शनिबार, २० पुस २०८१
ताजा लोकप्रिय
राजनीति

केन्द्रीय समिति बैठकको सँघारमा चक्रपाणिका पाँच प्रस्ताव : गुटबन्दी अन्त्य अनिवार्य सर्त !

बुधबार, १७ पुस २०८१, १८ : ४५
बुधबार, १७ पुस २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको छैटौँ पूर्ण केन्द्रीय समिति बैठक पुस २१ गतेबाट सुरु हुँदैछ । ११ महिनापछि बस्न लागिएको यो बैठकले समाजवादी पार्टी निर्माण र विचारको संश्लेषण गरी पार्टीको आगामी कार्यदिशा तय गर्ने नेताहरूले दाबी गरेका छन् । 

तर पार्टीको आगामी समाजवादी कार्यदिशा, संगठनात्मक सिद्धान्त र कार्यक्रम कस्तो बनाउने भन्नेमा नेताहरूबिच मतैक्यता हुन सकेको छैन ।

गएको साउन अन्तिम साता सम्पन्न स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र देखिएका समस्या, पार्टी निर्माण, विचारको संश्लेषण र नेतृत्वको सवालमा १३ पन्ने प्रस्ताव पेस गरेपछि थप बहस चर्किएको छ ।

पार्टी भित्रका यी सबै बहस, छलफल र विचारलाई संश्लेषण गरी माओवादी आन्दोलन नयाँ उचाइमा रुपान्तरण हुने शीर्ष नेताहरूको तर्क छ । राजनीतिको गम्भीर मोडमा हुन लागेको माओवादीको यो केन्द्रीय समिति बैठकलाई सबैले चासोसाथ हेरेका छन् । केन्द्रीय समिति बैठकअघि केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न अध्यक्ष प्रचण्डले बिहीबारदेखि तीन दिन स्थायी समिति बैठक बोलाएका छन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनपछि क्षयीकरण हुँदै गएको पार्टी पुनर्निर्माण र विचारको संश्लेषण गर्न चार महिने रूपान्तरण अभियान, सबै प्रदेश केन्द्रीय निकाय र प्रवास, जबस/मोर्चामा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीबिच परामर्श बैठक राखेको थियो । पदाधिकारी बैठक, स्थायी समिति बैठक र परामर्श समिति बैठकले दिएको सुझावको आधारमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् ।

यसैगरी वामपन्थी शक्तिबिच एकता, सहकार्य र ध्रुवीकरणबारे निर्णय हुन सक्ने भएकाले पनि यो बैठकलाई महत्वका साथ हेरिएको छ । यस्तै तीन वर्षअघि प्रज्ञा भवन कमलादीमा सम्पन्न आठौँ महाधिवेशनले तय गरेको कार्यदिशालाई कार्यान्वयन गर्न योजना तथा कार्यक्रम ल्याउने नेताहरूले बताएका छन् । आठौँ ‘महाधिवेशनले २१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’सम्बन्धी दस्ताबेज पारित गरेको थियो । तर महाधिवेशन भएको तीन वर्ष पुरा भइसक्दासम्म पार्टीले समाजवादी संगठनात्मक सिद्धान्त र कार्यक्रम बनाउन नसक्दा योजना अलपत्र परेको छ । यसैगरी गत फागुनको पहिलो सात राष्ट्रियसभा गृहमा सम्पन्न प्रथम विधान महाधिवेशनले संगठनात्मक प्रतिवेदन पारित गरेको थियो । सोही प्रतिवेदन पनि विशेष महाधिवेशन वा नियमित महाधिवेशन नहुँदा कार्यान्वयनमा आएको छैन ।

पार्टी निर्माण र विचार संश्लेषणको विषयमा पार्टीभित्र केही मतमतान्तर भएपनि आंशिक रूपमा नीति परिवर्तन भए आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्न सक्ने सचिव चक्रपाणि खनाल बलदेवले विश्वास लिए । बुधबार रातोपाटीसँग कुरा गर्दै बलदेवले भने, ‘संगठनलाई चलायमान बनाउन प्रत्यक्ष निर्वाचनमा जाने त हो । यसमा हाम्रो केही मतमतान्तर छन् । आंशिक रूपमा नीतमा केही परिवर्तन गर्ने हो भने प्रत्यक्ष निर्वाचन जान सकिन्छ ।  समाजवाद, सर्वहारा वर्गको अग्रदस्ता, लेनिनको संगठनात्मक प्रणालीलाई हामीले बेसिक रूपमा मानिराखेका छौँ । त्यो आधारमा सबै निर्वाचनले गर्छ भन्ने मान्यता गलत हो । त्यही भएर यो बहस जारी छ । के गर्ने भन्नेमा केन्द्रीय समिति बैठकबाट हामी टुङ्गोमा पुग्नेछौं ।’

कुराकानीको क्रममा उनले माओवादी पार्टी निर्माणका लागि पाँच प्रस्ताव समेत अघि सारेका छन्–

पहिलो–संगठनिक स्वरुपबारे लामो समयदेखि हामी छलफलमै छौँ । संगठन विभागले सांगठनिक प्रतिवेदन केन्द्रमा पनि बुझाएको छ । अध्यक्षलाई पनि बुझाएको छ । अबको संगठन कसरी चल्छ ? मार्क्सवादी पुराना संगठनात्मक सैद्धान्तिक आधारभूत कुरा छदै थिए । तर अहिले अलिकति विकास गर्नुपर्ने जरुरी छ भन्ने हाम्रो ठम्याइ छ । कम्युनिस्ट पद्धतिमा थप विकास गरेर जानुपर्ने देखिएको छ ।

दोस्रो– चुनावमा गठबन्धन गरेर जसरी लड्दै आयौँ । एकल रूपमा आगामी चुनाव एक्लै लड्छौँ तर हामीले २०६४ मा देशको समग्र खाका दिएका थियौँ । अहिले संविधान निर्माणपछिको खाकासहित हामी आगामी चुनावमा जानुपर्छ । त्यसको सुधार गर्नुपर्छ ।

तेस्रो– हामीले जुन समाजवादको कुरा गरिराखेका छौँ । कार्यदिशा हाम्रो समाजवादको हो । समाजवादी कार्यदिशामा स्पष्ट हुन केही बाँकी छ । जस्तै अहिलेको परिस्थितिमा समाजवादको नयाँ आविष्कार के हो त ? विकास गर्नुपर्ने के हो ? उही समाजवाद भनेर भट्याएर त भएन । नेपाली परिस्थितिमा कुन चाहिँ विचारले त्यसलाई समृद्धि बनाउँछ ? त्यसबारे बहस हुन जरुरी छ ।

चौथो– हाम्रो पार्टी पनि वैचारिक हिसाबले नदेखिने तर केही टिमहरू भित्र बनिरहने नियति छ । त्यसले विगतमा तितो फुटमा लगेको छ । त्यो सच्याउन जरुरी छ । टिमहरूको अन्त्य गर्न जरुरी छ । पार्टीभित्र स्वार्थै समूह त नभनौँ । आंशिक रूपमा भ्रातृसंगठन नेताहरूको गुटगत कोपभाजनमा परेको सत्य हो, समग्रमा होइन । जस्तै युवा संगठन वाइसिएलमा अहिलेको परिस्थितिले त्यस्तो बनाएको हो । कुनै व्यक्तिले भन्दैमा भइहाल्ने त होइन । वस्तुस्थिति त्यो छ । बनिबनाउ बस्तुमा गुटहरूको प्रभाव हो ।

पाँचौँ– पछिल्लो समय भ्रष्टाचारविरुद्ध सुशासन त भन्यौँ । स्वास्थ्य, शिक्षा, रोजगारको सन्दर्भमा आम राष्ट्रले पत्याउने गरी कार्यक्रम तय गर्न जरुरी छ । त्यो गरिएन भने हुँदैन । यी कामहरू अगाडि बढायौँ भने २०८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर आउने सम्भावना रहन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप