रातोपाटी एपमा नयाँ फिचर 'रातोपाटी पात्रो' अपडेट, के-के छन् विशेषता ?
काठमाडौँ । डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित ‘रातोपाटी डटकम’को मोबाइल एप्लिकेसनमा ‘रातोपाटी पात्रो’सहितका फिचरहरू अपडेट (अद्यावधिक) गरिएको छ ।
एपको समग्र नयाँ लुक्ससहित आकर्षक डिजाइनमा तयार गरिएको 'रातोपाटी एप'मा समाचार, रेडियो, गेम्सदेखि पात्रोसम्मका सुविधा रहेका छन् ।
पाठकलाई नयाँनयाँ फिचर प्रदान गर्ने रातोपाटीको नीतिअनुसार ‘रातोपाटी पात्रो’ पनि वेब र एपमा सार्वजनिक गरिसकिएको छ । विक्रम संवतमा आधारित ‘रातोपाटी पात्रो’को डिजिटल संस्करणलाई प्राविधिक हिसाबले मौलिक रूपमा तयार गरिएको हो ।
नेपाल सरकारको ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति’सँग अनुमति लिएर तयार पारिएको रातोपाटी पात्रोमा नेपाल र नेपाली (विविध समुदाय)ले मान्दै आएका चाडपर्व तथा सांस्कृतिक गतिविधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू समेटिएको छ । अन्तर्राष्ट्रिय दिवसहरूलाई समेट्नका लागि यसमा ईस्वी संवत् को प्रयोग गरिएको छ ।
रातोपाटी पात्रोमार्फत राष्ट्रिय चाडपर्वहरूसँगै विदेशी मुद्रा विनिमय दर, सुनचाँदीको भाउ, शुभसाइत, सार्वजनिक बिदाहरू, पेट्रोल मूल्य, फलफूल तथा तरकारी मूल्य, ईभी चार्जिङ स्टेसनदेखि राशिफलसम्म हेर्न सकिने छ । यस्तै मिति परिवर्तन, ईएमआई क्याल्कुलेटर, भ्याट क्याल्कुलेटर र ब्याज क्याल्कुलेटरका सुविधा लिन सकिनेछ ।
‘अहिले हामीले वि.सं. १९९० देखि २१०० सम्मका गते, बार र दिवसहरू समेटेका छौँ । यो बिचमा पर्ने इस्वी संवत्का तारिख र बारहरू आएका छन् । चलिरहेको वर्षको भने पञ्चाङ्ग (तिथि, वार, नक्षर, योग र करण) हेर्न सक्नुहुन्छ’, रातोपाटीका प्रवन्ध निर्देशक अर्जुन पन्तले भने।
अहिले सबै सुविधा एप्लिकेसनको एन्ड्रोइड भर्सनमा अपडेट भइसकेको छ भने आईओएस भर्सनमा अपडेट हुन चाहिँ थप एक साता लाग्ने पन्तको भनाइ छ । रातोपाटी एपबाहेक पात्रो वेबमा https://calendar.ratopati.com/ बाट हेर्न सकिने छ । पाठकको रुचिअनुसार नयाँ नयाँ फिचर अपडेट गर्दै आएको रातोपाटीले आगामी दिनहरूमा पनि पाठक मैत्री फिचर लिएर आउने पन्तले बताए ।
‘सबैको सबैभन्दा राम्रो’ नाराका साथ अघि बढेको नेपालकै लोकप्रिय रातोपाटीले नेपाली र अंग्रेजी भाषामार्फत देशविदेशमा समाचार, फिचर, अन्तरवार्तासहित पाठकका रुचिअनुसारका विविध सामग्री पस्किँदै आएको छ ।