शनिबार, २० पुस २०८१
ताजा लोकप्रिय

२०२५ मा लाग्ला युद्धहरूमा विराम ?

बुधबार, १७ पुस २०८१, १५ : ०३
बुधबार, १७ पुस २०८१

काठमाडौँ । २०२४ मा विश्वभर द्वन्द्वमा निकै वृद्धि भयो । वर्षभरि द्वन्द्वमा कम्तीमा २ लाख ३३ हजार मानिस मारिएको ‘सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क’ संगठनको अनुमान छ ।

युक्रेन, गाजा, म्यानमार र अन्य ठाउँमा भएका युद्धका बिच विगत पाँच वर्षमा विश्वभर द्वन्द्वको स्तर दोब्बर भएको छ । नयाँ वर्ष सुरु हुँदै गर्दा विश्वको ध्यान युक्रेन, गाजा, म्यानमार र अन्य ठाउँहरूमा यस वर्ष द्वन्द्व हुन्छ कि हुँदैन भन्नेमा रहेको छ । नयाँ वर्षमा युद्धहरू रोकिएलान् ?

के होला गाजा युद्ध ?

यस वर्ष सारा विश्वको ध्यान गाजा युद्धमा छ । एक वर्षभन्दा बढी समयदेखि गाजामा इजरायली युद्ध चलिरहेको छ । २०२३ को अक्टोबर ७ मा हमासले अभेद्य मानिएको सुरक्षा व्यवस्था तोडेर इजरायलमाथि आक्रमण गर्‍यो । यस हमलामा करिब १ हजार २०० इजरायलीले ज्यान गुमाए । ५ हजारभन्दा बढी घाइते भए । हमासका लडाकुहरूले २ सय ४० जनालाई बन्धक बनाएर गाजा लगे । यीमध्ये कयौँ बन्धकहरूलाई मुक्त गरिएको छ । कयौँ मारिए भने दर्जनौँ अझैँ पनि गाजामा बन्धक छन् । 

उता, इजरायलको जवाफी आक्रमणमा ४२ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । गाजामा २४ लाख मानिस बस्थे । यीमध्ये अधिकांश आफ्नो विस्थापित भएका छन् । अक्टोबर ७ को हमलापछि पश्चिम एसियामा कयौँ मोर्चामा युद्ध सुरु भएको छ । लेबनानमा हिजबुल्लाह र यमनमा हुथी विद्रोहीहरू इजरायलसँग भिडिरहेका छन् ।

अर्काेतर्फ, इजरायल र हमासबिचको युद्धमा जुलाई ३१ मा हत्या हमासको राजनीतिक शाखा प्रमुख इस्माइल हानियाको हत्या भएपछि हमासलाई ठुलो धक्का लागेको छ । जुलाई ३१ मा इरानको राजधानी तेहरानमा हानियाको हत्या भयो । हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सहभागी हुन तेहरान पुगेका थिए । 

अक्टोबर ७ को आक्रमणपछि, इजरायलले हमासको नामोनिशना मेटाउन कशम खाएको थियो । यसका लागि इजरायली सेनाले गाजामा हवाई र स्थल हमला तीव्र पार्‍यो । यसरी एक वर्षभन्दा बढी समयदेखि हमास र इजरायलबिचको रक्तपातपूर्ण युद्ध चलिरहेको छ । धेरै देशको पहलमा दुई पक्षबिच युद्धविरामका लागि वार्ता भएपनि अन्तिम निर्णय भने हुन सकेको छैन ।

लेबनानमा हिजबुल्लाहसँगको दुई महिनाको युद्धविराम लागू भएपछि अमेरिकाले गाजामा कतार, इजिप्ट र टर्कीलाई समावेश गरी सम्झौतामा पुग्नका लागि नयाँ प्रयास गर्न आग्रह गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा परिस्थिति बदलिएको र हमास एक्लो तथा नेतृत्वविहीन भएको स्वीकारेका छन् । 

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जनवरी २० मा आफूले पदभार ग्रहण गर्नु अघि गाजामा सम्झौता भएको हेर्न चाहेको संकेत गरेका छन् । सो अवधिमा गाजामा युद्धविराम गराउन अमेरिकी सरकार असफल भयो भने नयाँ सरकारले गाजामा कुन हदसम्म ध्यान केन्द्रित गर्नेछ भन्ने कुरा चाँहि अमेरिकी विदेश नीतिको प्राथमिकता र ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीमा निर्भर हुनेछ ।

के होला रुस युक्रेन युद्ध ?

२०२२ को फेब्रुअरीदेखि नै रुस र युक्रेनबिच युद्ध चलिरहेको छ र यस वर्ष यो युद्धले कुन बाटो समात्ला भन्नेमा सारा विश्वको नजर छ । २०२२ को फेब्रुअरी २३ को राति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य कारबाहीको घोषणा गरे । त्यसको केही घण्टापछि अर्थात २४ फेब्रुअरीको बिहानै युक्रेनको राजधानी किभ र वरपरका सहरहरूमा अचानक हवाई हमलाहरू हुन थाले । रुसको यो आक्रमणले विश्वभर हलचल मच्चायो । अर्काेतर्फ युक्रेनले पनि जवाफी कारबाही सुरु गर्‍यो । राष्ट्रपति जेलेन्स्कीले एक विज्ञप्तिमा युक्रेनले रुसी आक्रमणबाट युद्धभूमिमा ४३ हजार सेना गुमाएको दाबी गरेका छन् । रुसले भने सार्वजनिक रूपमा आफ्ना कति सेना हताहत भए भनेर भनेको छैन ।

रुस युक्रेन युद्ध सुरु भएसँगै विश्व दुई गुटमा विभाजित भयो । युक्रेनको समर्थनमा नेटोका सदस्य राष्ट्रहरू उभिए । अमेरिका, बेलायत, पोल्याण्ड, फ्रान्सलगायत धेरै देशले युक्रेनलाई सहयोग गर्न थाले । अर्काेतर्फ चीन, दक्षिण कोरिया, इरान जस्ता देशहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसको साथमा छन् । भारतको कुरा गर्दा यसले कसैको पक्ष लिएको छैन । तर, यसबिचमा रुस–युक्रेन युद्ध रोक्न महत्वाकांक्षी प्रयासहरू पनि भए । तर यी सबै प्रयास अहिलेसम्म सफल हुन सकेका छैनन् ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावमा विजयी भएपछि पहिलो पत्रकार सम्मेलनमा युक्रेन युद्ध अन्त्यका लागि केही प्रगति गर्ने इच्छा व्यक्त गरेका थिए । ट्रम्पले द्वन्द्वलाई भयावह भन्दै यसलाई रोक्न तत्कालीन आवश्यकतामा जोड दिएका थिए । यसअघि ट्रम्पले युद्धबारे छलफल गर्न जेलेन्स्की र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँलाई डिसेम्बर ७ मा पेरिसमा भेटेका थिए । रोयटर्सका अनुसार बैठकमा ट्रम्पले तत्काल युद्धविरामको आह्वान गरेका थिए भने जेलेन्स्कीले सुरक्षा प्रत्याभूतिको आवश्यकतामा जोड दिएका थिए ।

सिरियाली संकटमा कुन दिशामा जाला ?

पश्चिम एसियाली देश सिरियमा यति बेला राजनीतिक संकटको स्थिति छ । नयाँ वर्षमा त्यहाँको स्थिति कस्तो होला भन्ने चासो धेरैमा छ । केही वर्षदेखि शान्त रहेको सिरियाली गृहयुद्ध २०२४ को नोभेम्बर–डिसेम्बरमा अचानक भड्कियो । राजनीतिक प्रक्रियामा लामो समयसम्मको गतिरोधपछि सिरियामा विद्रोही समूहहरूले नोभेम्बर २७ मा ठुलो आक्रमण सुरु गरे । १३ दिनमै विद्रोहीहरूले अलेप्पो, होम्स र दारा जस्ता धेरै प्रमुख सहरहरू कब्जा गरे । 

यसै क्रममा विद्रोहीहरू राजधानी दमास्कस छिरे । उता, २४ वर्षदेखि सत्तासिन राष्ट्रपति बशर अल–असद देश छोड्न बाध्य भए । असद र उनको परिवार भागेर रुस गए । सिरियामा अहिले राजनीतिक संकट छ । राष्ट्रपति बशर अल–असदको सरकार पतन भएको छ । इस्लामिक समूह हयात तहरिर–अल–शाम (एचटीएस)को नयाँ कार्यवाहक प्रशासनले शासन आफ्नो नियन्त्रणमा लिएको छ ।

सिरियाली संकट २१ औँ शताब्दीको सबैभन्दा घातक द्वन्द्व र विश्वको सबैभन्दा ठुलो विस्थापन संकट हो । ६० लाखभन्दा धेरै सिरियालीहरू शरणार्थी बनेर देशको सिमाना बाहिर बाध्य भए । कयौँ त अझै पनि पनि देशभित्र विस्थापित छन् । २०२५ को जनवरीदेखि जुनको बीचमा १० लाख सिरियाली शरणार्थी आफ्नो देशमा फर्किन आशा गरिएको संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीले भनेको छ । यसले अन्ततः विस्थापन संकटको अन्त्य गर्न सक्ने आशा गरिएको छ । बशर अल–असद सरकारको पतनपछि सिरियामा स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न संयुक्त राष्ट्र संघले पनि आह्वान गरेको छ ।

कहिले सकिएला म्यानमारको द्वन्द्व ?

myanmar

दक्षिण एसियाली देश म्यानमार सन् २०२१ को ‘कु’यता व्यापक द्वन्द्वमा फसेको छ । यहाँको सेना जातीय सशस्त्र समूह र प्रजातन्त्र पक्षधर शक्तिहरूसँग लगातार भिडिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार, २०२१ को फेब्रुअरी १ मा ‘कू’पछि देशबाट विस्थापन जारी छ । गएको अक्टोबरसम्ममा ३४ लाख ५६ हजारभन्दा धेरै मानिसहरू विस्थापित भएका छन् । महिला तथा बालिकामाथि हुने हिंसा, मानिस तथा सामानको परिवहनमा प्रतिबन्ध, फोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । 

संयुक्त राष्ट्रसंघका अनुसार म्यानमारमा जारी सङ्कटबिच ज्यान गुमाउने सर्वसाधारणको संख्या ६ हजार पुगेको छ । हालै सार्वजनिक भएको एउटा मिडिया रिपोर्टका अनुसार म्यानमारको सैन्य सरकारले २०२५ मा चुनाव गराउने योजना बनाएको छ । यो निर्वाचनले म्यानमार शान्ति स्थापना गर्ला त ? यो भने हेर्न बाँकी नै छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप