आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

च्याउ किन खाने ?

बुधबार, १७ पुस २०८१, १९ : ०७
बुधबार, १७ पुस २०८१

काठमाडौँ । पोषक तत्त्व पाइने भएकाले च्याउलाई स्वास्थ्यका हिसाबले उपयुक्त तरकारी मान्न सकिन्छ । च्याउ विभिन्न प्रकारका पौष्टिक गुणले भरिपूर्ण छ । च्याउबाट प्रशस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्राप्त गर्न सकिन्छ । च्याउबाट अत्यधिक मात्रमा फाइबर, प्रोटिन, भिटामिन डी, भिटामिन बी लगायत तत्त्वहरू पाउन सकिन्छ । तरकारीका रूपमा यसको उपभोग छँदै छ । पछिल्लो समय च्याउको पकौडा, सुप, फ्राई, साँधेकोदेखि मःमः समेत बनाउन थालिएको छ । यस्ता विभिन्न परिकार बनाएर खाना मिल्ने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ ।

पोषणविद् सन्जिला श्रेष्ठ च्याउ फाइबरको स्रोतको पहिलो नम्बरमा पर्ने बताउँछिन् । ‘अन्य तरकारीको तुलनामा यसमा धेरै फाइबर हुन्छ । १०० ग्राम च्याउबाट ३.६ ग्राम प्रोटिन पाउन सकिन्छ,’ उनले भनिन्, ‘प्रोटिनको स्रोत पनि भयो । भिटामिनहरू पनि प्रशस्त मात्रमा पाइन्छ ।’

च्याउमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउने, भिटामिन बीको कमी पूरा गर्ने काम गर्दछ । श्रेष्ठको भनाइमा च्याउ प्रायः सबै उमेरकाले खान मिल्छ तर किड्नीको समस्या भएकाहरूले प्रोटिनको मात्रा हेरेर खान उपयुक्त हुन्छ । श्रेष्ठ भन्छिन्, ‘किड्नीका समस्या भएकाहरूले प्रोटिनको मात्रा हेरेर खानुपर्छ । बाँकी सबैले च्याउ खान सक्छन् ।’

च्याउमा प्रोटिनको मात्रा राम्रो हुन्छ, जसले मांसपेशी निर्माण र मर्मतमा मद्दत पुर्‍याउँछ । शाकाहारी व्यक्तिहरूका लागि यो प्रोटिनको राम्रो स्रोत मानिन्छ ।

उनका अनुसार च्याउमा सेलेनियम हुन्छ ।  च्याउ एन्टी अक्सिडेन्टको राम्रो स्रोत हो, जसले शरीरलाई रोगसँग लड्न मद्दत गर्छ । यसका साथै पोटासियम मात्रपनि प्राप्त गर्न सकिन्छ । यसले रक्तचाप नियन्त्रण र मांसपेशीहरूको कार्य सुधार गर्न मद्दत गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप