होइन ?
अपेक्षा होइन, हुनैपर्छ । भएन भने एकता हुँदैन ।
- यदि तपाईंको प्रस्तावमा उहाँहरू सहमत भए कहिलेसम्म एकीकरण हुन्छ त ?
दुवैतिर गृहकार्य गर्दा एक महिना जति त लाग्छ । हाम्रो बैठक बस्नुपर्छ, सबैलाई जम्मा गर्नुपर्छ । पार्टी एकीकृत हुँदा हाम्रा तर्फबाट दुई हजार, उताबाट पाँच हजार जति जम्मा गरेर घोषणा गरे मात्र गति पैदा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले
-
१२ बजे, १२ समाचार : संगठन निर्माणलाई तीब्रता दिने रास्वपाको निर्णयदेखि मधेस केन्द्रित दलबीच एकताको चर्चासम्म
-
सिन्धुपाल्चोकमा कांग्रेसले दियो प्रशिक्षण