अबको विद्यार्थी संगठन र आन्दोलन कस्तो हुने ?
नेपालमा प्रजातन्त्र, बहुदलीय व्यवस्था, गणतन्त्रसँगै सामाजिक न्यायका लागि ठुल्ठुला क्रान्ति भए । हरेक क्रान्तिमा विद्यार्थी आन्दोलन वा विद्यार्थीहरूको भूमिका विशेष रह्यो । २०६२/६३ को आन्दोलनमा मात्र होइन, २०५२ देखि सुरु भएको माओवादी जनयुद्धमा महत्त्वपूर्ण भूमिका थियो विद्यार्थी आन्दोलनको । सयौँ विद्यार्थी सहिद भए, कैयौँ बेपत्ता भए भने कैयौँ अपाङ्ग छन् ।
हामीकहाँ व्यवस्था परिवर्तनको लडाइँका निम्ति संगठित भएर लड्ने पहिलो संगठन नै विद्यार्थी संगठन थियो, नेपाली छात्र संघ, जसलाई बनारसमा पढिरहेका विद्यार्थीले सन् १९४६ मा गठन गरेका थिए । यसपछि नेपाल प्रजा परिषद् (स्थापना ः १९९३ जेठ २० गते), अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस (स्थापना ः १५ कात्तिक २००३), नेपाली राष्ट्रिय कांग्रेस, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी हुँदै दलहरू खुल्न थाले । राजनीतिक दलहरू प्रतिबन्धित हुँदा विद्यार्थी संगठनले दलका मुद्दालाई जनतामा लैजाने र स्थापित गर्ने गरेका थिए ।
राणाशासनको अन्त्यका लागि सक्रिय भएको विद्यार्थी आन्दोलन पञ्चायती व्यवस्थामा झनै निर्णायक शक्ति बन्यो । गणतन्त्रपछि विद्यार्थी आन्दोलन फितलो मात्रै होइन बदनाम बनेको आभास हुन्छ । पछिल्लो समय विद्यार्थी आन्दोलनले आफ्नै ओज, महत्त्व र विश्वास गुमाएको छ । अचेल विद्यार्थी संगठन जनताका मुद्दा उठाउन छाडेर दलका एजेन्डामा मात्रै सीमित छन् । यसैबिच यतिखेर स्वतन्त्र विद्यार्थी युनियनको चुनावको चर्चा हुन थालेको छ । त्रिभुवन विश्वविद्यालय चुनावको तयारीमा जुट्न थालेको खबर आएका छन् । त्रिविको क्यालेन्डर (१५ फागुनमा स्ववियु चुनाव गराउने) अनुसार चुनाव गराउन विद्यार्थी कल्याण परिषद्ले तयारी थालेको छ ।
आजको जमानामा ‘मसल’ र मसालबाट होइन मसी, मिहिनेत र सिर्जनाबाट क्रान्ति सम्भव छ । यो सन्देश स्ववियु निर्वाचनबाट मुलुकभर सञ्चार गर्न जरुरी छ ।
एकातिर यस्तो माहोल छ भने अर्कातिर इतिहासमा अग्रपंक्तिमा रही परिवर्तनको चेतना छर्ने विद्यार्थी राजनीति आज आफैँ अनेक प्रश्नहरूको सामना गरिरहेको छ ।
जुनसुकै आन्दोलन तथा शक्तिले पनि समय–समयमा समाजबाट नैतिक अनुमोदन पाउनुपर्ने लोकतन्त्रको सुन्दर पक्ष हो । हिजो सती प्रथा कानुनी रूपमा लागु थियो, आज दण्डनीय अपराध हुन्छ । विद्यार्थी राजनीतिले नेपाली समाजको नैतिक अनुमोदन प्राप्त गर्न आफूलाई परिवर्तन गर्नुपर्ने देखिन्छ ।
विश्वका कैयौँ देशमा ठुला क्रान्ति र आन्दोलनलाई निर्णायक बनाउन विद्यार्थीको अतुलनीय भूमिका रहँदै आएको छ । केहीअघि मात्रै विद्यार्थी आन्दोलनले नै बंगलादेशमा सत्ता परिवर्तन गर्यो ।
नेपालको सन्दर्भमा हेर्दा २००३ सालतिर काठमाडौँमा विद्यार्थीले ‘जयतु संस्कृतम्’ नामक आन्दोलन सुरु गरेका थिए । त्यही आन्दोलनले नेपाल विद्यार्थी संघ र नेपालमा विद्यार्थी आन्दोलनको बीजारोपण गरेको थियो ।
नेपालमा विद्यार्थी राजनीतिको इतिहास गौरवमय भए पनि अहिले यसको अस्तित्वबारे बहस हुने गरेका छन् । भर्खरै उदाउँदै गरेका दलहरूले विद्यार्थी संगठन नबनाउने निर्णय लिएका छन् । विद्यार्थी राजनीतिको अस्तित्वबारे प्रश्न उठ्नुका पछाडि थुप्रै कारण छन् ।
हाम्रो संविधानको धारा १७ को उपधारा २ (क) मा विचार र अभिव्यक्तिको स्वतन्त्रता र (घ) मा संघ र संस्था खोल्ने स्वतन्त्रताको व्यवस्था छ । तसर्थ विद्यार्थी संघ–संगठन खोल्न पाउनु र राजनीति गर्न पाउनु हरेक विद्यार्थीको मौलिक हक हो । विश्वविद्यालय तहमा राजनीति निषेध हुनु हुँदैन किनभने यो मौलिक अधिकारभित्र पर्ने कुरा हो ।
स्ववियुमार्फत आफ्ना शैक्षिक अधिकारका बारेमा निरन्तर आवाज उठाउनु, सिर्जनशील गतिविधि गर्न पाउनु विद्यार्थीको अधिकार हो र दायित्व पनि ।
हामीकहाँ पछिल्लो समय विद्यार्थी संगठनहरू दलका आन्दोलनमा मात्रै प्रयोग भएको देखिन्छ । त्यसैले सधैँ मूल राजनीतिक दलका शीर्ष नेतृत्व र तिनका विचारको भर्याङ बनिरहेका विद्यार्थी संगठन अब भने आफ्नो ज्ञान र सीपमा आधारित नयाँ गन्तव्य निर्माणमा जुट्नुपर्ने गम्भीर मोडमा उभिएका छन् ।
अबको विद्यार्थी नेतृत्वसँग पनि दुई मात्र विकल्प अगाडि देखिएका छन् । पहिलो हो, अहिलेसम्म विद्यार्थी संगठन जसरी राजनीतिक परिवर्तनका लागि मूल पार्टीको राजनीतिक दलबाट परिचालित हुँदै आए, त्यसैलाई निरन्तरता दिइरहनु ।
दोस्रो विकल्प भनेको, हालसम्मका गतिविधि र परिवर्तनलाई उपलब्धि मानेर प्राप्त राजनीतिक अधिकारको उच्चतम प्रयोग गर्दै सभ्य र समृद्ध राष्ट्र निर्माणमा सिर्जनात्मक भूमिका निर्वाह गर्नु ।
यस बाटोमा वर्तमान विद्यार्थी नेतृत्व हिँड्यो भने हरेक समस्याको हल सडक तताएर खोज्नेभन्दा पनि वार्ताबाट खोज्ने नयाँ रचनात्मक संस्कृतिको विकास हुनेछ ।
अहिले विद्यार्थीहरू अवसरको खोजीमा बिदेसिने क्रम बढेको छ । देशभित्रै सम्भावनाहरू खोज्न विद्यार्थीले अध्ययन र अनुसन्धान गर्न सक्छन्; उत्पादन र उद्यमशीलतामा योगदान गर्न सक्छन् । यस्तो वातावरणका लागि विद्यार्थी संंगठनले पहल गर्नुपर्ने हुन्छ ।
अबको स्ववियु नेतृत्व मूल पार्टीको झोलेजस्तो मात्रै बन्नु हुँदैन । युवा उमेर भनेको सम्भावना नै सम्भावनाको समुद्र हो । सम्भावना पहिल्याएर त्यस अनुरुप अगाडि बढ्न विद्यार्थीलाई वातावरण चाहिन्छ, यस्तो वातावरणका लागि विद्यार्थी संगठनले पहल वा रचनात्मक भूमिका निर्वाह गर्न सक्छन् ।
आज विज्ञान र प्रविधिले फड््को मारेको छ तर त्यसको उपयोग हुन सकिरहेको छैन । विद्यार्थीले प्रविधिको सदुपयोग गरेर कृषि लगायत क्षेत्रमा योगदान गर्न सक्छन् । त्यसका लागि विद्यार्थी संगठनहरूले पहल गर्नुपर्नेछ ।
आजको जमानामा ‘मसल’ र मसालबाट होइन मसी, मिहिनेत र सिर्जनाबाट क्रान्ति सम्भव छ । यो सन्देश स्ववियु निर्वाचनबाट मुलुकभर सञ्चार गर्न जरुरी छ ।
आज व्यवस्था त परिवर्तन भएको छ, तर नागरिकको अवस्थामा परिवर्नन हुन सकिरहेको छैन । सर्वसाधारण जनताको दैनिकीमा सामान्य परिवर्तन पनि आएन भने व्यवस्था परिवर्तनले मात्रै अर्थ राख्दैन । जनताको अवस्था परिवर्तन गर्नका लागि राज्यलाई झकझकाउन विद्यार्थी संगठनले रचनात्मक भूमिका निभाउनुपरेको छ ।
तसर्थ स्ववियु आवश्यक छ र यसको निर्वाचन निर्विकल्प रूपमा विनाअवरोध सम्पन्न गराउनुपरेको छ ।
(लेखक संग्रौला कानुनमा स्नातक गर्दै छन् ।)