शनिबार, २० पुस २०८१
ताजा लोकप्रिय

२०२४ मा कति थपियो अति धनाढ्यहरूको सम्पत्ति ?

बुधबार, १७ पुस २०८१, १६ : ३१
बुधबार, १७ पुस २०८१

वासिङ्टन डिसी । २०२४ मा तपाईंले कति पैसा जोगाउनुभयो ? वा गुमाउनुभयो ? गएको वर्षले विश्वका सबैभन्दा धनाढ्य ५०० जनालाई झनै धनी बनाएर गएको छ । ब्लुम्बर्गको ५०० अर्बपतिको सूचीमा रहेका एलन मस्क, मार्क जकरबर्ग र जेन्सन हुआङ्ग लगायत अति धनाढ्यहरूको कूल सम्पत्ति पहिलोपटक १०० खर्ब डलरमाथि उक्लिएको छ ।

अमेरिकी प्रविधि क्षेत्रका कम्पनीका शेयरमा भएको शानदार वृद्धिका कारण यी अर्बपतिहरूको नेटवर्थ बढेको हो । अमेरिकी निर्वाचनबाट राष्ट्रपति चयन भएका डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्ध भएका मस्कका टेस्ला, स्पेशएक्स एक्स एआई जस्ता कम्पनीका शेयर मूल्य कीर्तिमानी स्तरमा पुगेपछि मस्कको सम्पत्तिले नयाँ उचाइ छोएको हो । २०२४ मा सम्पत्ति गुमाउने केही अति धनाढ्य पनि छन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २०२४ मा ५०० धनी व्यक्तिको कुल सम्पत्ति १०० खर्ब डलर पुगेको छ । यी मध्ये आठ जना अर्थात् मस्क, जकरबर्ग, हुआंग, ल्यारी एलिसन, जेफ बेजोस, माइकल डेल र गुगलका सह–संस्थापक ल्यारी पेज र सर्गेई ब्रिनको नेटवर्थ नै ६ खर्ब डलर छ ।

यो सूचीमा सबैभन्दा धेरै सम्पत्ति हुने मस्क हुन् । उनको कुल सम्पत्ति ४ खर्ब ४२ अर्ब १० करोड डलर छ । वर्षको सुरुको तुलनामा यो २ खर्ब १३ अर्ब डलर बढी हो । अर्थात् एक वर्षमा मस्कको कुल सम्पत्ति दोब्बर भएको छ । दोस्रो स्थानमा रहेका अमेजनका संस्थापक जेफ बेजोस र मस्कबीच नेटवर्थ १ खर्ब ९३ अर्ब डलरको भिन्नता छ । वर्षको अन्त्यमा बेजोसको नेटवर्थ २ अर्ब ३९ अर्ब डलरमा उक्लिएको छ । विश्वका शीर्ष दुई धनाढ्यको सम्पत्तिमा यति ठुलो अन्तर यसअघि कहिल्यै देखिएको थिएन ।

टेक्नोलोजी स्टकहरूको बलियो प्रदर्शन

२०२४ मा एसएन्डपी ५०० सूचकाङ्क २४ प्रतिशतले बढेको छ । यो वृद्धिमा मुख्य योगदान ‘म्याग्निफिसेन्ट सेभेन’ अर्थात् टेस्ला, मेटा प्लेटफर्म र एनभिडिया जस्ता कम्पनीहरूको रह्यो । एनभिडियाका सीईओ जेन्सेन हुआङले एआई बूमको सबैभन्दा ठुलो फाइदा उठाए । उनले आफ्नो सम्पत्ति ७६ अर्ब डलरले बढाए । मार्क जुकरबर्गको सम्पत्ति पनि २०२४ मा ८१ अर्ब डलर थपियो ।

डिजिटल सम्पत्ति र क्रिप्टोले छोयो नयाँ उचाइ

नोभेम्बर ५ मा अमेरिकामा भएको निर्वाचन ट्रम्पले जित हात पारेपछि शेयर बजार मात्र होइन डिजिटल सम्पत्ति बजार पनि हरियालीमा छ । विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिट्क्वाइनको भाउ पहिलो पटक गोटाकै एक लाख डलरमाथि उक्लियो । योसँगै बिन्यान्सका संस्थापक चाङपेङ झाओको कुल सम्पत्ति ६० प्रतिशतले बढेर ५५ अर्ब डलर पुगेको छ ।

गएको वर्ष फ्रन्सेली लक्जरी अर्बपति बर्नार्ड आर्नोको सम्पत्ति २७ अर्ब डलरले घटेको छ । चिनियाँ ई–कमर्स व्यवसायी कलिन हुआङको नेटवर्थ पनि २९ प्रतिशतले घट्यो । यो  सूचीमा मेक्सिकोका खुद्रा र बैङ्किङ कम्पनी ग्रुप एलेकट्राका अध्यक्ष रिकार्डो सालीनास, ल्याटिन अमेरिकी दूरसञ्चार, बैंकिङ्ग, निर्माण क्षेत्रका लगानीकर्ता कार्लोस स्लिम, आदिको नाम अगाडि छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप