भावी सभापतिका लागि शेखरलाई सुदूरपश्चिमको बलियो साथ
कांग्रेस नेता डा. शेखर कोइरालाले यही पुस पहिलो साता गरेको सुदूरपश्चिम भ्रमणले राजनीतिक वृत्तमा चर्चा पायो । यो सामान्य भ्रमण पनि उनका लागि राजनीतिक रूपमा निकै उपलब्धि र परिणाममुखी बन्न पुग्यो ।
कांग्रेस सभापति शेरबहादुर देउवा सुदूरपश्चिम जाँदा सामान्य रुपमा सीमित कार्यकर्ताले स्वागत गरेका थिए, तर कोइरालाको भव्य स्वागत हुनुलाई गहिरो अर्थका रूपमा हेरिएको छ । स्थानीयस्तरमा आएका कांग्रेसीले भावी सभापतिमा कोइरालालाई स्वीकार गर्ने संकेत समेत देखाएका छन् ।
पुस ४ गते जब शेखर कोइराला धनगढी विमानस्थलमा उत्रिए । उनको स्वागतमा विमानस्थलबाहिर जिल्ला–जिल्लाबाट आएका नेता तथा कार्यकर्ता हातमा फूलको माला लिएर लामबद्ध थिए ।
सँगसँगै नारा चर्केका थिए— शेखर कोइराला— जिन्दावाद । सुदूरपश्चिले के भन्छ— १५औँ महाधिवेशन शेखर ल्या भन्छ, शेखर दाइ— हाइहाई आदि ।
कांग्रेसका भुइँमान्छे जुन गाउँगाउँबाट आएका थिए, तिनका अनुहारमा निकै चमक थियो । निधारमा चाउरी परेका, सामान्य लुगा लगाएका र पहाडबाट भर्खर झरेका सुदूरका भुइँमान्छेहरू शेखर कोइरालालाई भेट्न पाउँदा निकै उत्साहित र सन्तुष्ट देखिन्थे ।
विमानस्थलमा देखिएको कार्यकर्ताको उपस्थितिले कांग्रेसको विगतलाई सम्झाइरहेको थियो । अरु नेता आउँदा जुन तहको तडकभडक देखिन्थ्यो, जुन प्रकारका मानिस स्वागतमा देखिन्थे, त्यो योपटक देखिएन । स्वार्थी समूहले नेतालाई घेर्ने समूह योपटक थिएन । योपटक खास कांग्रेसी देखिए, कांग्रेस जोगाएकाहरू भेटिए । गाउँमा कांग्रेसलाई जीवन दिएकाहरू आशा लिएर उभिएका देखिए । समग्रमा भन्दा नितान्त कांग्रेसी देखिए, जसलाई भ्रमणको अर्को सफलता मान्न सकिन्छ ।
यस भ्रमणले कोइरालाको राजनीतिक यात्रामा ऊर्जा थपेको छ । नेता तथा कार्यकर्ताको माया, विश्वास, सद्भाव र साथले उनको सभापतिको उम्मेदवारीलाई बलियो बनाएको छ ।
यो भ्रमणले नेपाली कांग्रेसको संस्थापन तथा शेखर इतर पक्ष भने झस्किएको छ । नेता तथा कार्यकर्ताको स्वतःस्फूर्त रूपमा देखिएको जबर्जस्त उपस्थितिले धेरै कांग्रेसीलाई सोच्न बाध्य बनाएको छ ।
लगातार दुई कार्यकाल कांग्रेसको सभापति बनेका शेरबहादुर देउवाको प्रदेशमा हुन लागेको डा. कोइरालाको भ्रमणलाई सामान्य र हल्का रूपमा हेरिएको थियो । पार्टीको संस्थापन पक्षले आफ्नै समूहका नेता–कार्यकर्तासँगको सामान्य भेटका रूपमा बुझेको थियो । संस्थापन पक्षले कोइरालाको कार्यक्रममा सहभागी नहुन आन्तरिक सर्कुलर समेत जारी गरेको थियो । त्यति मात्र होइन, सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रीहरू बहाना बनाएर सुदूरपश्चिम बाहिर रहेका थिए । कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले पनि शेखरको भ्रमणलाई नदेखेझैँ गरेको थियो । संस्थापनका जिल्ला सभापति तथा स्थानीय तहका जनप्रतिनिधिले समेत सहयोग गरेनन् । तर पनि वर्षौंदेखि अन्याय तथा गुटको पेलानमा परेका कार्यकर्ताले सबैको निर्देशन तथा उर्दीलाई तोडेर कार्यक्रममा सहभागी भए । सुदूरपश्चिमका कांग्रेसीले भद्र अवज्ञा गरे । पार्टी सभापति देउवाको हाउगुजीबाट मुक्त भए । १५औँ महाधिवेशनका लागि सुदूरपश्चिमले देशभर नयाँ तरंग पैदा गरेको छ ।
संस्थापन पक्षले कोइरालाको कार्यक्रममा सहभागी नहुन आन्तरिक सर्कुलर समेत जारी गरेको थियो । त्यति मात्र होइन, सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रीहरू बहाना बनाएर सुदूरपश्चिम बाहिर रहेका थिए । कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले पनि शेखरको भ्रमणलाई नदेखेझैँ गरेको थियो ।
पार्टी र पार्टीभन्दा बाहिर सुदूरपश्चिम भन्नेबित्तिकै कांग्रेसका सभापति शेरबहादुर देउवाको पकड क्षेत्र मान्ने गरिन्थ्यो । शेखर कोइरालाको यसपटकको भ्रमणले त्यो परम्परागत सोचलाई भत्काइदिएको छ । नेता तथा कार्यकर्ताले पनि आफूमाथि लाग्ने गरेका आरोप इन्कार गरिदिएका छन् । शेखरको भ्रमणमा देखिएको उपस्थितिले अब सुदूरपश्चिमले नयाँ नेतृत्वको चाहना राखेको देखिन्छ । हतपती कसैलाई विश्वास नगर्ने सुदूरपश्चिमले योपटक कोइरालालाई निस्वार्थ रूपमा विश्वास गरेको देखियो । त्यति मात्र होइन, अधिकांश कांग्रेसीजनले उनलाई तपाईं सभापति बन्नुस्, हामीलाई केही चाहिँदैन भनेर गरेको वाचाको मर्म निकै गहिरो छ ।
सुदूरपश्चिमका गाउँगाउँबाट आएका कांग्रेसीहरूको डा. कोइरालासँग सामान्य अपेक्षा थियो । उनीहरूका माग कुनै ठुला र महत्त्वाकांक्षी थिएनन्, पद तथा शक्तिको माग पनि थिएन । विगत १० वर्षदेखि पार्टी कमजोर हुँदै गएकामा उनीहरुले चिन्ता व्यक्त गरेका थिए । पार्टीले बीपी कोइरालाको नीतिलाई भुलेर व्यक्तिवादी भएको गुनासो थियो । पार्टीले विनामापदण्डका आधारमा निर्वाचनमा टिकट दिएर कांग्रेसीमाथि अन्याय गरेको महसुस गरेका थिए । गुटका आधारमा, पैसाका आधारमा तथा नातागोताका आधारमा पार्टी संरचना सञ्चालन गर्दा लामो समयदेखि पार्टीमा लागेका पाखा परेको र पार्टी कमजोर भएको उनीहरुको भनाइ थियो । सबैजसोको सुझाव थियो— पार्टीमा न्याय हुनुपर्छ । अहिलेको नेतृत्वबाट यो सम्भव भएन, अब तपाईंले नेतृत्व लिनुपर्छ । तपाईं सभापति बनेपछि न्यायका लागि पार्टीभित्र मापदण्ड तय गर्नुपर्छ, पार्टी सबैको हो । सबैलाई अट्ने गरी तपाईंले अगुवाइ गर्नुपर्छ ।
कोइरालासँगको जिल्लागत भेटघाटमा धेरै नेता–कार्यकर्ताले पहिलोपटक कम्युनिस्टलाई मत हालेकामा चित्त दुखेको बताएका थिए । सबैले सार यही थियो— स्थानीय तथा संघीय निर्वाचन गठबन्धन गर्नु गलत थियो, त्यसले कांग्रेसलाई कमजोर र विचलित बनायो, पार्टीप्रतिको विश्वास गुमायो, पार्टी नेता तथा कार्यकर्ता अन्यत्र लाग्न बाध्य भए, आफ्नो जीवनकालमा यसरी कम्युनिस्ट भोट हाल्नुपर्ला भन्ने सोचेका थिएनौँ । पार्टीले उर्दी जारी गर्यो, भोट हाल्न विवश भयौँ । स्वाभिमानी कांग्रेसका लागि योभन्दा दुःखद कुरा के हुन सक्छ भनेर प्रश्न खडा गरिएको थियो ।
बझाङ, बैतडी, अछाम तथा डोटीजस्ता कांग्रेस बलियो भएका जिल्लामा गठबन्धनका लागि कांग्रेसले उम्मेदवार छाडिदियो । जस कारण पार्टीले स्थानीय तह तथा प्रदेशमा धेरै सिट गुमाउनुपरेको पीडा समेत उनीहरुले पोखेका थिए । गठबन्धनका नाममा कांग्रेसीलाई भएको अन्याय क्षतिपूर्तिका लागि आगामी दिन नेतृत्व गर्न शेखरलाई सुझाएका थिए ।
सबैको चासो कांग्रेसको १५औँ महाधिवेशन कहिले हुन्छ भन्ने थियो । सबैले सुझाव थियो— आगामी महाधिवेशन विधानले तोकेको समयमै हुनुपर्छ ।
महाधिवेशन समयमा गर्नका लागि आफूहरू जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको प्रतिबद्धता उनीहरुले जनाएका थिए । अब महाधिवेशनमा सबैलाई न्याय हुने गरी कदम चाल्न पनि सुझाए । हामी वर्षौंदेखि अन्यायमा छौँ । हामीलाई हेपिएको छ । हाम्रा लागि सबै बाटा बन्द बनाइए । अब १५औँ महाधिवेशनपछि पार्टीमा नयाँ पद्धतिको विकास गरिनुपर्छ भन्ने आवाज बलियो थियो ।
१५औँ महाविधेशन समयमा गराउनका लागि अझ दबाब बढाउनुपर्ने, कार्यकर्ता परिचालन गरिनुपर्ने र अगुवाइ गर्नुपर्ने भनी कोइरालाले भन्दा कार्यकर्ता निकै उत्साही भएर ताली बजाइरहेका थिए ।
तीन दिन निकै व्यस्त रहेका कोइरालाले नौवटा जिल्लाको फरक–फरक भेटघाट गरेका थिए । नेपाल प्रजातान्त्रिक सेनानी संघको प्रदेश अधिवशेनको उद्घाटन तथा पत्रकार सम्मलेनमा आफ्ना विचार राखेका थिए । निकै सन्तुलित र मर्यादित रूपमा विचार राखेका कोइरालाले बारम्बार एउटै कुरा दोहर्याएका थिए, त्यो हो सबैलाई न्याय हुन्छ । उनले भनेका थिए— म कसैलाई पनि अन्याय हुन दिन्नँ र पार्टीलाई विधि अनुसार चलाउँछु । अहिलेसम्म जे जे भयो भयो, अब त्यसो हुन्न । पार्टीलाई सबैको हो भन्ने महसुस हुने गरी कार्य गर्नेछु ।
समयमै महाधिवेशन नभए पार्टी संकटमा पर्ने र कमजोर हुँदै जाने भएकाले महाधिवेशन गर्नुको विकल्प नरहेको र पार्टी सञ्चालन पद्धतिप्रति आफू सन्तुष्ट नरहेको कोइरालाको भनाइ थियो । पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएकाले पार्टी कमजोर बन्दै गएको प्रति उनले चिन्ता व्यक्त गरेका थिए ।
गठबन्धनले पार्टीलाई थिलथिलो बनाएको, पार्टीका कार्यकर्तामाथि अन्याय भएको र पार्टीप्रति आमविश्वास घट्दै गएकाले अब गठबन्धनको औचित्य नभएको समेत बताएका थिए ।
समग्रमा, डा. शेखर कोइरालाका लागि सुदूरपश्चिमको भ्रमण फलदायी रह्यो । भ्रमणले पार्टीभित्रको राजनीतिक समीकरणलाई समेत धक्का दिएको छ । १५औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवार घोषणा गरेका शेखर कोइरालालाई यो भ्रमणले नयाँ ऊर्जा थपेको छ । सुदूरपश्चिम मेरो भन्नेहरूलाई यो भ्रमणले सोच्न बाध्य बनाएको छ ।
काठमाडौँका गफाडीहरूले गफ दिएजस्तो सोचाइ र बुझाइ स्थानीय नेता तथा कार्यकर्तामा छैन । स्थानीयको बुझाइ आफ्नै छ, गहिरो छ र कांग्रेसीमा विश्वास गर्नुको विकल्प छैन भन्ने सन्देश पनि दिएको छ । भावी दिनमा कांगेस चलाउन र बनाउन कसले सक्छ भन्ने बुझाइ केन्द्रले बुझेभन्दा स्थानीय स्तरमा फरक रहेछ भन्ने पुष्टि कोइरालाको सदूरपश्चिम भ्रमणले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाडोमा किन बढी लाग्छ निन्द्रा ?
-
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
-
भागदौडमा महिलाको मृत्यु प्रकरणमा अल्लु अर्जुनलाई जमानत, तर प्रहरीसमक्ष हाजिर हुनुपर्ने
-
उर्वशी रौतेलाको डान्स स्टेपलाई ‘अश्लील’ भन्दै किन रिसाए दर्शक ?
-
आमा श्रीदेवीको प्रेममा पागल थिए रामगोपाल वर्मा, छोरी जाह्नवीको बारेमा के भने ?
-
तस्बिरमा हेर्नुहोस् रविविना रास्वपाको केन्द्रीय समिति बैठक