देशभर कति बन्दै छन् सुरुङमार्ग ?
काठमाडौँ । सडक पूर्वाधारअन्तर्गत सुरुङमार्ग कति बनेका छन् ? कति बन्ने अवस्थामा छन् ? यो चासोको विषय हो । तर, सडक विभागसँग यसको यकिन तथ्यांक छैन । के कति बन्दै छन् र बन्ने तयारीमा छन् भन्ने विषयमा आफूहरू जानकार नभएको बताउँछन्, विभागका सूचना अधिकारी अमितकुमार शर्मा ।
उनका अनुसार दुई आयोजना भने निर्माणाधीन छन् । जसमा दुई ठूला नागढुंगा र सिद्धबाबा सुरुङमार्ग छन् । ‘अरू के कति बन्ने क्रममा छन् ? यसको तथ्यांक हामीसँग छैन,’ उनी भन्छन्, ‘अध्ययन भइरहेकाको पनि तथ्यांक छैन ।’
विभागअन्तर्गत नै रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर भने १५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिरहेको सुनाउँछन् । केन्द्रले सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्दै आएको छ ।
‘केन्द्रबाट अहिले १५ वटा अध्ययनका क्रममा छन्,’ इन्जिनियर अधिकारी भन्छन्, ‘विशेषगरी हामीले अध्ययन मात्रै गर्छौं । ती अध्ययन भइरहेका सुरुङमार्गमध्ये केहीको अध्ययन सकिएको छ । केही जारी छ ।’
सकियो १२ सुरुङमार्गको सम्भाव्यता अध्ययन
इन्जिनियर अधिकारीका अनुसार केन्द्रमार्फत अध्ययन भइरहेकामध्ये १२ वटाको सम्भाव्यता अध्ययन सम्पन्न भएका छन् । विस्तृत अध्ययन भने हुनै बाँकी छ ।
यस्ता योजनामध्ये एक सुनसरीको धरान–लेउती सुरुङमार्ग छ । यसको लम्बाइ ३.८७ किलोमिटर रहनेछ । अर्को कैलाली र डोटीमा पर्ने खुटिया–बीपी नगर–दिपायल सुरुङमार्ग छ । यसको लम्बाइ ७.०१ किलोमिटर रहनेछ । यसैगरी गोदावरीकुण्ड–काभ्रे मनेदोभान सुरुङमार्ग ललितपुर, काभ्रेपलाञ्चोकमा सम्भाव्यता अध्ययन सकिएको छ । यसको लम्बाइ ३.६५ किलोमिटर रहनेछ ।
सम्भाव्यता अध्ययन सकिएको अर्को बागलुङको व्युं–नरेठाटी (७.४४ किलोमिटर) सुरुङमार्ग छ । यस्तै पाल्पाको प्रबास–जोर्ते सडक सुरुङमार्ग (४ किलोमिटर) पनि छ । मकवानपुरको कुलेखानी–भीमफेदी (३.१५६ किलोमिटर), खुर्कोट–सिन्धुली (४.९० किलोमिटर), ताथली–रविओपी (४.५८ किलोमिटर), बबई–छिन्चु (५ किलोमिटर), सुनमाई–राजदुवाली (१२.३० किलोमिटर) र माझिम्तार–शक्तिखोर (१०.६० किलोमिटर) सुरुङमार्गका पनि सम्भाव्यता अध्ययन भइसकेको छ ।
रारा राजमार्गको कुशे पाटनअन्तर्गत जाजरकोट ब्याउली ढुंगा र जुम्लाको इमिलचा खोला सुरुङमार्ग (१०.०७ किलोमिटर)को पनि सम्भाव्यता अध्ययन सकी डीपीआर तयार गर्ने कार्य भइरहेको छ ।
तीन सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन
केन्द्रले तीन सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिरहेको छ । जसमा हेम्जा–नयाँपुल खण्ड सडक सुरुङमार्गको अध्ययन चलिरहेको जनाइएको छ । यो सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनको मस्यौदा गरिएको छ ।
यसैगरी दुम्कीबास–बर्दघाट, फुस्रेखोला छोरेपाटन (पोखरा)देखि स्याङ्जा गुडीकोलाको पनि अध्ययन भइरहेको छ । यी सुरुङमार्ग निर्माणमा आवश्यक लागत अपडेट हुने क्रममा रहेको इन्जिनियर अधिकारीको भनाइ छ ।
नागढुंगा सुरुङमार्ग अन्तिम चरणमा
सिस्नेखोला–नागढुंगा सुरुङमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । यो आयोजनाको भौतिक प्रगति ८३.७५ र वित्तीय प्रगति ७६.६८ प्रतिशत पुगेको छ । अब १६.२५ प्रतिशत बाँकी देखिएको छ ।
जापानी कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले २०७६ कात्तिक (२०१९ नोभेम्बर) निर्माण सम्झौता गरेको थियो । २०८२ कात्तिक ८ गते (२५ अक्टोबर २०२५) भित्र सम्पन्न गरिसक्नुपर्ने म्याद छ ।
यसको कुल लागत करिब २३ अर्ब छ । जसमध्ये १७ अर्ब १५ करोड सहुलियत ऋण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र ५ अर्ब ६७ करोड नेपाल सरकारको छ ।
यो आयोजनामा मुख्य र रेस्क्यु गरी दुई सुरुङमार्ग निर्माण गरिएका छन् । धादिङ सिस्नेरीबाट सुरु भएको सुरुङ काठमाडौँ नागढुंगामा निस्किन्छ । मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ । यो २०८१ वैशाख ३ गते छिचोलिएको थियो । यसैगरी रेस्क्यु टनेल (सुरुङ)को लम्बाइ २ हजार ५ सय ५७ मिटर छ । यो २०८० साउन २२ गते छिचोलिएको थियो ।
मुख्य सुरुङ र क्रस प्यासेजमा भित्ता र सिलिङको कंक्रिटिङको काम सकिएको जनाइएको छ । सडकको लेन ढलान गर्ने काम पनि ३०.७२ प्रतिशत सकिएको छ ।
मुख्य सुरुङको २ हजार ६ सय ८८ मिटर सडक लेनलाई सीआरसीपी (कन्टिन्यस्ली रिइन्फोस्र्ड कंक्रिट पेबमेन्ट) प्रविधिबाट कंक्रिट गरिरहेको आयोजनाले जनाएको छ । अहिलेसम्म ९३५.५० मिटर सडकमा यस्तो कंक्रिट गरिएको छ ।
मुख्य सुरुङ र क्रस प्यासेजमा कंक्रिट लाइनिङको काम सकिएको छ । २ हजार ६ सय ८८ मिटर लामो मुख्य टनेल, १८ मिटर लम्बाइका ७ वटा क्रस प्यासेज, मुख्य र रेस्क्यु टनेल जोड्ने सुरुङ र रेस्क्यु टनेलका केही खण्ड गरी कुल २ हजार ८ सय १२ मिटर खण्डमा कंक्रिट लाइनिङ गरिएको छ ।
सुरुङभन्दा बाहिरको सडक लेनलाई आरसीपी (रिइन्फोस्र्ड कंक्रिट पेबमेन्ट) प्रविधिमार्फत कंक्रिट गरिँदै छ । यस प्रविधिमार्फत २ हजार ८ सय मिटर सडक लेन कंक्रिट गर्ने योजना छ । अहिलेसम्म ५५१.२० मिटर सडक कंक्रिट गरिएको छ ।
सुरुङभित्र र बाहिरको सडक जोडिने ठाउँमा भने जेआरसीपी (जोइन्ट रिइन्फोसर्ड कंक्रिट पेबमेन्ट) प्रविधिमा कंक्रिट गरिँदै छ । यस प्रविधिमार्फत ९८३.८२ मिटर सडक कंक्रिट गरिने भएको छ । त्यसमध्ये ५०१.४० मिटरमा काम सम्पन्न भइसकेको छ ।
सुरुङमार्ग सञ्चालन गर्न दुवैतर्फ ‘कन्ट्रोल बिल्डिङ’ सिभिल निर्माणको काम पनि सकिएको छ । त्यसको फिनिसिङ र भवनभित्र आवश्यक उपकरण जोड्ने काम भइरहेको छ ।
कति बन्यो सिद्धबाबा सुरुङमार्ग ?
सिद्धार्थ राजमार्गमा निर्माणाधीन बुटवल–सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ३७ प्रतिशत पुगेको छ । वित्तीय प्रगति ३२ प्रतिशत छ ।
यो सुरुङमार्गको मुख्य सुरुङ माघ २ गते छिचोलिने आयोजना प्रमुख कृष्णराज अधिकारीको भनाइ छ । उनका अनुसार मुख्य सुरुङ १ हजार १ सय २६ मिटर लम्बाइको छ । अब ४८ मिटर खन्न बाँकी छ ।
यस आयोजनाका तीनवटा बाइपास छिचोलिइसकिएको छ । यसको तेस्रो बाइपास १३० मिटर २०८१ भदौ २६ गते छिचोलिएको थियो । पहिलो बाइपास १५१ मिटर असोज ४ गते छिचोलिएको थियो । पुस ७ गते १६१ मिटरको दोस्रो बाइपास छिचोलिएको थियोे ।
यो आयोजना २०७८ फागुनमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा निर्माणको जिम्मा लिएको छ । यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सनलगायत २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फ र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फ छन् ।
टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा गत मंसिर १८ गते हस्ताक्षर भएको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा सम्झौता भएको हो ।
दुर्घटनाको उच्च जोखिमयुक्त पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङमार्ग बनिरहेको छ । जसलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएको छ । डेढदेखि दुई सय जना कामदारले दैनिक काम गरिरहेका छन् ।
आयोजनाअन्तर्गत बुटवलतर्फको चिडिया खोलाबाट ९१० मिटर र पाल्पातर्फ ५६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने भएको छ । मुख्य सुरुङ छिचोलिएपछि ढलान र सडक निर्माण सुरु गरिने जनाइएको छ ।
यीबाहेक पनि अन्य सुरुङमार्ग अध्ययन हुने क्रममा छन् । थानकोट–चित्लाङ सुरुङमार्ग बनाउन अध्ययन कार्य सुरु भइसकेको छ । स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो आयोजनाको अध्ययन भइरहेको हो ।
त्यसैगरी टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा गत मंसिर १८ गते हस्ताक्षर भएको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा सम्झौता भएको हो ।
यो सुरुङमार्ग बनाउन २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला निर्माण प्रस्ताव राखिएको थियो । चिनियाँ टोली सोहीअनुसार २०७६ पुसमा अध्ययन गर्न नेपाल आएको थियो । कुल लम्बाइ करिब चार किलोमिटर हुने यो सुरुङमार्ग काठमाडौँलाई उत्तरी नाका रसुवागढीसँग जोड्ने छोटो दूरीका रूपमा लिइएको छ ।