हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ । स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिलाहरूसँग दाउरा खोज्न गएकी राजबंशी आज दिउँसो १२ बजेतिर एउटा हात्तीले लखेटेपछि जङ्गलमै हराइरहेकी थिइन् ।
हात्तीको लखेटाइमा महिला बेपत्ता भएको खबर पाएपछि नौ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायव निरीक्षक रोहित मगरको नेतृत्वमा प्रहरीको टोलीले जङ्गलमा खोजी गर्दा उनलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि सुरूमा भद्रपुरको ओमसाई पाथिभरा हस्पिटल पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए ।
मरणासन्न अवस्थामा रहेकी घाइतेलाई थप उपचारका लागि भद्रपुरकै प्रादेशिक अस्पतालमा लगिएको थियो । प्रादेशिक अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले घाइतेलाई मृत भइसकेको घोषणा गरेको चन्दले जानकारी दिए ।
सूचना अधिकारी चन्दका अनुसार आक्रमणकारी हात्ती अहिले पनि जङ्गलभित्रै रहेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय बनियानीको टोली घटनास्थलमा पुगेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ