शनिबार, २० पुस २०८१
ताजा लोकप्रिय
भीम रावलको पत्रकार सम्मेलन

ओलीविरुद्ध रावल छरपस्ट, नयाँ पार्टीको ‘रोडम्याप’ अस्पष्ट !

३५ पन्ने बकपत्र- एमाले रङ खुइलिएको बामाले, ओलीसँग उल्टै मागे स्पष्टीकरण
बुधबार, १७ पुस २०८१, २१ : ५७
बुधबार, १७ पुस २०८१

काठमाडौँ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै पार्टीबाट निष्कासन गरेपछि नेता भीम रावलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको असहिष्णु व्यवहार र व्यक्तिवादी चरित्रको ‘भण्डाफोर’ गरेका छन् ।

पुस १० गते बसेको एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्षसमेत रहेका रावलसहित नेताहरू बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गरेको थियो । कारबाही गरेको ७ दिनपछि नेता रावलले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीका विगतका धेरैजसो निर्णयहरू स्वेच्छाचारी र निरङ्कुश भएको आरोप लगाएका हुन् । 

उनले ओलीका तानाशाही निर्णयहरू विरुद्ध तथा राष्ट्र र समृद्धिका लागि मातृभूमि जागरण अभियानको आवश्यकता औँल्याउँदै त्यस्तो अभियान चलाउने घोषणा गरेका छन् ।

  • रावलले रोजेको अबको बाटो

रावलले नयाँ पार्टीको घोषणा गर्नुअघि मातृभूमि जागरण अभियान चलाउने सङ्केत गरेका छन् । पत्रकार सम्मेलनमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उक्त अभियान चलाउने बताएका हुन् ।

‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको छ । यसै दिशामा हाम्रा कदम अगाडि बढ्नेछन्’, रावलले अबको बाटो भन्दै यसो भने पनि पार्टी कहिले र कस्तो हुने भन्ने खुलाएका छैनन् ।

नेपाली कांगेस (बीपी) र पूर्व सैनिकहरूको संगठनसँग एकता हुनसक्ने सङ्केत गर्दै रावलले भनेका छन्, ‘आजको उपस्थितिले देशको सर्वोपरि हितको भावनालाई प्रतिबिम्बित गर्छ भन्ने ठानेको छु, । अहिलेको मातृभूमि जागरण अभियान भविष्यको सशक्त संगठन निर्माणको आधार हुनेछ ।’

दुर्गा प्रसाईं लगायतसँग सहकार्य हुनसक्छ भन्ने प्रकारहरूको प्रश्नमा उनले प्रसाईंले पनि नेपालीको लगानीको कुरा गरेको भन्दै भविष्यमा सहकार्य हुनसक्ने सङ्केत गरे ।

‘देश र जनताको सर्वोपरि हितमा हुनुपर्ने राजनीति तथा सरकार पदको भागबण्डा र निहित स्वार्थको साधनमा झारिएको छ’, रावलले भनेका छन्, ‘राजनीतिक परिवर्तन पछि जनताको जे अपेक्षा र आकाङ्क्षा थियो त्यस दिशामा राजनीति, राज्य र दलहरू अग्रसर छैनन् । जनतामा निराशा बढ्दो छ ।’

उनले युगको सापेक्षतामा देश कमजोर बनिरहेको, राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमान समेत चुनौतीग्रस्त बनेको भन्दै यस्तो स्थितिमा राजनीतिक दल र सरकार बढी जिम्मेवार, राष्ट्रिय हितमा कटिबद्ध र क्रियाशील हुनु पर्ने तथा सुशासन र जनताको हितमा तल्लीन हुनुपर्नेमा जोड दिएका छन् ।

‘तर आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा (एमाले) लाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा धकेलिएको छ । एमालेको रङ खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लाग्छ’, रावलले निष्कर्षमा भनेका छन् ।

रावलले ओलीसँगै अन्य कतिपय दलहरू पनि सोही बाटोमा हिँडिरहेको आरोप लगाएका छन् । ‘त्यस कारण देशको स्वाधीनता, स्वाभिमान, हितको रक्षा र संवर्द्धन तथा जनताका आवश्यकता र आकाङ्क्षा पूरा गर्ने बाटोमा राज्यलाई डोर्‍याउनको लागि देशभक्तिपूर्ण भावना र चेतले युक्त जनमत र सरकारको आवश्यकता छ’, रावलले भने, ‘देश बलियो भयो भने जनता बलिया हुन्छन्, जनता समृद्ध भए देश बलियो हुन्छ मान्यतालाई बलियो गरी समात्नु आवश्यक छ ।’

सोही कामका लागि उनले राष्ट्रव्यापी अभियान चलाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् । ‘भ्रष्टाचार, कुशासन, स्वेच्छाचारी क्रियाकलापका विरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनु पर्छ । राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ’, रावलले भनेका छन्, ‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमानदार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्नुपर्छ । देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनु पर्छ ।’

उनले स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकाङ्क्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्नेमा जोड दिएका छन् ।

‘राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरि हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ धारणालाई बलियो गरी अवलम्बन गर्नुपर्छ’, रावलले आफ्नो ३५ पन्ने बकपत्रमा भनेका छन्, ‘राजनीति दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ । यसका लागि विधि पद्धति प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रुपमा दृढताका साथ हिँड्नुपर्छ ।’

  • प्रश्नै प्रश्न

रावलले पत्रकार सम्मेलनमा ३५ पन्ने लिखित कार्ययोजना वाचन गर्दै आफूमाथि एमाले अध्यक्ष ओलीले पार्टी र सरकार सञ्चालनका क्रममा गरेका अधिकांश निर्णयहरू संविधान, कानुन र पार्टी विधान विपरीत रहेको दाबी गरेका छन् । रावलले ओलीलाई सयौँ प्रश्न सोध्दै ओलीको असहिष्णु व्यवहार र तानाशाही प्रवृत्तिका कारण नेकपा एमाले हाल रङ खुइलिएको ‘बामाले’ बनेको टिप्पणी गरेका छन् ।

  • ललिता निवासमा मुद्दा नचलाएको आरोप

रावलले ललिता निवास जग्गा प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीको इसारामा उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएको आरोप पनि लगाएका छन् ।

‘ललिता निवास बालुवाटार जग्गा भ्रष्टाचार प्रकरणमा विष्णुप्रसाद पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले अवैध रूपमा प्राप्त गरेको जग्गा सरकारलाई फिर्ता गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजको नाममा मुद्दा दर्ता गर्न नपर्ने फैसला तपाईँकै इसारामा गरेको होइन र ?,’ रावलले पत्रकार सम्मेलनमा प्रश्न गर्दै भने, ‘कसैले चोरी गरेको सामान फिर्ता गर्दैमा दण्ड सजाय नगर्ने कानुन छ र ?’

  • ओलीलाई नै सोधे रावलले स्पष्टीकरण

त्यस्तै रावलले एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि आफ्नो ५१ वर्षे राजनीतिक जीवन नै समाप्त पार्ने गरी स्पष्टीकरण र पार्टी सदस्यता नै खोसेको भन्दै ओलीले गरेका विभिन्न निर्णयहरूको जवाफ दिनुपर्ने भन्दै रोचक स्पष्टीकरण सोधेका छन् ।

त्यस्तै रावलले आफूलाई पार्टीले सोधेको स्पष्टीकरणलाई भने कथित स्पष्टीकरण भनेका छन् । रावलले एमाले महासचिव शङ्कर पोखरेलले हस्ताक्षर गरेर पठाएको स्पष्टीकरण २०८१ कात्तिक ६ गते प्राप्त गरेको भन्दै उक्त स्पष्टीकरणपत्र द्वेषपत्रका रूपमा लिएको बताएका छन् । साथै सोधिएको स्पष्टीकरण सोध्दा समेत आफ्नो नाम र पद नलेखिएको रावलले जनाएका छन् । ‘अतः यस्तो कथित स्पष्टीकरणको मैले जवाफ दिनुभन्दा स्वयं केपी ओलीले नै नेकपा एमालेको देशभक्त, इमानदार पङ्क्ति र नेपाली जनतालाई थुप्रै प्रश्नहरूको जवाफ दिनुपर्ने देखिएको छ’ रावलले भनेका छन् ।

रावलले अध्यक्ष ओलीले नै दसौँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा हुन नदिएको आरोप लगाएका छन् । रावल दसौँ राष्ट्रिय महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

रावलले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने व्यवस्था नमानेको भनेर ओली पक्षधरले लगाएको आरोप समेत खण्डन गरेका छन् । यसबारे ओलीलाई प्रश्न गर्दै रावलले भनेका छन्, ‘विधान महाधिवेशनबाट पारित विधानमा पदाधिकारीमा दिएको उम्मेदवारी सदस्यमा स्वतः नरहने भएकाले मैले केन्द्रीय सदस्यमा कसरी जितेँ भन्ने प्रश्न गर्दै शपथ लिन नमानेको हुँ ।’

उनले स्पष्टीकरणमा आफ्नै कारणले कार्यकारी भूमिकाबाट बाहिरिएको, पार्टीले कुनै जिम्मेवारी नदिएको र दिन नचाहेकोजस्ता प्रचार गरेको आरोप लगाएको भन्दै विगतमा ओली लगायत विभिन्न नेताहरू विभिन्न महाधिवेशनमा पराजित भए पनि उनीहरूसँग विजयी नेताहरूले राजनीतिक छलफल र परामर्श गरी यथोचित जिम्मेवारी दिने गरेको एमालेको पद्धति, शैली र अभ्यास होइन भन्दै प्रतिप्रश्न गरेका छन् ।

महाधिवेशनमा अध्यक्ष पदमा हारेपछि सल्लाहकार सदस्यमा नबसेको, पार्टी केन्द्रसँग सम्पर्क नै नगरेको, पार्टी नीति, निर्णय र नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकोजस्ता लागेका आरोपको पनि रावलले केस्रा केस्रा केलाएर जवाफ दिँदै ओलीलाई उल्टै ७४ वटा प्रश्न सोधेका छन् । त्यस क्रममा संसद् विघटनदेखि गिरीबन्धुलगायतका भ्रष्टाचार काण्ड तथा पछिल्लो समय कांग्रेससँगको गठबन्धन बन्नुको पृष्ठभूमि खोज्दै यावत प्रश्नको ओलीले जनतालाई जवाफ दिनुपर्ने बताएका छन् ।

स्पष्टीकरणबारे केपी ओलीले नै स्पष्ट पार्नु पर्ने विषय 

१. महाधिवेशनलाई “एकताको महाधिवेशनका रुपमा” हुन नदिएको 

१.१ पत्रमा महाधिवेशनको बन्दसत्रको “हल र पार्टी अध्यक्ष समेतले तपाईलाई पार्टी उपाध्यक्ष पदमा उम्मेदवारी दिएर महाधिवेशनलाई एकताको महाधिवेशनका रुपमा सम्पन्न गर्न गरिएको आग्रह अस्वीकार गरी तपाई स्वयंले निर्वाचनमा जान चाहेको” भनिएको रहेछ । कति हास्यास्पद र झुटा ! महाधिवेशनको कार्यक्रम तय गर्नको लागि पूर्व तयारीका लागि केन्द्रीय कार्यालय, च्यासलमा बसेको स्थायी कमिटीको बैठकमा मैले पार्टीमा विभाजन आएको बेला नेतृत्व चुन्ने महाधिवेशनमा कसरी जाने, सहमति गर्ने कि स्वच्छ निर्वाचन गर्ने भनी प्रश्न गर्दै छलफल गरौं भनेको थिएँ । अध्यक्ष ओलीले छलफल नै गर्न नदिएपछि र अरु सबै मौन रहेपछि मैले भनेको थिएँ- यस विषयमा छलफ नहुने हो भने म केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिन्छु । तर दम्भपूर्ण शैलीमा “जसले जेमा उठे पनि हुन्छ” भन्दै छलफल गर्ननदिने तपाई केपी ओली होइन र ? तर पनि पार्टी द्वन्द्व र फुटको चक्रमा परिरहेको बेला विगतमा पार्टी एकताको लागि आफुले खेलेको भूमिकाको सम्झना गर्दै मैले भोलिपल्ट नै तपाईको बालकोट स्थित घरमा गएर झण्डै एक घण्टा कुरा गरी नेतृत्व चयनको बारेमा स्पष्ट भएर महाधिवेशनमा जान आग्रह गरेको थिएँ । तर “धनकुटा र नेपालगञ्ज जान्छु, अहिले केही सोचेको छैन" भनी पन्छिने तपाई नै होइन र? वस्तुतः महाधिवेशनको मुखमा पार्टीको रकम खर्च गरेर हेलिकप्टरबाट प्रचारमा जानु आफैमा एमालेको परम्परा विपरीतको अनैतिक काम थिएन र ? 

१.२ महाधिवेशन नेतृत्व चयनको लागि आयोजना गरिएको थियो । त्यहाँ जो कोहीले जुनसुकै पदमा उम्मेदवारी दिन पाउने अधिकार थियो । मैले त पहिले नै घोषणापत्र सहित अध्यक्षको पदमा उम्मेदवारी दिइसकेको थिएँ । तर उद्घाटन सत्रमा तपाई के.पी. ओलीको गुणगान गाउन वृत्त चित्र सहित प्रसारण गर्न लगाइयो । यस्तो पक्षपातपूर्ण पद्धति नेकपा (एमाले) को कुन विधान, पद्धति र शैली अन्तर्गत पर्दथ्यो ? यथार्थमा त्यसो गर्नु सत्ताको दुरुपयोगयुक्त धाँधली थिएन र ? 

उद्घाटन सत्रको अघिल्लो दिनको साँझ म सौराहा पुगेको थिएँ । बस्ने ठाउँको अत्तोपत्तो थिएन । आफ्ना पक्षधरहरुका लागि भने रोजेको र खोजेको व्यवस्था गरिएको थियो । म आफ्नै व्यवस्थामा बसेको होटल बाहिर रक्सी ख्वाएर केटाहरुलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले नारा लगाउनेहरुलाई त्यहाँबाट धपायो । मेरो विरुद्ध त्यसरी नाराबाजी गर्न लगाउनु कथित एकता महाधिवेशन गर्ने आशयको परिचायक थियो र ? तपाईले आफु र पार्टीको वरियतामा मभन्दा पछि रहेका चार जनालाई विशेष होटलमा बस्ने व्यवस्था गरी मलाई अरु स्थायी कमिटीका सदस्यहरु रहेको घरमा एउटा कोठा मात्र दिएर मेरो चालक र अंगरक्षकलाई समेत बस्ने ठाउँ नदिनु “एकता र सहमति" को संकेत थियो र ? 

१.३ महाधिवेशनको व्यवस्थापन, प्रचार प्रसार, बजेट र स्वयंसेवक जस्ता महत्वपूर्ण विषयमा एकलौटी मनपरी गरियो । स्वयंसेवकहरुलाई मलाई कुनै सहयोग नगर्नु भन्ने मात्र होइन मंसिर ११ गते पछि महाधिवेशनको बैठकमा समेत भरसक छिर्नु नदिनु र प्रतिनिधिहरु बसेका होटलहरुमा जान नदिनु भनि दिइएको निरंकुश र स्वेच्छाचारी निर्देशनको कुरा मैले केही स्वयंसेवकबाट सौराहामा नै थाहा पाएको थिएँ । यो जनताको बहुदलीय जनबादको धज्जी उडाउने कुकर्म थिएन र ? यस्तो एमालेको दिशा र शैली, पद्धति विपरीतको कार्य तपाई केपी ओलीको निर्देशनमा हुनु लज्जास्पद होइन र ? 

१.४ मंसिरमा केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष मण्डलको गठन लगायत महाधिवेशन संचालनको मोटामोटी रुपरेखा तय भएको थियो । अध्यक्ष मण्डलको गठन गर्दा मैले कम्युनिष्ट पार्टीको विगतको व्यवस्थाबारे स्मरण गराउँदै अध्यक्ष मण्डलको गठन महाविधेशनको बन्द सत्रको पहिलो बैठकबाट हुनुपर्छ र अध्यक्ष मण्डल गठन भइसकेपछि केन्द्रीय कमिटी भंग हुने प्रणाली कायम हुनुपर्छ भनेको थिएँ । तर तपाईले मेरो कुरा अस्वीकार गर्दै अध्यक्ष मण्डलको गठन स्थायी कमिटीबाट गर्ने र त्यसको अध्यक्ष आफै हुने तानाशाही प्रस्ताव जबर्जस्ति थोपरेको होइन र ? कम्युनिष्ट पार्टीको अभ्यास र महाधिवेशनको निष्पक्षता र स्वच्छता विरोधी प्रस्तावको मैले विरोध गर्दागर्दै बलात् थोपरियो । त्यसो गर्नु के “एकताको महाधिवेशन” गर्ने आशयको द्योतक थियो र? त्यसैगरी महाधिवेशनमा मतदानका लागि यन्त्र प्रयोग गर्ने प्रस्ताव स्वयं तपाई के.पी. ओलीबाट राखियो । अध्यक्ष मण्डलमा तपाई आफै बस्नु र मतदान यान्त्रिक रुपमा गर्ने कुरा गरिनु धाँधलीको पूर्व तयारी थिएन र ? 

यान्त्रिक मतदानको व्यवस्थाप्रति मैले असहमति जनाएको थिएँ । तर यसमा पनि जोरजबर्जस्ति गरियो । मेरो कडा प्रतिवाद पछि यन्त्र- उपकरण केन्द्रीय कार्यालयमा झिकाएर हेर्ने कुरा भयो । यन्त्र झिकाइए पछि त्यसको विश्वसनीयताबारे मैले विभिन्न प्रश्न र जिज्ञासा राखेको थिएँ । विश्वस्त हुने स्थिति थिएन तर मैले मात्र त्यसको प्रयोग रोक्न सक्ने अवस्था थिएन । 

१.५ स्थायी कमिटीको अन्तिम बैठकमा महाधिवेशनको खुला उद्घाट्न सत्र मंसिर १० गते गर्ने, साँझ ८ बजे केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने, मंसिर ११ गते बिहान खाना पछि उम्मेदवारी मनोनयनको सबै प्रक्रिया पूरा गर्ने र १२ गते विहान ८ बजेदेखि मतदान गर्ने सर्वसम्मत निर्णय भएको थियो । तर त्यस निर्णयलाई कुल्चदै मंसिर १० गते ८ बजे केन्द्रीय कमिटीको बैठक गरिएन । मनपरी किसिमले दिनभर थाकेका सदस्यहरुलाई राती १०.३० बजे निद्रा लाग्ने बेला बोलाइयो । बैठकमा केन्द्रीय कमिटीका थोरै सदस्यहरुको उपस्थिति थियो । कति उँघिरहेका थिए । बैठक बस्ने होटल बाहिर झापा समेतका अनाधिकृत मानिसहरु र ठूलो संख्यामा “स्वयंसेवक” को जमघट गराइएको थियो । स्थायी कमिटीको कुनै बैठक नगरी केन्द्रीय कमिटीको संख्या २२५ रहने विधान महाधिवेशनबाट पारित विधानको व्यवस्थालाई कुल्चदै हठात् ३०१ सदस्य रहने निर्णय सुनाइयो । यसरी प्रस्ताव ल्याउने निर्णय कुन बैठकबाट भएको थियो? 

१.६ स्थायी कमिटीको पूर्व निर्णय अनुसार मंसिर ११ गते विहानको खाना पछि उम्मेदवारी दर्ताको प्रक्रिया शुरु गर्न दिइएन । यसबारे अध्यक्ष मण्डलको बैठक बोलाइएन । आफु र निकटका तीन जनाका लागि छुट्टै बस्ने व्यवस्था गरी त्यहींबाट गुट संचालन र षडयन्त्र गर्दै महाधिवेशनको बैठक दुई दिनसम्म हुन नदिने काम तपाईबाट भयो । अध्यक्ष मण्डलको बैठक नगरी, कसैलाई उम्मेदवार हुननदिई स्वेच्छाचारी किसिले केन्द्रीय कमिटीका ३०१ जना सदस्यहरुको नाम मंसीर १२ गते राती बोलाइएको महाधिवेशनको बैठकमा वाचन गर्न लगाइयो । मैले तपाई केपी ओलीलाई पदाधिकारीहरुको नाम खै त भनेर सोधे पछि मेरै अगाडि आफै सबैको नाम लेखेर वाचन गराइयो । के यस्तो काम “एकताको महाधिवेशन" को कुरा संग मेल खान्थ्यो र? सबै पदाधिकारीको नाम मनलाग्दि लेखेर पढ्न लगाउने अधिकार तपाईलाई कसले दिएको थियो? यस्तो कार्य नेकपा (एमाले) को विधि, पद्धति र परम्पराको विपरीत भएकोले मैले त्यसलाई अस्वीकार गर्दै प्रतिनिधिहरुको चुन्ने र चुनिन पाउने अधिकारको सम्मान गर्न आग्रह गरेको हो । के तपाई के. पी. ओली वा निकटका कुनै व्यक्ति वा अध्यक्ष मण्डलको बैठक बोलाई मलाई नेतृत्वको चयन कसरी गर्ने तथा कसको के जिम्मेवारी हुने भन्नेबारे आग्रह वा जानकारी गराइएको थियो र? दुई दिनसम्म प्रतिनिधिहरुलाई अलपत्र पार्दै उपगुटका केहीलाई साथमा लिएर आफुले मन नपराएका सम्भावित उम्मेदवारहरुलाई एक-एक गरी बोलाउँदै धम्क्याउने र प्रलोभन दिने कार्य गरिएको होइन र ? के त्यस्तो कार्य मार्क्सवाद-लेनिनवाद, जनताको बुहदलीय जनवाद, न्याय, समानता र लोकतन्त्रसंग मेला खान्थ्यो र त्यसलाई मानिदिनु पर्थ्यो र ? यदि चुन्ने र चुनिन पाउने वा उम्मेदवार हुनपाउने अधिकार नेकपा (एमाले) को महाधिवेशनमा अभ्यास गर्नु नै अनुचित थियो भने आठौं महाधिवेशनमा अध्यक्ष पदका लागि तपाई स्वयं झलनाथ खनालसंग र नवौं महाधिवेशनमा माधव नेपालसंग किन प्रतिस्पर्धा गरेको त ? 

१.७ मैले सहमतिका लागि स्थायी कमिटीको बैठकमा र तपाईको घरमा गएर गरेको आग्रहलाई लत्याइए पछि, महाधिवेशन दुई दिनसम्म हुन नदिई अध्यक्ष मण्डलको बैठक नै नगरी जबर्जस्ति मनपरी किसिमले नामावाली वाचन गरिएपछि त्यसको विरोध गरेको हुँ । महाधिवेशन प्रतिनिधि र बैठकको गरिमा र औचित्यको रक्षा गरियोस् भनी आवाज उठाएको हुँ । अडान राखेको हुँ । यस्तो तथ्यको विपरीत पार्टी अध्यक्ष र वैठकले गरेको आग्रहलाई मैले अस्वीकार गरेको भनी कुप्रचार गर्नु झुटा कुरा गरेर आफुलाई सही देखाउने व्यर्थको अभ्यास बाहेक केही होइन । यस्तो षडयन्त्रपूर्ण काम र कुरा पार्टी र देशको नेतृत्व गर्ने व्यक्तिले गर्नु आपत्तिजनक हुँदैन र ? अध्यक्ष पदमा उम्मेदवारी दिए वापत “स्पष्टिकरण” खानु पर्ने र मेरो सदस्यता नै तपाईले खान मिल्छ र ? 

२. पदाधिकारीको उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने व्यवस्था नमानेको 

२.१ २०७८ साल असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय कार्यालयमा बसेको बैठकमा मैले पदाधिकारीमा उम्मेदवारी दिने व्यक्तिको सदस्यमा स्वतः उम्मेदवारी रहने व्यवस्थाको बारेमा अबको विधानमा के हुने भन्नेबारे कुरा उठाएको थिएँ । तपाइले त्यस्तो पदेन व्यवस्थाले “पार्टीमा समस्या भयो अब त्यस्तो व्यवस्था रहँदैन” भन्नु भएको होइन र ? सोही अनुसार विधान महाधिवेशनबाट पारित विधानको धारा ६१ मा त्यस्तो व्यवस्था राखिएन । मैले सोही अनुरुप दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएपछि केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी नरहनु स्वाभाविक होइन र? दशौं महाधिवेशनको “संशोधन सहित” भनी प्रकाशित विधानको धारा ६१ (३) मा “केन्द्रीय कमिटीको पदाधिकारीमा उम्मेदवार भएको व्यक्ति खुला तर्फको सदस्य पदको समेत उम्मेदवार हुनेछ” भनी लेखिएको देख्दा मलाई आश्चर्य लागेको छ । यस्तो विधान महाधिवेशनबाट पारित 

विधानको व्यवस्था भन्दा फरक विषयमा दशौं राष्ट्रिय महाधिवशेनमा कहीं, कतै र कहिल्यै पनि न छलफल भयो न त यस्तो विषय पारित नै भयो । उम्मेदवारी दर्ता गर्ने बेला सम्म त पार्टीको संगठनात्मक वा नीतिगत कुनै पनि कुरामा महाधिवेशनको कुनै बैठक नै गरिएन। विधानमा राखिएको व्यवस्था स्वेच्छाचारी किसिमले पछि थपेर राखिएको छ । यसो गर्नु नेकपा (एमाले) को विधि, पद्धति, मूल्य, मान्यता र सिद्धान्त विपरीत भएन र ? 

२.२ अँझ “तपाईले केन्द्रीय सदस्यको उम्मेदवारी नदिएको खुलासा गर्दै प्रतिनिधिहरुलाई मतदान नगर्न समेत अनुरोध गर्नु भयो” भनी पत्रमा लेखेको देख्दा यतिसम्म झुटा कुरा लेख्न कसरी सम्भव भयो होला भन्दै मलाई आश्चर्य लागेको छ । पहिलो कुरा त, मैले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि पत्रकारले के पदमा उम्मेदवारी दिनुभयो भनी सोधेको प्रश्नको उत्तरमा मैले अध्यक्ष पदमा दिएँ भन्ने बाहेक केही भनेकै छैन । दोस्रो, सौराहामा मैले “सदस्य पदमा मतदान नगर्न” भनी प्रतिनिधिहरुलाई अनुरोध गरेको भन्नु भ्रम सिर्जना गर्ने तल्लो तहको दुस्प्रयास मात्र हो । मेरो पक्षमा रहेका प्रतिनिधिहरुलाई हप्किदप्कि गर्ने, धम्क्याउने, मेरो घोषणापत्र थुतेर च्यात्ने, प्रतिनिधिहरुलाई मेरो नजिक जान नदिने र प्रतिनिधिहरु बसेको स्थानमा मलाई जान नदिने जस्तो अत्यन्त निरंकुश कार्य तपाई केपी ओलीको निर्देशनमा भएको तथ्य यहाँनेर स्मरणीय छ । यस्तो स्थितिमा मैले अध्यक्ष पदमा मत माग्नका लागि प्रतिनिधिको बीच जानसक्ने वातावरण त थिएन भने सदस्य पदमा मतदान नगर्नु भनेर प्रतिनिधिहरुलाई अनुरोध गरेको भन्नु हास्यास्पद छ । 

२.३ “पार्टीको विधान अनुरुप स्वतः कायमै रहेको ... सदस्यको उम्मेदवारीमा निर्वाचित हुन पर्याप्त मत हासिल नभएको कारण पदाधिकारीसंगै केन्द्रीय सदस्यमा समेत तपाई निर्वाचित हुननसकेको” भनी पत्रमा लेखिएको पढ्दा तपाईको गुटलाई झुटा कुराको सहारामा राजनीति गर्ने लत बसेछ जस्तो लाग्यो । मंसिर १४ गते राती निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले बन्द सत्रमा विजयी उम्मेदवारको नाम वाचन गर्दा भीम रावल ९०४ मत सहित विजयी भएको घोषणा गर्नुभएको थियो । मलाई स्वयं तपाई केपी ओलीले सदस्य पदको शपथ लिन आग्रह गर्नु भएको होइन र ? महाधिवेशन पछि मेरो विरुद्ध कार्यकर्ता उचाल्न “केन्द्रीय सदस्यमा शपथ लिन नमानेको” भनी तपार्यलाई “बा” भन्नेहरुद्वारा प्रचार गराइएको होइन र ? यस्तो तथ्य माथि फेरी “स्पष्टिकरण” को टालो हाल्न तिर किन लागेको ? 

विधान महाधिवेशनबाट पारित विधानमा पदाधिकारीमा दिएको उम्मेदवारी सदस्यमा स्वतः नरहने भएकोले मैले केन्द्रीय सदस्यमा कसरी जितें भन्ने प्रश्न गर्दै शपथ लिन नमानेको हुँ । अहिले आएर पत्रमा सदस्य पदमा म “निर्वाचित नभएको” भन्ने उल्लेख भएको देख्दा सोध्न चहान्छु-महाधिवेशनको बन्द सत्रमा गरिएको घोषण ठीक थियो कि, अहिले पत्रमा फरक किसिमले लेखिएको कुरा साँचो हो? बन्द सत्रमा गरिएको घोषणा साँचो थियो भने अहिले पत्रमा झुटा कुरा लेख्नेलाई कार्वाई किन नहुने? महाधिवेशनमा निर्वाचन आयोगका अध्यक्षले गरेको घोषणा भन्दा फरक कुरा कहाँ बाट आयो ? दुई मध्ये जसले यस्तो संवेदनशील विषयमा झुटा कुरा गरेको छ, त्यसलाई कार्वाइ हुनु पर्ने कि नपर्ने ? २.४ पत्रमा मलाई “आफ्नै कारणले कार्यकारी भूमिकाबाट बाहिरिएको” .. पार्टीले कुनै जिम्मेवारी नदिएको र दिन नचाहेको...” जस्ता प्रचार गरेको आरोप लगाइएको रहेछ । विगतमा तपाई स्वयं लगायतका विभिन्न नेताहरु विभिन्न महाधिवेशनमा पराजित भएका थिए । त्यसरी पराजित नेताहरुसंग विजयी नेताले राजनीतिक छलफल र परामर्श गरी यथोचित जिम्मेवारी दिने गरेको नेकपा (एमाले) को पद्धति, शैली र अभ्यास रहेको होइन र ? तर के मसंग जिम्मेवारी बारे अध्यक्ष तपाई केपी ओली लगायत कसैले कुरा या छलफल गरेको थियो र? महाधिवेशनमा जसरी पार्टीमा पाँच दशक निरन्तर काम गर्नुका साथै उच्च पदको जिम्मेवार वहन गरिसकेको र अध्यक्ष पदमा उम्मेदवारी दिएको मसंग तपाईं वा अध्यक्ष मण्डलको बैठकबाट जिम्मेवारी बारे कुनै कुरा गरिएन त्यसरी नै महाधिवेशन पछि मसंग जिम्मेवारीबारे तपाई लगायत कसैले पनि कहिल्यै करा गरेन । यस्तो तथ्यमाथि पर्दा हाल्न “आफ्नै कारणले...बाहिरिएको” भन्नु लज्जास्पद छ । मैले कुनै जिम्मेवारीका लागि कसैसंग आजसम्म माग गरेको छैन केवल मलाई जिम्मेवारीबारे प्रश्न गर्नेहरुलाई यो अधिकार प्राप्त नेतृत्वले जान्ने कुरा हो, मेरो हातको कुरा होइन भनी यथार्थ कुरा आएको मात्र हुँ । 

३. सल्लाहकार सदस्यमा नबसेको भन्ने बारे 

जिम्मेवारी दिनु अघि सम्बन्धित व्यक्तिसंग परामर्श गर्नु र निजको राय लिनु नेकपा (एमाले) को जन्मकाल देखि नै गरिएको अभ्यास हो । यो जनवादी शैली पनि हो । यही शैलीको कारण पार्टीको विस्तार पनि भएको हो । महाधिवेशन निकै ठूलो अन्तरविरोधको बीचमा भएको र त्यहाँ मलाई पार्टीको विधि, पद्धति र मान्यता विपरीतको व्यवहार गरिएको कुरा माथि नै उल्लेख भइसकेको छ । महाधिवेशनको समापन बैठकमा निर्वाचित अध्यक्ष लगायतका व्यक्तिहरुलाई पराजित अध्यक्षले बधाई ज्ञापन गर्ने सामान्य परम्परा र अभ्यास अनुरुप मैले बधाई ज्ञापन गर्छु भन्दा त्यसो गर्न समेत नदिइएको तीतो पृष्ठभूमिमा स्थिति सामान्य बनाउन महाधिवेन पछि पार्टी अध्यक्ष तपाई वा तपाई पक्षधर कुनै नेताले मसंग राजनीतिक विषय वा जिम्मेवारीबारे कुरा सम्म गरेको थिएन । बरु सत्ताको दुरुपयोग गर्दै मेरो विरुद्धमा निरन्तर प्रहार गर्ने कार्य जारी थियो । त्यस्तो अवस्थामा मसंग एक वचन नसोधी, कुनै जानकारी नदिई सल्लाहकार परिषद्को सदस्य बनाउने भनिएको कुरा मैले संचार माध्यमबाट अछाममा थाहा पाएँ । के यस्तो व्यवहारले साँच्चि नै पार्टीमा मलाई यथोचित भूमिका र जिम्मेवारी दिने आशयबाट सल्लाहकारको कुरा गरिएको भन्ने बुझाउँछ र ? यदि मलाई साँच्चै त्यही जिम्मेवारीमा पनि स्वच्छ मनले राख्न खोजेको भए मेरो असमति पछि मलाई बोलाएर सल्लाकार परिषद्मा राख्नुको कारण र त्यहाँ रहेर काम गर्नुपर्ने परिस्थितिबारे नेतृत्व तहबाट विधिवत् जानकारी गराइन्थ्यो होला नि । के त्यसो भयो त ? पार्टीले नसोधी वा कुनै व्यक्तिको इच्छा विपरीत कुनै जिम्मेवारी दिएको स्थितिमा विगतमा सम्बन्धित व्यक्तिले नमानेका दर्जनौं घटना मैले देखेको र जानेको छु । राजनीति भनेको भन्ने कुरा मैले सिद्धान्त, नीतिको आधारमा पारस्परिक विश्वास र भावनात्मक एकताको आधारमा चल्छ यहाँ भनिरहनु पर्छ र? 

४. महाधिवेशन पछि पार्टी केन्द्रसंग सम्पर्क नगर्नेबारे 

महाधिवेशन पछि पार्टी केन्द्रसंग सम्पर्क गर्नुपर्ने भनेको के हो? मैले को को संग, कहाँ, कहाँ गएर कस्तो सम्पर्क गर्नुपर्थ्यो? मैले लामो समय पार्टीमा काम गर्दा कुनै मतभेद वा अन्तरविरोध उत्पन्न भएमा त्यसको समाधानमा स्वयं सम्बन्धित नेतृत्वले पहल गरेर सम्बन्धित व्यक्तिसंग छलफल गरी टुंगो लगाउने पद्धति देख्दै र आफु जिम्मेवारीमा हुँदा अभ्यास गर्दै आएको हुँ । के पार्टीमा उत्पन्न अन्तरविरोध र समस्याको समाधान गर्ने अधिकार र भूमिकामा म थिएँ ? आफैले कार्यदल गठन गरी स्थायी कमिटीका ११ जना नेताहरुले निकै मेहनत गरी तयार गरेको १० बुँदे सहमतिलाई केन्द्रीय कमिटीले अनुमोदन गरी कार्यान्वयका लागि अन्तरपार्टी निर्देशन जारी भइसकेको अवस्थामा समेत कार्यान्वयन गर्ननदिने तपाईको गैरजिम्मेवार व्यवहारबाट सिर्जित अन्तरविरोध र समस्याको समाधान गर्ने जिम्मेवारी के मेरो थियो र मैले धाउनु पर्थ्यो ? कि पार्टी केन्द्रसंग सम्पर्क गर्ने नाममा विना काम मैले अमुक व्यक्तिहरुको नियमित रुपमा "दर्शन" गर्नुपर्थ्यो ? माधव नेपालको विरुद्ध गुटबन्दी गरी राष्ट्रिय स्तरमा नै छाया समिति बनाएर काम गरिरहेको बेला वा बैठक नभएको वा कुनै निश्चित काम नभएको बेला बल्खुको केन्द्रीय कार्यालय वा माधव नेपालको घरमा तपाई के.पी. ओली धाउनु हुन्थ्यो र ? अँझ तपाईले केन्द्रीय कमिटीको बैठकमा समेत ढिलो आउने, लामो बोल्ने र अरुको कुरा नसुनी बैठक छोडेर हिड्ने गरेको त्यस बेलाका केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई थाहा छैन र ? त्यस्तो गर्ने व्यक्तिले कम्युनिष्ट पार्टीमा “पार्टी केन्द्रसंग सम्पर्क" गर्नुपर्ने भनेको के हो, स्पष्ट गर्नुपर्दैन र ? यदि बोलाउँदा जाने कुरा गरिएको हो भने तपाईले र वार्ता कमिटीले बोलाउँदा तत्परताका साथ म केन्द्रीय कार्यालय च्यासलमा गएको होइन र ? अतः मैले पार्टी केन्द्रसंग सम्पर्क नगरेको भन्ने कुरा कथित • स्पष्टिकरणमा राखिनु हास्यास्पद एवं भ्रमपूर्ण छैन र ? 

५. पार्टीका नीति, निर्णय र नेतृत्व विरुद्ध अभिव्यक्ति दिएको भन्ने बारे 

“ पार्टीका नीति, निर्णय र नेतृत्व विरुद्ध श्रृंखलाबद्ध अभिव्यक्ति सार्वजनिक" गरिएको भन्ने पत्रमा लेखिएको रहेछ । देश र जनताको नेतृत्व गर्ने, विधि, पद्धति र कानूनी शासनका कुरा गर्ने तथा तथ्यबाट सत्य पत्ता लगाउने मान्यता बोकेको पार्टीले सतही, काल्पनिक र अमूर्त कुरा गरेर कसैलाई कुनै आरोप लगाउन मिल्दैन । म सोध्न चाहन्छु- मैले नेकपा (एमाले) को कुन नीति, निर्णयको विरुद्ध कहिले, कसरी, कुन अभिव्यक्ति दिएँ ? नेतृत्वको विरुद्ध कहाँ, कहिले, के कुरा भनेर कस्तो अभिव्यक्ति दिएँ भनेर किन नखुलाएको ? त्यसरी खुलाएको भए म त्यस विषयमा यस्तो हो भनेर स्पष्ट भन्न सक्थें होला । अतः यो भनाई निराधार र अमूर्त कुरा गरी कार्यकर्ता र जनतालाई भ्रमित गर्दै मेरो विरुद्ध जनमत सिर्जना गर्ने कुत्सित आशयबाट प्रेरित छ किन नभन्ने? 

६. कार्यदलसंग छलफल गर्न अनिच्छा देखाएको भन्ने बारे 

६.१ "पार्टीद्वारा गठित कार्यदलसँग छलफल गरी निस्कर्षमा पुग्न अनिच्छा देखाउँदै 'पार्टी अध्यक्षसँग आफै छलफल गर्ने' भन्दै पन्छिनु भयो” भन्ने वाक्य पत्रमा लेखिएको देख्दा यति हदसम्म झुटा प्रचार गरी भ्रमको खेती गर्नेहरुले देश र जनतालाई ढाँडन के मात्र बाँकि राख्छन् होला भनी म विस्मित भएको छु । २०८० साल वैशाख ३ गते केन्द्रीय कार्यालय, च्यासलमा विहान मेरो पार्टी उपाध्यक्ष विष्णु पौडल संयोजक तथा सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा सदस्य रहेको कार्यदलसंग वार्ता भएको थियो । सो अवसरमा अन्य कुराका साथै मैले भनेको थिएँ- मेरो तपाईहरु र कसैसंग पनि व्यक्तिगत केही छैन । मेरा केही राजनीतिक, वैचारिक र विधिगत कुराहरु छन् । यसबारे अध्यक्षसंग छलफल गरौं । तपाईहरुले समय मिलाउनु होस् । सबैजना जाऔँ । उहाँसंगको कुरा पछि फेरी हामीहरु बसेर कुरा गरौंला । मेरो कुरामा सबैको सहमति भयो । यस्तो तथ्यको विपरीत पार्टी महासचिव जस्तो व्यक्तिले हस्ताक्षर गरेको पत्रमा मैले कार्यदलसंग कुरा गर्न “अनिच्छा देखाउँदै अध्यक्षसंग आफै छलफल गर्ने" भनेको भनी सरासर झुटा कुरा गर्नु पार्टीको नेतृत्वमा पुग्ने व्यक्तिको इमान्दारी र विश्वसनीयताको तह कति तल झरेछ भन्ने स्पष्ट हुँदैन र ? 

६.२ सहमित अनुरुप कार्यदलको तर्फबाट न कुनै समय मिलाइयो नत अध्यक्षसंग नै कुरा भयो । बरु उक्त सहमति अनुरुप कार्यदलको तर्फबाट कुनै पहल गरिएन र वार्तालाई फगत नाटक र धोकाको रएन र बाता पर्याय बनाइयो । 

कार्यदलसंग मेरो कुरा भएको चार महिना पछि साउन २८ गते मात्र कार्यदलका संयोजक विष्णु पौडेलले अध्यक्ष केपी ओलीसंग भेट्ने कुरा फोनमा गर्नु भयो । कुराकानीको यो प्रबन्ध म समेत सहभागी छलफलमा भएको सहमति अनुरुप थिएन । मसंग वार्ता भएको चार महिना पछि भएको कुरालाई कार्यदलले “अध्यक्षको भेटको प्रबन्ध मिलाएको” भन्नु ब्यर्थ छ । यद्यपि मैले वार्ताका लागि सहमति जनाएँ र २०८० साल साउन ३० गते केन्द्रीय कार्यालय च्यासलमा तपाई के.पी. ओलीसंग दुई घण्टा कुरा भयो । तर कुराकानीमा कार्यदलका कसैको पनि उपस्थिति थिएन । त्यहाँ त उपमहासचिव विष्णु रिमालको उपस्थिति थियो । के यो कार्यदलमा भएको सहमति अनुरुप थियो त? तर पनि मैले भरसक मिलाउने किसिमले सहजरुपमा कुरा गरें । तपाईले कुरा गर्ने सिलसिलामा “ मसंग तपाईले त चुनाव लड्दिन भनेकोले टिकट नदिएको हो” भनेपछि अति भयो भन्ने लागेर “तपाई र मेरो बीचमा कहिले कुरा भयो र मैले चुनाव लड्दिन भनें, यस्तो कुरा त साह्रै भएन” भनेको थिएँ । तपाई चुप लाग्नु भएको थियो । अरु कुरा ध्यान पूर्वक सुनेको थिएँ र तपाईका कुरा सकिए पछि आफ्ना कुरा राखेको थिएँ । तपाईले घडी हेरे पछि मैले भनेको थिएँ : आज यत्ति गरौं, फेरी कुरा गरौं । तपाईले मेरा सबै कुरा सुन्नु होस्, म तपाईका सबै कुरा सुन्छु । तपाईले समय दिनुहोस्, तपाई स्वाभाविक रुपमा व्यस्त हुनुहुन्छ । जहिले भन्नु हुन्छ, म कुराको लागि तयार छु । ७/८ दिन म यहीं छु । यस बीचमा बोलाउनु भयो भने आइहाल्छु । त्यसपछि भने अछाममा भूकम्पले चर्किएको घर बनाउनु पर्ने छ । म एक महिना जति त्यहीं हुन्छु । त्यसपछि म कुराको लागि तयार छु । खवर पाउँ । 

प्रतिउत्तरमा तपाईले हुन्छ भने । भेटघाट पछि पत्रकारहरुको प्रश्नको उत्तरमा मैले “भेटघाट सद्भावपूर्ण वातावरणमा भयो.... फेरी बस्ने कुरा भएको छ” भनेको थिएँ तर पत्रमा “भेटघाट सकारात्मक भयो...पुनः बस्ने र काममा संलग्न हुने... सार्वजनिक अभिव्यक्ति दिदै विदा हुनुभएको तपाई तत्पश्चात् पार्टीको सम्पर्कमा आउनु भएन” भन्दै झुटा कुरा गरिएको छ । के वार्ताका लागि खवर गर्ने जिम्मा तपाई केपी ओलीले मलाई दिनु भएको थियो वा मेरो हातमा त्यसो गर्ने अधिकार थियो र ? समय मिलाउने जिम्मेवार या तपाई स्वयं या पार्टी केन्द्रीय कार्यालयको होइन र ? के म देश बाहिर वा सम्पर्क गर्नै नसकिने ठाउँमा थिएँ र ? 

६.३ तपाईसंग सहमति भए अनुसार ७/८ दिनमा न कुनै खवर आयो नत अछामबाट फर्के पछि कुराका लागि बोलाइयो । उल्टै मेरो विरुद्धमा तपाइलाई “बा” भन्नेहरुले सुदूरपश्चिमका जिल्लाहरु, विशेषतः अछाममा “भीम रावलसंग भेटे वा कुरा गरेमा नम्बर काटिन्छ, योजना पाइने छैन” भन्ने जस्तो कुप्रचार तीब्र पारे । कार्यदलका कुनै पनि व्यक्तिले मसंग सम्पर्क र कुराकानी गरेनन् । स्थायी कमिटीका सदस्य कर्ण थापाले कुरा गरौं भन्दा मैले सहमति जनाउँदै मेरै घरमा भेटौन भन्दा उहाँ घरमा आउन सहमत नहुँदा अन्यत्र बसेर झण्डै एक घण्टा कुरा भएको थियो । कुराकानीमा मैले राजनीतिक, वैचारिक तथा विधिगत विषयमा मतभेद भएकोले पार्टी अध्यक्षसंग यसबारे छलफल गर्न तयार रहेको कुरा गरेको थिएँ । तर तत्सम्बन्धमा कुनै खवर आएन । कार्यदलका अन्य व्यक्तिहरुले कुनै चासो र सरोकार राखेनन् । कुनैपनि विवाद वा समस्याबारे पार्टीले औपचारिक रुपमा कार्यदल गठन गरिसकेपछि त्यसले यथोचित अध्ययन र छलफल गरी वस्तुगत रुपमा सुझाव प्रतिवदेन दिनु कर्तब्य हुन्छ । कार्यदल गठन गर्नेले सुझाव प्रतिवेदनको आधारमा निर्णय गर्नुपर्छ । तर न कार्यदलले म संग गम्भीर छलफल गरी कुनै सुझाव प्रतिवेदन दियो नत सचिवालयले कुनै निर्णय नै गयो । यसरी कार्यदल र वार्ता केवल कार्यकर्ता पंक्तिलाई देखाउनका लागि र सार्वजनिक खपतका लागि रचिएको नाटक मात्र थियो भन्ने समयक्रममा स्पष्ट भएन र ? यसको थप पुष्टि तपाईलाई भेट्न गएका कतिपय नेता र कार्यकर्ताले भीम रावलको विषयमा उचित निर्णय र जिम्मेवारीबारे सोच्नु पयो भन्दा “चिन्ता गर्नु पर्दैन गम्भीर कुरा भइरहेको छ, छिटै टुंगोमा पुगिन्छ” भन्ने गरेबाट हुन्छ । यी तथ्य विवरणले के मैले कार्यदलसंग कुरा गर्न “अनिच्छा देखाएको” पुष्टि गर्छन् र? तथ्य र घटनाक्रमले तपाईको निर्देशनमा कार्यदलले नै वार्तालाई नाटकमा परिणत गरेको स्पष्ट हुदैन र ? 

७. नेतृत्वका विरुद्ध काम गरेको, पार्टीको निर्देशनको अवज्ञा गरेको तथा समानान्तर गतिविधि गरेको बारे 

७.१ पत्रमा “कार्यकर्तालाई नेतृत्वका विरुद्ध भड्काउने तथा अनास्था र अविश्वास पैदा गर्नेगरी गतिविधि गर्दै.... स्थानीय पार्टी कमिटीको निर्देशनलाई समेत अवज्ञा गर्दै समानान्तर गतिविधिहरु गर्नेगरेका गुनासाहरु पार्टी केन्द्रमा आएका छन्” भनिएको रहेछ । यदि पत्रमा भनिए जस्तो मैले गरेको रहेछ भने कहाँ, कहिले कुन नेताका विरुद्ध कसलाई, कसरी र के भनेर “भड्काउने” र निजप्रति “अनास्था र अविश्वास पैदा गर्ने” काम गरेको रहेछु भन्न सक्नु पर्थ्यो । यस्तो काम गर्नको लागि गर्ननहुने के “गतिविधि” कहिले र कहाँ गरेको रहेछु भन्न सक्नु पर्थ्यो । किन नभनेको? काल्पनिक र भ्रमपूर्ण कुरा गरेर पार्टी पंक्ति र जनतालाई वास्तविकताबाट बञ्चित गर्न खोज्नु गैर जिम्मेवार र मार्क्सवाद मान्छु भन्नेका लागि अत्यन्त अनुचित हुँदैन र? 

७.२ पत्रमा भनिए झैं स्थानीय पार्टी कमिटीले यदि मेरो विरुद्ध “गुनासो” गरेको रहेछ भने त्यस्तो गुनासो कुन कमिटीले, कहिले र कुन निर्णयको बारेमा लिखित वा मौखिक रुपमा गरेको रहेछ ? मलाई कुन स्थानीय कमिटीले दिएको के निर्देशनको कहिले अवज्ञा गरेको रहेछु? “गुनासो” कथित स्थानीय कमिटीले निर्णय गरेर केन्द्रमा पुऱ्याएको थियो वा कुनै व्यक्ति विशेषले निहित उद्देश्यबाट मनोगत रुपमा साखुल्य हुनका लागि कुनै केन्द्रीय नेतालाई पोखेको थियो भन्ने बारे मलाई बोलाएर जान्न बुझ्न पर्दैन थियो र? मलाई बोलाएर छलफल किन नगरेको त? म कुनै स्थानीय पार्टी कमिटीको अधिनस्थ जिम्मेवारीमा नरहेकोले त्यस्तो कमिटीले मेरो विरुद्ध भनेको कुराका सम्बन्धमा केन्द्रीय नेतृत्वले मसंग यथा समयमा सोध्नु र छलफल गर्नुपर्ने होइन र? एकतर्फी कुरा लगाउनेहरुबाट प्रभावित भएर वा सुनियोजित किसिमले त्यस्ता कुरा कथेर अहिले आएर “स्पष्टिकरण” सोध्नु प्रतिशोध, पूर्वाग्रह र निषेधको दुराशयबाट प्रेरित रहेको देखिन्न र? 

७.३ पार्टीमा समानान्तर गतिविधि भन्नाले कुनै कमिटी वा जिम्मेवार व्यक्तिले कुनै समयमा गरेको कुनै भेला, कार्यक्रम र संगठन निर्माणको काम जस्तै सोही समयमा अन्य कसैले गरेमा त्यसो समानान्तर गतिविधि ठानिन्छ । मैले कुन संगठनले वा कसले, कस्तो र कुन समयमा गरेको जस्तै गतिविधि गरें र ? किन भन्न नसकेको ? के मैले पाँच दशक लामो समय काम गरेको राजनीतिक दलका नेता, कार्यकर्ता र सदस्य तथा शुभेच्छुक जनतासंग भेटघाट गरेको वा कुनै सामाजिक कार्यक्रममा सहभागी त्यहाँ पार्टीका कार्यकर्ताको समेत सहभागित हुँदा समानान्तर गतिविधि ठहरिन्छ र? के नेकपा (एमाले) मा कुनै नेताले कार्यकर्तासंग भेटघाट गर्न वा कुरा गर्न तपाई वा तपाईले खटाएको व्यक्तिसग सोध्नु पर्ने हो र? तपाईले जहिले जहाँसुकै र जोसंग पनि जुनसुकै समयमा भेटवार्ता गर्न हुने पाँच दशकदेखि निरन्तर यो पार्टी निर्माणमा कटिबद्ध मैले कार्यकर्ता र जनतासंग भेट्न र भलाकुसारी गर्ने नहुने हो र? स्मरीणय छ, विगतमा तपाई प्रमुख नेता नरहेको बेला विभिन्न कालखण्डमा नेकपा (एमाले) मा पार्टी संगठन र जनसंगठनमा समानान्तर कमिटीहरु बनेर संचालन गरिदा पनि कसैमाथि “स्पष्टिकरण” को डण्डा नचलाएको र राजनीतिक छलफल, विचार-विमर्शबाट समस्याको समाधान गरिएको थियो । अझ तपाईले गुटबन्दी गर्दै देशभर छाया केन्द्रीय समिति बनाएर चरम गुटबन्दी गर्दा समेत कुनै “स्पष्टिकरण” नसोधिएको किन सम्झना नगरेको ? सत्य र तथ्य बोल्न र भन्न नपाइने, पार्टीका घोषित सिद्धान्त, नीति र कार्यक्रमको पक्षमा तर्क गर्न नपाईने, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा धारणा राख्न नपाईने, जनतामा माथि भएको अन्यायको विरोध गर्न नपाईने र पार्टी देश र जनताको हितको लागि बनाइएको साझा संगठन हुनुपर्छ भन्ने मान्यताको पक्षमा उभिन नपाइने भए मार्क्सवाद- लेनिनवाद, द्वन्द्ववाद र जनताको बहुदलीय जनवादको कुरा के देखावटी रट मात्र हो र ? 

८. सार्वजनिक अभिव्यक्तिले पार्टीको प्रतिष्ठामा आँच पुऱ्याएको बारे 

पत्रमा “आम सञ्चारका माध्यममा सार्वजनिक भएका तपाईका कतिपय अभिव्यक्ति र .... पार्टीको नीति, विधि, निर्णय विपरीत मात्रै छैनन्, तिनीहरुले पार्टीको प्रतिष्ठा एवम् मर्यादामा गम्भीर आँच पुऱ्याएको...” भनिएको रहेछ । मैले कुन सञ्चारका माध्यममा कहिले दिएको कुन अभिव्यक्ति र गतिविधि पार्टीको कुन नीति, विधि र निर्णय विपरीत भएछ तथा त्यसले पार्टीको प्रतिष्ठा र मर्यादामा कसरी र कहाँ “आँच पुयाएको" रहेछ भन्ने किन स्पष्ट नगरेको ? त्यसरी स्पष्ट नगरी “कतिपय अभिव्यक्ति” भन्दै भ्रम सिर्जना गरी मैले देश, जनता र पार्टीका घोषित सिद्धान्त, कार्यक्रम र नीतिको पक्षपोषण गर्दै बोलेको र लेखेकोलाई ओझेलमा पार्ने दुस्प्रयास गर्नु नै के जनताको बहुदलीय जनवादको मर्म हो र? नेपाल कम्युनिष्ट पार्टीले २००६ साल देखि नै तथा को-अर्डिनेशन केन्द्र, नेकपा (माले) हुँदै नेकपा (एमाले) सम्मका घोषित सिद्धान्त, कार्यक्रम र नीतिहरु एवम् महाधिवेशन र बैठकका दस्तावेजहरुमा उल्लेख भएका नीति, विधि र निर्णित विषयहरुको मैले दृढतापूर्वक पक्षपोषण गर्दै आएको हुँ । यसो गर्दा नेकपा (एमाले) को प्रतिष्ठा र मर्यादामा “आँच पुऱ्याएको” भन्नु हास्यास्पद र पूर्वाग्रहपूर्ण हुनुका साथै उक्त नीति, विधि र दृष्टिकोणबाट विचलनको द्योतक मात्र हो । अतः मलाई “कावाई” गर्ने भनी उल्लेख गरिएको धारा यहाँ आकर्षित हुनसक्दैन । 

यथार्थमा चुनावी गठबन्धन देखि, फौज्दारी मुद्दाका अभियुक्त, अनैतिक, भ्रष्ट तथा पार्टी निर्माणमा एक थोपा पंसिना नबगाएकाहरु एवं विचौलिया र दलालहरुलाई संरक्षण गर्नुका साथै त्यस्तैको स्वार्थमा काम गर्ने नेतृत्वका क्रियाकलापहरु नै पार्टीको सिद्धान्त र नीति विपरीत छैनन् र? तिनले पार्टीको प्रतिष्ठा, मर्यादा र प्रगतिमा आँच पुऱ्याएका छैनन् र? 

मलाई सोधिएको कथित स्पष्टिकरण पूर्वाग्रह, दुराग्रह र प्रतिशोधको दुर्भावानाबाट ग्रसित छ भन्ने कुरा पार्टीमा सबैलाई समान र निष्पक्ष व्यवहार हुनुपर्छ भनी आवाज उठाउँदै आएका सुदूरपश्चिम प्रदेश कमिटी र अछाम जिल्ला कमिटीमा आवद्ध कतिपय नेताहरुलाई मलाई स्पष्टिकरण सोधिएको भोली पल्टै “कार्वाई” को धम्की दिदै “स्पष्टिकरण” सोधिएबाट र कतिलाई “निलम्बन” छर्लङ्ग हुँदैन र ? 

९. स्पष्टीकरण सात दिनमा दिनुपर्ने बारे 

जति बेला तपाई के.पी. ओली ज्यान मुद्दामा भ्यालखानामा हुनुहुन्थ्यो, झापा संघर्षमै झ्यालखानामा परेका साथीहरुसंग नमिलेर अलग्गै बस्नु खानु हुन्थ्यो । किन यस्तो भयो भनी उहाँहरुले सोध्दा तपाईलाई “अवसरवादी” भएकोले भन्ने जवाफ पाइएको थियो । अत्यन्त प्रतिकूल स्थिति भएको बेला जनसमुदायको बीचमा म समेतका धेरै व्यक्तिले पार्टी संगठन निर्माणको जोखिमपूर्ण काम गरेका थियौं । म समेतले राजकाज लगायतका मुद्दा झेल्दै पटक-पटक बन्दी हुनु परेको थियो । यसरी अनेकौं कठीन चरणहरु र क्षणमा पार्टी संगठनको निर्माण, विस्तार र रक्षामा पाँच दशकसम्म योगदान गरिएको थियो । पार्टी र सरकारका विभिन्न महत्वपूर्ण जिम्मेवारी इमानका साथ वहन गर्दै पूरा गरिएको थियो । यस्तो तथ्य तपाईको जानकारीमा भएकोले मलाई बोलाएर अन्तरविरोध र समस्या बारे छलफल गरी आरम्भ गरिएको वार्ता प्रक्रियाको टुंगो लगाइएला भन्ने मेरो अपेक्षा थियो । विगतमा पार्टीमा उत्पन्न विभिन्न अन्तरविरोध र गम्भीर समस्याको समाधान राजनीतिक छलफल र पारस्परिक विश्वासको आधारमा गरिएको परिपाटी सम्झदै त्यसबाट तपाई विमुख भइसकेको भन्ने मलाई लागि हालेको थिएन । तर एकतर्फी रुपमा सुने-सुनाइएका कुराको आधारमा जस्तो भाषा र विषयमा “स्पष्टिकरण” सोधियो त्यसको कुनै औचित्य देखिएन । राजनीति भनेको निश्चित सिद्धान्त, कार्यक्रम, नीति, आदर्श र पारस्परिक सम्मान एवम् विश्वासमा आधारित हुन्छ । कसैले कसैलाई धाक-धम्की, दमन र प्रताडित गरेर ज्यू-हजुर गरिरहनु पर्छ भन्ने मान्यता अलोकतान्त्रिक, मार्क्सवाद र जनताको बहुदलीय जनवाद विरोधी कुरा होइन र ? 

सत्ताको खेल देश एवं जनताको आवश्यकता र अपेक्षा विपरीत तथा अत्यन्त अनैतिक दिशामा जान थाले पछि मैले २०७८ साल साउन ३ गते “अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार, देश, जनता र पार्टीको हितभन्दा नीजि स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्रको मतियार हुनुभन्दा अलग हुनु श्रेयस्कर" भन्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको थिएँ । देश, जनता तथा मूल्य र मान्यताको लागि पदबाट नै राजीनामा गर्ने कटिबद्ध व्यक्तिलाई तपाईको कलुषित स्पष्टिकरणको टालोले केही पनि छुदैन भन्ने कसरी बिर्सनु भयो ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप