पत्रकार सम्मेलनमा भीम रावलद्वारा केपी ओलीमाथि प्रश्नको वर्षा
काठमाडौँ । एमालेबाट बर्खास्त भएका भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नैप्रश्न गरेका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा रावलले ओलीले फरक मतलाई सम्बोधन नगरेको, पार्टीलाई विधिसम्मत सञ्चालन नगरेको, पार्टीमा विभाजनको बिउ रोपेको, पार्टीको निर्णयलाई चुनौती दिने काम गरेको भन्दै सयौँ प्रश्न गरेका हुन् ।
एक घण्टाभन्दा लामो समय पत्रकार सम्मेलनमा उनले आफ्नो लिखित धारणा राख्दै ओलीलाई प्रश्नको वर्षा गरेका हुन् । कविताबाट पत्रकार सम्मेलन सुरु गरेका उनले त्यसपछि अधिकांश समय ओलीकै आलोचना गर्दै ओलीले पार्टी र सत्ता सञ्चालनका क्रममा कैयन गल्ती गरेको आरोप लगाए ।
उनले ओलीलाई विभिन्न समयमा राष्ट्र हित विपरीत गरेका निर्णय, गुठी आन्दोलन, राजनीतिलाई अस्थिर तुल्याउने गतिविधि, सरकारमा रहँदा आफूले गरेका प्रतिबद्धता पुरा नगरेको, सङ्क्रमणकालीन न्यायसम्बन्धी काम, द्रुतमार्ग, ६ लेनको राजमार्ग, विद्युतीय रेल, चक्रपथ रेल, मेट्रो, मनोरेल, प्रतिव्यक्ति आय, असमान सन्धि सम्झौताबारे के गर्नुभयो ? भनेर प्रश्न गरे । उनले घरघरमा खाना पकाउने ग्यास पाइप, पानी जहाज, अन्तरिक्षमा आफ्नै यान र नेकपा विवादबारे प्रश्न गरे ।
रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकै भरमा स्पष्टीकरण र आफ्नो पार्टी सदस्यता खान मिल्छ र ? भनेर पनि प्रश्न गरे । त्यसक्रममा उनले दुई दिनसम्म प्रतिनिधिहरूलाई अलपत्र पारेको, अन्यलाई एकएक गरेर बोलाएर धम्क्याएको, चुन्ने र चुनिने अधिकारको अभ्यास गर्नु गलत हो र ? भन्दै प्रश्न गरे ।
रावलले महाधिवेशनका बेला आफूनिकट प्रतिनिधिहरूलाई धम्क्याएको, सदस्य पदमा मतदान नगर्नु भनेर भनेको जस्ता विषय हास्यास्पद भएको बताए । रावलले आफूलाई एमालेले सोधेको स्पष्टीकरण पनि विधिसम्बत नरहेको बताएका छन् ।
उनले एमालेले आफूले पार्टीमा लामो योगदान गरेपनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेका गुनासो गरे । उनले भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी ओलीले देशमा सुशासन र समाजवाद ल्याउने कुरा गर्नु पत्याउन नसकिने समेत बताए ।
‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो ?’, रावलले भने, ‘तपाई केपी ओली आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको ?’
कुनै ठाउँमा जन्मेको, शिक्षा भएको र कुनै थर भएकोले मात्र अध्यक्षमा उठ्नुपर्ने हो भन्दै रावलले ओलीलाई प्रश्न गरे । उनले पार्टीलाई विग्रह र विभाजनतर्फ धकेल्ने काम ओलीले गरेको आरोप लगाउँदै उनी नसच्चिए ०८४ सम्म पार्टी कुन हालतमा पुग्छ भन्ने अहिले नै अनुमान गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक
-
सफल व्यक्तिमा हुन्छन् यी १० बानी
-
बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा उपेन्द्र पौड्याल पुनः निर्वाचित
-
जाडोमा किन बढी लाग्छ निन्द्रा ?
-
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
-
भागदौडमा महिलाको मृत्यु प्रकरणमा अल्लु अर्जुनलाई जमानत, तर प्रहरीसमक्ष हाजिर हुनुपर्ने