मोरङ र सुनसरी गाँजा तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’

विराटनगर । भारततर्फ तस्करी हुन लागेको १५५ केजी गाँजा लोड भएको स्कारपियो गाडी र दुई जना कारोबारीलाई मोरङ प्रहरीले मंगलबार पक्राउ गर्यो ।
गाँजासहित पक्राउ पर्नेहरूमा सुनसरी, धरान उपमहानगरपालिका– १२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटा सहिदभूमि गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ का सुरज राई छन् ।
राहुल चालक हुन् भने गाँजा ल्याउने सुरज स्कारपियोमा सवार थिए ।
यसअघि सशस्त्र प्रहरी बल सुनसरीबाट खटिएको टोलीले भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रबाट १४८ केजी गाँजा बरामद गरेको थियो ।
तस्करी धन्दामा लागेका गिरोहले गाँजाको गन्ध आउन नदिन सडेको तरकारी मिनी ट्रकमा हालेको र मुनिबाट गाँजा राखेको पाइएको प्रहरीले जनाएको छ । धनकुटाबाट ल्याएर प्रदेश १ –०२००१ ख ८६१४ नम्बरको मिनी ट्रकमा भारततर्फ लाने तयारी अवस्थामा राखेको ६ बोरा गाँजा बरामद गरिएको थियो ।
गाँजासहित धनकुटा जिल्ला सहिदभूमि गाउँपालिका–४ बस्ने वर्ष ३६ का हेमप्रसाद राई, सहिदभूमि गाउँपालिका–२ बस्ने ३६ का हिकमत राई र सोही स्थान बस्ने वर्ष ३५ का आशिष राई पक्राउ परेका थिए ।
केही दिन अगाडि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ मा एउटा पिकअप भ्यानभित्र तस्करी हुन लागेको १२० किलो गाजा बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को१च ५३१८ नम्बरको पिकअपबाट १२० किलो गाँजा र ५५४ किलो अदुवा फेला पारेको थियो ।
उनीहरूले सीमावर्ती क्षेत्रसम्म पुर्याउने र त्यसपछि भरियामार्फत भारत तस्करी गर्ने क्रममा प्रहरीले गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।
‘हामीसँग गाँजा भारत तस्करी हुने गरेको गोप्य सूचना आएको थियो । त्यसपछि हामीले चेकजाँचलाई कडाइ गर्यौँ । मंगलबार राति ११ः१५ बजेको समयमा भारत तस्करी हुन लागेको गाँजा बरामद गर्न सफल भयौँ,’ डीएसपी जोशीले भने ।
भारततिर गाँजा तस्करीका लागि मोरङ र सुनसरीको सीमावर्ती क्षेत्र ट्रान्जिट प्वाइन्ट बन्ने गरेको यो प्रकरणले स्पष्ट पारेको छ । बरामद गाँजा धनकुटाबाट ल्याएको बताइएको छ । यो गाँजा भारत पुर्याउँदा १५ देखि २० हजार रुपैयाँ प्रतिकेजी बिक्री हुने गरेको छ । बरामद गरेको गाँजा भारत पुर्याउँदा गिरोहलाई २० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने दाबी प्रहरीको छ ।
शृङ्खलाबद्ध रूपमा सुनसरी र मोरङको भारतसँग सीमा जोडिएको नाकाबाट तस्करी हुन लागेको गाँजा प्रहरीले बरामद गरेको घटनाले पनि यी दुई जिल्ला गाँजा तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको प्रस्ट हुन्छ । धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लामा उत्पादन हुने गाँजा पछिल्लो समय तस्करी गराउने गिरोह सक्रिय छन् ।
खुला सीमाका कारण लागूऔषध र गाँजा कारोबारले मोरङ र सुनसरी प्रहरीलाई सुरक्षा चुनौती थपिँदै गएको छ । भारतसँगको खुला सीमाको फाइदा उठाएर लागुऔषध र गाँजाको कारोबार बढ्दै गएकाले यस्ता कारोबार रोक्न प्रहरीलाई चुनौती थपिएको हो ।
भारततिर तस्करी हुने गरेको गोप्य सूचना पाएसँगै ठुलो परिणाममा गाँजा नियन्त्रण लिन सफल भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशी बताउँछन् । ‘सूचना पाएसँगै हामीले विभिन्न तवरबाट त्यस क्षेत्रमा गस्ती बढाउँदै गएका थियौँ । त्यसैको परिणामस्वरुप ठुलो परिमाणमा गाँजा बरामद गरेका छौँ,’ उनले भने ।
गाँजा तस्करको सञ्जाल बढ्दै गएको र उनीहरूले बेलाबखत रुट परिवर्तन गरिरहने भएकाले मातहतका आफ्ना युनिटमा नियन्त्रणका लागि योजनासहित निर्देशन दिइएको जोशीले बताए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी राजन अधिकारी तस्करीको मूल जरोमा पुग्न कठिन रहेको बताउँछन् । केही जिल्लामा भारतीय तस्कर आएर खेत नै ठेक्कामा लिइ गाँजा लगाउने गरेको सूचना पाएको उनले खुलाए ।
‘रोपेको, मलजल गरेको र कुरेबापत केही पैसा पाए गरिब किसान मक्ख,’ उनले भने, ‘अनि नेपालीलाई नै भरिया बनाएर सीमा कटाउने गरेको अहिलेसम्मको अनुसन्धानबाट खुल्छ ।’
खुला सीमाका कारण गाँजा रोक्न चुनौती रहेको उनको भनाइ छ । ‘यसको बजार धेरै ठुलो छ, रोक्नु हाम्रा लागि निकै चुनौती छ,’ उनले भने ।
गाँजालाई प्रशोधन गरी चरेस बनाइन्छ । औषधिमा समेत यसको प्रयोग हुन्छ । कानुनले वर्जित गरेको लागुऔषधको धन्दामा संलग्न रहेकाहरूले विभिन्न उपाय लगाएर ओसारपसार गर्न थालेको पाइएको डीआइजी अधिकारीले बताए ।
बारीमा किसानले १ किलो गाँजाको २५ सयदेखि चार हजार रुपैयाँसम्म पाउँछन् । विराटनगर आइपुग्दा २० हजार रुपैयाँ प्रतिकिलो मूल्य पुग्छ भने भारत पुग्दा २५ देखि ३० हजारभन्दा बढीमा कारोबार हुने भएकाले गाँजाको तस्करी हुने गरेको सुरक्षा निकायका अधिकारी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे
-
ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म