शनिबार, २० पुस २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेश सभा बैठक : कसले के भने ?

बुधबार, १७ पुस २०८१, १९ : ४८
बुधबार, १७ पुस २०८१

बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको दोस्रो बैठक बुधबार करिब ३ घण्टा बसेको छ । मंगलदेखि सुरु भएको पाँचौँ अधिवेशनमा आज प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएका दुई वटा विधेयक लुम्बिनी प्रदेश सभाले पुनः सर्वसम्मत पारित गर्नेदेखि आर्थिक विधेयक पेस गर्नेसम्मका काम भएका छन् । 

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सन्देशसहित फिर्ता पठाएकोमा आज प्रदेश सभाले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२८ को खण्ड ख बमोजिम पुनः सर्वसम्मत पारित गरेको हो । 

यस्तै आज प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेका छन् ।  

प्रदेश सभामा कसले के भने ? 

लामो समयपछि आज प्रदेश सभामा सदस्यहरूले समसामयिक विषयमा जनताका समस्याहरू राखेका छन्। हिजो धेरै जसो दलका मुख्य सचेतकहरूले बोले पनि आज विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्नो धारण राखेका हुन् । 

आजको बैठकमा प्रदेश सभा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्दै योजना कार्यान्वयनदेखि नीति नियम तर्जुमा सम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले स्वास्थ्य, शिक्षादेखि खेलकुदसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रदेश सभा सदस्य विष्णु पन्थीले सहकारी क्षेत्रमा देखिएका जटिलता समाधान गर्न सरकारको ध्यान जानुपर्ने  बताए । उनले बचतकर्ताको रकम फिर्ता गर्ने गरी भूमिका बढाउन सरकारलाई आग्रह गरे। 

प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले बाँकेको नेपालगन्जमा मेडिकल कलेजमा देखिएको समस्या समाधान गर्न प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले समेत ध्यान दिनुपर्ने माग गरे । उनले स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित रहेको अवस्थामा समस्या सम्बोधन नगरेर उल्टै अस्पतालको नाम फेरेर अघि बढ्ने काम भएको आपत्ति प्रकट गरे । 

प्रदेश सभा सदस्य भगवती अधिकारीले कर्मचारीहरूले सामाजिक क्षेत्रमा विनियोजन भएका बजेट आफै कार्यान्वयन ध्यान दिनुपर्ने बताइन् । अर्का प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले बजेट विनियोजन र कार्यान्वयनमा सरकारले कम ध्यान दिएको भन्दै  विनियोजन भएको बजेट नागरिक तहसम्म पुग्ने पर्ने बताए ।

प्रदेश सभा सदस्य चन्द्र केश गुप्ताले चोरी नियन्त्रण गर्न कडा कानुन बनाउनुपर्ने  माग गरे । उनले अझै पनि किसानले मल खादको समस्या भोगिरहेकोको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

प्रदेश सभा सदस्य कन्हैया बनियाले रुपन्देहीको मार्चवरमा इलाका प्रशासन कार्यालयमा कर्मचारी नबस्दा समस्या रहेको सुनाए । प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको व्यवस्थापनमा ध्यान पुग्नुपर्ने माग गरे । 

यता प्रदेश सभा सदस्य निर्मलादेवी थारुले पाँच लाख भन्दा माथिका योजना कार्यान्वयनमा जटिलता भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । बैठकमा भीमेश्वर चौधरी, तारा थापा, दीपेन्द्र पुन लगायतले सरकारको ध्यान ध्यानाकर्षण गराएका थिए ।

तेस्रो बैठकको मिति अर्को सूचना मार्फत जानकारी गराइने प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप