त्रिभुवन विश्वविद्यालयले गत पुस १३ गते दशरथ रंगशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको थियो । विद्यार्थी र तीनका अभिभावकहरूले रंगशाला भरिभराउ थियो । त्यही भीडमा थिइन्, ६ महिनाको छोरो काखमा च्यापेकी हीरा श्रेष्ठ ।
उनमा बेग्लै उत्साह र उमङ्ग देखिन्थ्यो । व्यवस्थापन संकायबाट मास्टर्स अफ फिलोसोफी (एमफिल) मा सर्वोत्कृष्ट भएपछि उनको मुहारमा चमक, ज्यानमा ऊर्जा भरिएको थियो । व्यवस्थापन संकायमै स्नातकोत्तर तहमा गोल्ड मेडलिस्टमा नाम लेखाइसकेकी श्रेष्ठले यसपालि एमफिलमा पनि ३.९५ सीजीपीए ल्याएर अर्को रेकर्ड राखिन् । उनी त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट सम्मानित भइन् ।
यस पटक स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा १४ हजार ३ सय ८ जना विद्यार्थीहरू दीक्षित भए । विभिन्न २२ विधामा सर्वोत्कृष्ट विद्यार्थीहरू विभिन्न पदक तथा पुरस्कारबाट विभूषित भए । हाल विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुरमा कार्यरत श्रेष्ठसँग रातोपाटीका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :
मैले गोल्ड मेडल पाउँछु भन्ने सोचेकी थिइनँ । मेरो लागि यो आश्चर्यकै विषय थियो । राम्रो परिणाम ल्याउनुपर्छ, राम्रो मिहिनेत गर्नुपर्छ भन्ने लागेको थियो । स्नातकोत्तर तहमा पनि मैले नै गोल्ड मेडल पाएको थिएँ । त्यो मेरा लागि प्रेरणा थियो । त्यही हौसलाले गर्दा एमफिलमा मलाई सजिलो भयो । म एकदमै हर्षित र प्रफुल्लित छु । घर, परिवार, साथीभाइ, गुरुहरू सबै जना खुसी हुनुहुन्छ । मेरो सफलताको पछाडि प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नुहुने सबैको हात छ ।
परिवारको सहयोगबिना यो सम्भव छैन । सहयोगी हात सबैलाई चाहिन्छ । सबैभन्दा ठुलो कुरा भनेको इच्छा शक्ति नै हो । मैले यो काम गर्नुपर्छ भन्ने सोच हुनुपर्छ । त्यही सोचले नै मानिसलाई अगाडी डोर्याउँछ । आफ्नो कुरा परिवारलाई बुझाउन सक्नुपर्छ । र, परिवारले पनि त्यो कुरा बुझिदिनु पर्ने रहेछ ।
पढ्ने कार्य एकदमै कठिन हो । पढ्नका लागि समय निकाल्नुपर्छ । जतिबेला आफ्नो फुर्सद हुन्छ, त्यो बेला पढ्ने हो । मोबाइल चलाउने समय पढाइलाई दिन सकिन्छ । मुख्य कुरा आफ्नो रुचि चाहिँ हुनुपर्छ ।
यति नै घण्टा भन्ने छैन । जब मलाई रुचि लाग्थ्यो, त्यो समय पढ्थेँ । एमफिल पढ्दा मैले साथीहरूसँग रमाइलो गरी–गरी पढेँ । पढाइलाई बोझका रूपमा मैले कहिल्यै लिइनँ । कक्षाकोठामा सरले पढाउँदा जुन कुरा महत्त्वपूर्ण लाग्थ्यो, मैले त्यसलाई नोट गरिहाल्थेँ । पढेका कुरा एकआपसमा साथीहरूसँग छलफल पनि गरिन्थ्यो । समूहमा हामी छलफल पनि गर्थ्यौँ । त्यसले गर्दा ज्ञानको दायरा अझ फराकिलो हुन्थ्यो । एमफिलमा पुगेपछि पढ्नैपर्छ भन्ने लागेन ।
साथीहरूसँगको अनौपचारिक छलफलले ज्ञान र अनुभव बढायो । पढेका कुरा याद गर्न समूहमा छलफल, अन्तर्क्रिया गर्न एकदमै जरुरी छ । सरहरूले पढाउनु भएको कुरा वान वे हुन्छ । जब हामी एकआपसमा दोहोरो अन्तर्क्रिया गर्छौँ, त्यो कुराले ज्ञान पक्कै बढाउँछ । कक्षामा नबुझेका कुरा सोध्ने, समूहमा छलफल गर्ने कामले हाम्रो ज्ञान बढाउँछ ।
पहिलो कुरा त पढ्नु नै पर्यो । दोस्रो, आज मैले दिनभरि के के पढेँ भनेर सम्झिनुपर्यो । र, नियमित रूपमा अभ्यास गर्नुपर्छ । आफ्नो अगाडी नोट छ भने आवश्यक परेको बेला पढ्न सकिन्छ । नोट कपि जहिल्यै साथमा हुनुपर्छ ।
त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकायमा पीएचडीका लागि भर्ना भइसकेको छु । पिएचडीको अध्ययन पूरा गरिसक्ने पाँच वर्षे रणनीतिक योजना छ ।
अहिले नेपालमै पीएचडीको लागि भर्ना खुलेको छ । नेपालमा पनि राम्रा–राम्रा प्रोफेसरहरू र अनुसन्धानकर्ताहरू हुनुहुन्छ । नेपालको शिक्षा क्षेत्रलाई राम्रो र गुणस्तरीय बनाउन उहाँहरूले ठुलो योगदान दिइरहनुभएको छ । त्यसो हो भने हामीले पनि यहीँ राम्रो गर्न सक्छौँ भन्ने लाग्छ । नेपालमै अवसर हुँदाहुँदै बाहिर नै जानुपर्छ भन्ने मलाई लाग्दैन ।
अहिले त मलाई लाग्दैन । कि जाने भए पहिल्यै गइसकेको भए हुन्थ्यो भन्ने लाग्छ । अहिले म नेपालमै स्थिर भएर काम गर्न चाहन्छु । तत्काल बाहिर गइहाल्ने सोच मेरो दिमागमा छैन ।
थप कुराकानी हेर्न भिडियो हेर्नुहोस् ः
प्रतिक्रिया