शनिबार, २० पुस २०८१
ताजा लोकप्रिय

भारतीय मुख्य प्रशिक्षक गम्भीर टोलीसँग असन्तुष्ट, भने- अब अति भयो !

बुधबार, १७ पुस २०८१, १४ : १९
बुधबार, १७ पुस २०८१

मेलबर्न । मेलबर्न टेस्टमा पराजयपछि भारतीय मुख्य प्रशिक्षक गौतम गम्भीरले खेलाडीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । इन्डियन एक्सप्रेसका अनुसार मेलबर्नमा पराजयपछि खेलाडीहरू ड्रेसिङ रुममा फर्कने बित्तिकै गम्भीरले सम्पूर्ण टोलीलाई ‘अब अति भयो’ भनेर आक्रोश व्यक्त गरेका हुन् ।

गम्भीरले गलत सट चयनमा असन्तुष्टि पनि व्यक्त गरेका छन् । कसैको नाम नलिई उनले तटस्थ खेल खेल्ने बहाना गर्ने खेलाडीलाई परिस्थितिअनुसार खेल्नुपर्ने स्पष्ट सन्देश दिए ।

रिपोर्टका अनुसार गम्भीरले खेलाडीहरूलाई आफूले आफ्नै तरिकाले खेल्न ६ महिना दिएको बताउँदै अब त्यो सबै सकिएको स्पष्ट पारेका थिए । अबदेखि टोलीको योजना अनुसार नखेल्ने खेलाडीलाई ‘धन्यवाद’ भनिने उनको भनाई थियो ।

गम्भीरले चेतेश्वर पुजारालाई टेस्ट टोलीमा फर्काउन चाहेका थिए तर चयनकर्ताले उनको मागलाई अस्वीकार गरेका थिए । ३६ वर्षीय पुजाराले पछिल्लो दुई अस्ट्रेलिया भ्रमणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले सन् २०१८ को भ्रमणमा सात पारीमा ५२१ रनको उच्चतम स्कोर बनाए । उनले सन् २०२१ को भ्रमणमा पनि २७१ रन बनाएका थिए । पुजारालाई गाब्बा टेस्टमा उनको महत्त्वपूर्ण भूमिकाका लागि याद गरिन्छ, जहाँ उनले भारतलाई जित दिलाउन २११ बल खेलेका थिए।

बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्टमा भारत १८४ रनले पराजित भएको छ । यो पराजयपछि टोली ५ खेलको सिरिजमा १–२ ले पछि परेको छ । अन्तिम खेल जनवरी ३ देखि सिड्नीमा हुनेछ ।

यो हारपछि भारतको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने बाटो झनै कठिन भएको छ । टोली ५२.७८% अंकका साथ तेस्रो स्थानमा छ । जबकि अस्ट्रेलिया ६१.४६ प्रतिशतका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकी टोली ६६.६७% अंकका साथ फाइनलमा पुगेको छ ।

गौतमलाई गत वर्ष जुलाईमा भारतीय टोलीको मुख्य प्रशिक्षक बनाएको थियो । टी–२० विश्वकपपछि राहुल द्रविडको कार्यकाल सकिएको थियो, त्यसपछि उनलाई यो जिम्मेवारी दिइएको थियो । गम्भीरको कार्यकाल जुलाई २०२७ सम्म रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप