पाँच वर्षमा नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति ८३.७५ प्रतिशत
काठमाडौँ । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको समग्र भौतिक प्रगति ८३.७५ प्रतिशत र वित्तीय प्रगति ७६.६८ प्रतिशत पुगेको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार निर्माण सुरु भएको ५ वर्ष पुरा हुँदासम्म १६.२५ प्रतिशत काम अझै बाँकी रहेको हो ।
पछिल्लो समय थपिएको म्याद अनुसार अब यो सुरुङ मार्ग निर्माण ९ महिना सकिसक्नुपर्ने छ । तर, यो अवधिभित्र निर्माण पुरा हुने/नहुनेमा अन्योल कायमै छ ।
यो आयोजना निर्माणको ठेक्का सम्झौताअनुसार सुरुको म्याद २०८० वैशाख १३ गते (२०२३ अप्रिल २५) सम्म म्याद रहेको थियो । तर सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०८१ वैशाख १३ (२०२४ अप्रिल २५) गतेसम्मका लागि म्याद थप गरिएको थियो । उक्त म्यादमा पनि सम्पन्न हुन नसकेपछि पुनः २०८२ कात्तिक ८ गते (२५ अक्टोबर २०२५) सम्मका लागि म्याद थप गरिएको थियो ।
जापनिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले २०७६ कार्तिक (२०१९ नोभेम्बर)देखि उक्त सुरुङ मार्ग निर्माण सुरु गरेको थियो । करिब २३ अर्ब लागत रहेको परियोजनामा १७ अर्ब १५ करोड सहुलियत ऋण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले दिएको थियो । बाँकी ५ अर्ब ६७ करोड नेपाल सरकारले लगानी गरेको छ ।
पटक–पटक स्थानीयले गर्दै आएको अवरोधका कारण निर्माणले गति लिन नसकेको आयोजनाका इन्जिनियर सञ्जय पन्थीले बताए । ‘पछिल्लो समय विभिन्न माग राख्दै स्थानीयले अवरोध गर्दा काममा बाधा पुगेको छ । पहिला कोभिड १९ का कारण निर्माणले गति लिन सकेन,’ इन्जिनियर पन्थीले भने, ‘अवरोध नभई निरन्तर काम गर्न सकेमा म्यादभन्दा अघि नै निर्माण कार्य सम्पन्न हुने थियो ।’
गत मंसिरको दोस्रो साता सुरुङमार्ग निर्माण क्षेत्रका स्थानीयले जग्गाको मुआब्जा माग गर्दै निर्माणमा अवरोध गरेका थिए । जसका कारण करिब दुई साता निर्माण ठप्प भएको थियो । त्यसपछि सरकारले स्थानीयको मागअनुसार सहमति गरेपछि निर्माण अघि बढेको छ । यसअघि २०८० फागुनमा पनि खानेपानीको समस्या र मुआब्जा माग गर्दै निर्माणमा बाधा सिर्जना गरेका थिए । त्यतिबेला एक महिना निर्माण कार्य हुन सकेको थिएन ।
प्रगति विवरण
सो आयोजनामा मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग (टनेल) निर्माण गरिएका छन् । धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौँ नागढुङ्गामा निस्कन्छ । मुख्य टनेलको लम्बाइ २ हजार ६८८ मिटर रहेको छ । यो २०८१ वैशाख ३ गते ब्रेकथ्रु भएको थियो । यसैगरी रेस्क्यु टनेलको लम्बाई २ हजार ५५७ मिटर छ । यो टनेल २०८० साउन २२ गते ब्रेकथ्रु गरिएको थियो ।
यसैगरी मुख्य टनेल र क्रस प्यासेजमा कङ्क्रिट लाइनिङ (भित्ता र सिलिङको ढलान–कंक्रिटिङ)को काम सकिएको छ । भुइँ अर्थात् सडकको लेन ढलान गर्ने काम पनि औसतमा ३०.७२ प्रतिशत सकिएको छ ।
सुरुङमार्गको लेनलाई कालोपत्र नगरी मुख्य टनेलको लेनलाई सिआरसिपी (कन्टिन्युस्ली रिइन्फोस्र्ड कङ्क्रिट पेबमेन्ट) प्रविधिबाट कङ्क्रिट गरिरहेको आयोजनाले जनाएको छ । जापानी मेसिनबाट गरिएको कङ्क्रिटमा दुई तहमा २० एमएमका स्टिल राखेर ३० सेन्टिमिटरको मोटाइमा निर्माण गरिँदैछ । जमिनमा आउने कम्पनलगायतका कारण सुरुङभित्रका जमिन चर्किने–फाट्ने जस्ता समस्या आउन नदिन यस्तो प्रविधिमार्फत सडक कङ्क्रिट गरिएको छ ।
मुख्य टेनलको २ हजार ६८८ मिटर सडक लेनमा सिआरसिपी विधिमार्फत कङ्क्रिट गरिँदैछ । अहिलेसम्म ९३५.५० मिटर सडकमा यस्तो कङ्क्रिट गरिएको छ ।
यस्तै, सुरुङभन्दा बाहिरको सडक लेनलाई आरसिपी (रिइन्फोस्र्ड कङ्क्रिट पेबमेन्ट) प्रविधिमार्फत कङ्क्रिट गरिँदै छ । आरसिपी प्रविधिमार्फत २ हजार ८०० मिटर सडक लेन कङ्क्रिट गरिने योजना छ । जसमध्ये ५५१.२० मिटर सडक लेन कङ्क्रिट गरिएको छ ।
सुरुङभित्र र बाहिरको सडक जोडिने ठाउँमा भने जेआरसिपी (जोइन्ट रिइन्फोसर्ड कङ्क्रिट पेबमेन्ट) प्रविधिमा कङ्क्रिट गरिँदै छ । यस प्रविधिमार्फत ९८३.८२ मिटर सडक कङ्क्रिट गरिनेछ । त्यसमध्ये ५०१.४० मिटर सडक कङ्क्रिट गरिसकिएको छ ।
यस्तै सुरुङमार्ग सञ्चालन गर्न दुवैतर्फ ‘कन्ट्रोल बिल्डिङ’ पनि बन्दै छन्, त्यसको सिभिल निर्माणको काम पनि सकिएको छ । हाल त्यसको फिनिसिङ र भवनभित्र आवश्यक उपकरणहरू जोड्ने काम भइरहेको छ ।
मुख्य टनेल र क्रस प्यासेजमा कङ्क्रिट लाइनिङको काम सकिएको छ । २ हजार ६८८ मिटर लामो मुख्य टनेल, लगभग १८ मिटर लम्बाइका ७ वटा क्रस प्यासेज,मुख्य र रेस्क्यु टनेल जोड्ने सुरुङ र रेस्क्यु टनेलका केही खण्ड गरेर कुल २ हजार ८१२ मिटर खण्डमा कङ्क्रिट लाइनिङ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माताले गोविन्दालाई धोका दिए, पत्नी सुनिताले गरिन् खुलासा
-
के तपाईँको पार्टनरले पनि तपाईँलाई प्रयोग गर्न थाल्यो ? थाहा पाउनुहोस् यी ४ सङ्केत
-
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
-
साजिद खान भन्छन्- यौन उत्पीडनको आरोपपछि धेरै पटक आफूलाई सिध्याउने प्रयास गरेँ
-
विवरण अध्यावधिक गर्न नेपाली सङ्घसंस्थालाई बेलायती दूतावासको आग्रह
-
पत्रकार पुडासैनीको निधन