शनिबार, २० पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विद्यार्थी संगठन

३२ वर्षे उमेरहदले अखिल क्रान्तिकारीमा लफडा, के भन्छन् नेताहरू ?

बुधबार, १७ पुस २०८१, ०६ : ३५
बुधबार, १७ पुस २०८१

काठमाडौँ । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा ३२ वर्षे उमेरहदसम्बन्धी चुनावी परिणामका कारण लफडा देखिएको छ । उमेरहदको विषयमा पक्ष/विपक्षमा लफडा बढ्दै जाँदा आगामी माघ १२ गते तोकिएको निर्वाचनसमेत प्रभावित हुन सक्ने विद्यार्थी नेताहरूले बताएका छन् । 

यही पुस १३ गते भएको निर्वाचनमा खुला पक्षधर २१ मतान्तरले पराजित भएपछि केही जिल्लामा धाँधली भएको आरोप लगाएका छन् । उनीहरूले मोरङ, गुल्मी, बझाङ, बैतडी, बाजुरा, गुल्मीलगायत जिल्लामा पार्टी नेताकै निर्देशनमा धाँधली भएको आरोप लगाउँदै निर्वाचन आयोगसमक्ष उजुरी दिएका थिए । तर, आयोगले उजुरीउपर कुनै छानबिन नै नगरी नतिजा सार्वजनिक गरेकामा खुला पक्षधर आक्रोशित भएका छन् ।

निवर्तमान अध्यक्ष पञ्चा सिंह र उपाध्यक्ष पवन कार्की समूहबीच संगठनभित्र लामो समयदेखि चर्किएको विवाद गत वर्ष बालुवाटारमा भएको आठबुँदे सहमतिसँगै अन्त्य भएको थियो । तर, उमेरहद लगाउने वा खुला गर्ने विषयमा भएको निर्वाचनका कारण नयाँ लफडा सुरु भएको हो । चुनावी परिणामलाई लिएर दुवै पक्षले उजुरी दिएपछि आयोगले मतगणना नै रोकेको थियो । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले निर्णय सुनाउने सबै अधिकार आयोगलाई दिएको थियो । पार्टीको उक्त निर्णयपछि दुवै पक्षको उजुरीमाथि कुनै सुनुवाइ नगरी आयोगले आइतबार राति अन्तिम नतिजा सार्वजनिक गरेको थियो । 

निवर्तमान पदाधिकारीबाट अध्यक्षका केही दाबेदारले उक्त नतिजाप्रति तीव्र असहमति जनाएका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय कार्यालय सचिवसमेत रहेका निवर्तमान उपाध्यक्ष केशव रावलले नेतृत्वबाटै गुटबन्दी गरी धाँधली गरेको आरोप लगाएका छन् । धाँधली भएको जिल्लामा पुनः मतदान नभएसम्म आफूले परिणाम नस्वीकार्ने चेतावनी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

keshabसंगठनभित्रको अन्तर्विरोध हल गर्ने विषयमा पार्टी नेतृत्व, विद्यार्थी नेतृत्वले बेलैमा दूरदृष्टि राख्न नसक्दा समस्या बल्झिने खतरा देखिएको छ ।

सात भौगोलिक, दुई गैरभौगोलिक गरी नौ प्रदेशमा अधिकांश नेता ३२ वर्षमाथिका छानिएका छन् । तीमध्ये मधेस, उपत्यका र विश्वविद्यालय प्रदेशमा अहिलेसम्म सम्मेलन भएको छैन । सम्मेलन भएकामध्ये बागमतीका अध्यक्ष अर्जुन पौडेल मात्रै उमेरहद मुनिबाट निर्वाचित भएका छन् ।

अध्यक्षका दाबेदार अर्का निवर्तमान उपाध्यक्ष पवन कार्कीले धाँधलीको विषयमा पार्टीले छानबिन प्रक्रिया अगाडि नबढाएसम्म बाँकी निर्वाचन प्रक्रिया अगाडि नबढ्ने बताए । पदाधिकारी बैठक सकिएलगत्तै खुमलटार पुगेका कार्की, नरायण खनाल, नरेश रेग्मीलगायत नेताले  धाँधली भएका जिल्लामा पार्टीले छानबिन गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 

pawan2

विद्यार्थी संगठनभित्र देखिएको विवाद गम्भीर प्रकृतिको भएकाले पार्टीले छानबिन समिति बनाएर विवाद समाधान गर्ने प्रतिबद्धता प्रचण्डले जनाएको दाबी कार्कीले गरे । 

‘अध्यक्ष प्रचण्डसँगको छलफलमा अहिलेको परिणाम न्यायोचित नभए खारेज गर्न सक्ने भन्नुभएको थियो । पार्टी नेताहरू निर्वाचनलाई प्रभावित गर्ने गरी कुनै पक्षमा नदेखिने भन्ने थियो । केही नेताहरू लागेको रिपोर्ट आएको छ भन्नुहुन्थ्यो’, कार्कीले रातोपार्टीसँग भने, ‘धाँधली भएको भनिएको ठाउँमा छानबिन गर्न पार्टीले गम्भीर चासो देखाएको छ । त्यसको छानबिन आयोगले गर्ने स्थिति भएन । पार्टीले छानबिन गरी निर्णय गर्ने भन्नुभएको थियो । पार्टीले छानबिन समिति बनाउने भनिसकेपछि हामी निर्णय कुरिराखेका छौँ ।’

निर्वाचनको बाँकी प्रक्रियाप्रति थप प्रस्ट पार्दै उनले भने, ‘यसको छिनोफानो नगरी अन्य प्रक्रिया अगाडि बढ्दैन । पार्टीले स्पष्ट पार्छु भनिसकेपछि चुनावी प्रक्रिया अगाडि बढ्ने कुरा भएन । छानबिनपछि उमेरहद लगाउने वा नलगाउने विषय टुंगो लाग्छ । त्यसपछि मात्र बाँकी प्रक्रिया अगाडि बढ्छ ।’

कार्कीले चुनावी परिणामलाई अस्वीकार गरेको भन्दा पनि धाँधली संस्थागत हुन लागेको विषयमा असहमति जनाएको जिकिर गरे ।  ‘अहिलेको प्रक्रियालाई स्वीकार गरेर जाने हो भने त माघमा हुने निर्वाचनमा पनि धाँधली नहोला भन्न सकिँन्दैन नि ! पार्टीका नेताहरू नै लागेर धाँधली भएको छ । यो निर्वाचन निष्पक्ष छैन,’ उनले भने, ‘यही कुरालाई करेक्सन गर्नुपर्यो भनेको हो । धाँधलीलाई संस्थागत गर्दै जाने हो भने भोलिका दिनमा पालिका, प्रदेश र पार्टीको केन्द्रीय महाधिवेशन पनि धाँधली नहोला भन्न सकिँदैन ।’

उनका अनुसार उमेरहदसम्बन्धी निर्वाचनबाट ७–८ सय विद्यार्थी बिदा हुँदै गरेको अवस्था छ । नेतृत्व छनोटको बेला प्रतिस्पर्धाबाट थप २–३ सय बाहिरिने अवस्थालाई पार्टीले कसरी व्यवस्थापन गर्छ भन्ने विषय गम्भीर रहेको उनको भनाइ छ ।

अध्यक्षका अर्का दाबेदार मदन भुलले धाँधली भएका जिल्लामा पुनः मतगणना गर्नुपर्ने बताए । आफूले निर्वाचन प्रक्रियाको विरोध गरेको नभई निष्पक्ष छानबिन हुनुपर्छ भनेको उनको भनाइ छ ।

madan‘निर्वाचन भएकै दिन उजुरी पर्दासमेत निर्वाचन आयोगले छानबिन गरेन । यसमा मेरो असहमति हो । यसमा पार्टीले गरेको निर्णय मानेर जान हामी जान तयार छौँ । तर, धाँधली भएको जिल्लामा छानबिन गरी पुनः निर्वाचन गर्नुपर्छ,’ भुलले भने ।

चुनावी प्रतिस्पर्धामा पुगिसकेपछि उमेरहदको प्रावधान राखेर अहिले नै बाहिरिने वातावरण पार्टीले गर्नु त्रुटिपूर्ण भएको उनको भनाइ छ ।

उमेरहदको पक्षमा देखिएका नेता सुदिन पौडेलले वरिष्ठ नेताहरूले हार स्वीकार गर्न नसकेर लफडा निकालेको आरोप लगाए । बुर्जुवा प्रणालीअन्तर्गत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेपछि हार–जित स्वीकार गर्नुपर्ने उनको मत छ । निर्वाचन प्रक्रियामा केही समस्या भए पनि धाँधली नभएको पौडेलको तर्क छ ।

‘सिनियर नेताहरूले हार स्वीकार गर्न नसकेका हुन् । निर्वाचनमा कहीँकतै धाँधली भएको छैन । कि त बुर्जुवा प्रणालीअन्तर्गत चुनावी प्रक्रियामा प्रवेश गर्नु हुन्थेन,’ उनले भने, ‘मतदानबाट नतिजा आइसकेपछि वरिष्ठहरूले हार स्वीकार गर्न नसक्दाको परिणाम नयाँ लफडा झिक्न खोजेका छन् । निर्वाचन प्रणालीमा गइसकेपछि केही कमजोरी भएका होलान् । तर, कतै धाँधली भएको छैन ।’

पौडेलले कुल मतदातामध्ये थोरै मत खसेकाले खुला पक्षधरले लगाएको  आरोपमा कुनै सत्यता नभएको जिकिर गरे । उनीहरूको लफडा पार्टीलाई बदनाम गराउने उद्देश्यले आएको उनको भनाइ छ ।

उमेरहद पक्षधर अर्का नेता प्रतीक कार्कीले पनि पदाधिकारी तहका नेताहरूले हार स्वीकार गर्न नसक्दा समस्या आएको बताए । चुनावमा हार–जितको प्रक्रिया स्वाभाविक भएका केही समयमा विवाद अन्त्य हुने उनको विश्वास छ ।

‘लामो समय नेतृत्व तहमा बसेकाले जित हाम्रै हुन्छ भन्ठानेका थिए । तर, परिणाम उल्टो आइदियो । त्यसैले हारको पीडा आलै भएकाले उहाँहरूले स्वीकार गर्न सक्नुभएको छैन । बिस्तारै समस्या समाधान हुँदै जान्छ,’ कार्कीले भने ।

निर्वाचनमा धाँधली भएको भन्ने उनीहरूको आरोपमा कुनै सत्यता नभएको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा असोज १० देखि १५ गतेसम्म भएको २३औँ राष्ट्रिय सम्मेलन उमेरहद लगाउने/नलगाउनेबारे दुई पक्षबिच लफडा हुँदा स्थगित भएको थियो । 

विद्यार्थी संगठनको पुस्तान्तरण ‘ऐतिहासिक र क्रान्तिकारी’ 

पार्टी उपमहासचिव जनार्दन शर्माले विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम भएको दाबी गरेका छन् । यस निर्वाचनले झन्डै ४० लाख मतदाताको मनोविज्ञानलाई समेट्ने उनको बुझाइ छ । 

उपमहासचिव शर्मा जबस/मोर्चालाई स्वायत्तता दिनुपर्ने र पार्टीका सबै तहमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने माग राख्दै आएका नेता हुन् । ढिलै भए पनि विद्यार्थी संगठनमा आफ्नो एजेन्डा स्थापित भएकामा उनी खुसी देखिएका छन् ।

संगठन इन्चार्ज तथा पूर्वअध्यक्ष हिमाल शर्माले उमेरहद  संगठनभित्र कसैको जित–हार नभई राजनीतिक वृत्तमा नयाँ मुद्दा स्थापित गराएको तर्क गरेका छन् ।  विद्यार्थी आन्दोलनमा यो एउटा ऐतिहासिक परिघटना भएको उनको भनाइ छ । उनले यस घटनाले आफ्नो पार्टीलगायत राजनीतिक वृत्तमा एउटा नयाँ तरंग ल्याएको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप