काठमाडौँ । दयाहाङ राई अभिनीत चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर दयाहाङ राईलाई समाजले पानी काट्ने चेतावनीबाट सुरु भएको छ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले झल्काएको छ ।
अन्धविश्वास, परिवारको माया, अरूको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र पारिवारिक उतारचढावको कथा समेत ट्रेलरले समेटेको छ ।
यही पुस २६ गते रिलिज हुने फिल्म यम शेर्पाले निर्देशन गरेका हुन् । फिल्म ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताए ।
फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा रहेका छन् ।
प्रतिक्रिया