शनिबार, २० पुस २०८१
ताजा लोकप्रिय
प्रदेश

अङ्ग्रेजी नयाँ वर्ष मनाउन एकै दिन ५८२ वटा भारतीय सवारी साधन नेपाल प्रवेश

बुधबार, १७ पुस २०८१, २० : ४७
बुधबार, १७ पुस २०८१

विराटनगर । अङ्ग्रेजी नयाँ वर्ष मनाउनकै लागि बुधबार एकै दिनमा कोशी प्रदेशमा भारतबाट ५८२ वटा भारतीय सवारी साधन नेपाल प्रवेश गरेका छन् । 

बिहारमा मदिरा बिक्री वितरणमा रोक लगाइएका कारण उनीहरू मदिरा सेवनसँगै नयाँ वर्ष मनाउन नेपाल प्रवेश गरेका हुन् ।

नयाँ वर्ष मनाउन विराटनगरको सीमावर्ती बजार रानी, झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर, सुनसरीको भन्टाबारी हुँदै इलामको फिक्कल, कन्याम, धनकुटाको भेडेटार, हिलेसम्म पनि पर्यटक पुगेको प्रहरीको दाबी छ । यस्तै विराटनगर, इटहरी तथा काँकडभिट्टा, दमक, बिर्तामोडका बजारहरूमा पनि भारतीयको चहलपहल बढेको छ । 

ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार सुनसरीबाट सबैभन्दा धेरै ४ सयवटा भारतीय सवारी साधन नेपाल भित्रिएका छन् । यस्तै मोरङबाट १३९, झापाबाट २२ र इलामबाट २१ वटा सवारी साधन नेपाल भित्रिएको हो । 

कोशी ब्यारेजमा पूर्णिमाको दिन ठुलो मेला लाग्ने भएकाले भारदह, मधवापुरलगायतका रहेका आफ्ना आफन्तको घरमा सोमबारदेखि नै भारतबाट पाहुना आएर बसेका छन् । कतिपयले विहारमा मदिरा पिएको अवस्थामा प्रहरीको फन्दा परे कारबाही हुने डरले पश्चिम बंगालको सिलिगुडीको पानीट्याङ्की हुँदै बिर्तामोड, मुलघाटसहित इलामको होटलहरुमा बास बसेर नयाँ वर्ष मनाइरहेका छन् । 

प्रहरीका अनुसार मंगलबार बिहानैदेखि भारतीय गाडीहरू बेलुनसहित माला लगाएर नेपाल प्रवेश गरेका छन् । अन्य दिनको तुलनामा सीमावर्ती क्षेत्रमा बढी भिडभाड रहेकाले व्यापक प्रहरी परिचालन गरिएको छ । २०२४ को अन्तिम दिन ३१ डिसेम्बर (मंगलबार)  मात्रै विराटनगरको रानी नाका हुँदै एक सय २६ वटा भारतीय पर्यटक चढेको गाडी रानी नाका हुँदै नेपाल भित्रिएको छ । भारतीय नम्बर प्लेटका स्करपिओ, भ्यानसहित ससाना गाडी भन्सार कटाएर नेपालको सीमावर्ती बजार प्रवेश गरेका छन् ।

त्यस्तै नयाँ वर्षको दिन बुधबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्ममा ५८२ वटा सवारी साधन नेपाल प्रवेश गरेको र प्रत्येक गाडीमा ५ जना देखि ६ जनासम्म सवार रहेको प्रहरी बताउँछ । त्यस आधारमा भन्ने हो भने अनुमानित ३ हजार भारतीय नेपाल प्रवेश गरेका हुन् ।

नयाँ वर्षलाई लक्षित गर्दै मोरङ प्रशासनले गीत गजलसहित होटलहरुलाई राति १२ बजेसम्म सञ्चालन गर्न छुट दिइएको छ । अन्य दिन राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति प्रदान गरेको थियो ।

विराटनगरमा सञ्चालनमा रहेको होटल, क्याबिनसहितको रेस्टुरेन्ट, लजहरू खचाखच रहेको बताइएको छ । कतिपय भारतीय नागरिकहरूले दुई दिनदेखि डेरा नै जमाएर बसेका छन् भने कतिपयले दुई दिन अगावै आफन्त र साथीको घरमा बसेर नयाँ वर्षलाई मनाइरहेका छन् । 

नेपालमा समेत अङ्ग्रेजी महिनाको बितेको वर्षलाई बिदाइ गर्न र नयाँ वर्षको स्वागत गर्न युवायुवतीहरूसमेत विभिन्न होटलहरुमा साथीहरूसँग मिलेर सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउँदै आएका छन् । विगतको भन्दा यस वर्ष सीमावर्ती बजारमा बढी मात्रामा भारतीय नागरिकहरू आएको सीमावर्तीका बासिन्दाहरूले बताएका छन् । 

भारतीय मोटरसाइकलहरू गाडीको तुलनामा तेब्बर नेपाल प्रवेश गरेका छन् । मंगलबार र बुधवार गरी  मोटरसाइकल मात्रै हजारौँ प्रवेश गरेको प्रहरीको अनुमान छ । यसअघि पनि बिहार राज्यमा मदिरा बिक्री वितरणमा पूर्ण रोक लगाएसँगै सीमावर्ती नेपाली बजारमा मदिरा खाने बिहारीको भीड बढ्न थालेको थियो । बिहारमा मदिरा सेवन गरेको भेटिए कडा कारबाही गर्न विशेष प्रहरी नै परिचालन गरेको बताइएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप