स्वर्णलक्ष्मीमा रविसहित ४४ जना प्रतिवादी, १ अर्ब १९ करोड बिगो कायम गर्नुपर्ने प्रहरीको राय
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा ४४ जनालाई प्रतिवादी कायम गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ ।
बुधवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धान पुरा गरेर आज प्रतिवेदन बुझाउँदै छौँ ।’
प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी लिन सरकारी वकिललाई राय दिएको छ । कार्तिक २१ मा लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामा पक्राउ परेका थिए । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, जीबीको साढुभाई दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने प्रहरीको राय छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा विद्यार्थी नेता दिपेश पुनकी पत्नी सविना आले मगरलाई पनि प्रहरीले प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ । सविना कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् । दिपेश पुन पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका हुन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ५ हजार ६६९ जना बचकर्ताले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ जम्मा गरेको भेटिएको छ । केन्द्रीय कार्यालय कालिमाटीमा रहेको सो सहकारीको शाखा न्यूरोड, महाराजगञ्ज, स्वयम्भू र जोरपाटीमा पनि खोलेर आर्थिक कारोबार गरेको भेटिएको छ । रकम अपचलनबारे अनुसन्धान गर्न प्रहरीमा ६९० जनाले जाहेरी दिएका थिए ।
स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई र पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा संयुक्त रूपमा प्रवाह भएको ऋण पनि नतिरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । रवि र जीबीको नाममा प्रवाह भएको ‘फोर ह्विलर लोन’ र ‘ईको सेभेन सिटर भ्यान’ बापतको ६१ लाख फिर्ता गर्न बाँकी रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
राई र लामिछानेले लगेको रकमसहित सहकारीबाट गोरखा मिडियामा गएको १ करोड ८२ लाख फिर्ता नगरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लेखापरिक्षण प्रतिवेदनबाट पनि सो कुरा पुष्टि भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको मुद्दामा लामिछाने र पूर्वडीआईजी जोशीमाथि कास्की जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ ।
हर्बो इन्टरनेशलसहित १२ कम्पनीमा ऋण प्रवाह
स्वर्णलक्ष्मीबाट हर्बो इन्टरनेशल प्रा.लिसहित १२ वटा कम्पनीहरूमा ऋण प्रवाह भएको भेटिएको छ । देबदिप एग्रिकल्चर, मन्दरा टुर्स एण्ड एक्सपिडीसन, गोर्खा हर्वल प्रोडक्सन, मन्दरा टुर्स एण्ड ट्राभल्स, कुमकुम हर्वल उद्योग, न्यु सुलक्स अफसेट, गोरखा ग्रुप अफ कम्पनिज, सारेगामा रेकर्डस् र भगवती बालुवाखानी सहित १२ वटा कम्पनीमा ऋण प्रवाह गरेको भेटिएको छ । गोरखा मिडिया नेवटर्कसहित सो कम्पनीहरुको प्रबन्धपत्र नियमावली माग गरेर कम्पनी रजिष्टारको कार्यालयमा पत्राचार गरिएको एसपी अधिकारीले बताए ।
गोरखा मिडिया नेवटर्क प्रालि र त्यसका संचालकहरु समेतका नाममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ६४ करोड ८३ लाख ३८ हजार रुपैयाँ स्वर्णलक्ष्मीबाट कारोबार भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बिगो मागदाबी पनि सोही अनुसार गरिएको एसपी अधिकारीले बताए ।
रास्वपाका सभापति लामिछानेले २०७८ भदौ ४ मा ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएका हुन् । ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ ।
त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ ।