शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : रविको मुद्दाले रास्वपामा ‘राजनीतिक तनाव’देखि चलचित्र बोर्डमा डीसीका १०० दिनसम्म

बुधबार, १७ पुस २०८१, ०० : ००
बुधबार, १७ पुस २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. मन्त्रिपरिषद बैठक
मन्त्रिपरिषद्ले अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए । 

२. भ्रष्टाचार मुद्दा
बिहीबार (पुस ११) सर्वोच्च अदालतले एउटा भ्रष्टाचार मुद्दामा फैसला सुनायो । न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको पूर्ण इजलासले भन्सारका एक पूर्वकर्मचारी विरुद्धको भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने फैसला सुनाएको हो । 

३. हिउँदे अधिवेशन
संघीय संसद्को हिउँदे अधिवेशन पुसको अन्त्यतिर आह्वान गर्ने तयारी भएको छ । सरकारले पुस २५ पश्चात् अधिवेशन बोलाउने तयारी गरेको हो । 

४. केन्द्रीय समिति बैठक
सभापति रवि लामिछानेको मुद्दाका कारण  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राजनीतिक तनाव’ खेपिरहेको छ । कास्की जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा मुद्दा दर्ता भएसँगै रास्वपामा सङ्कट उत्पन्न भएको हो ।

५. सभापति हत्याउन वार्मअप
विधानतः जाने हो भने अझै एक वर्ष कुर्नुपर्छ कांग्रेसको १५औँ महाधिवेशन । तर, यसअघिको परिदृश्य हेर्दा निर्धारित समयमा हुन्छ भन्ने कुनै टुंगो छैन । सभापतिका आकांक्षी नेताहरूलाई भने महाधिवेशनको रन्कोले छोइसकेको छ ।

६. डिसीका १०० दिन
फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी  दिनेश डिसी (दिनेशराज दाहालं) चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएको एक सय दिन पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको बोर्डको अध्यक्षमा उनी गत भदौ १३ गते नियुक्त भएका थिए । सो दिन बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई दुई वर्षका लागि नियुक्त गरेको थियो ।

७. सडक उपभोग दस्तुर 
सरकारले सडक उपभोग दस्तुर संकलन कार्य पुनः सञ्चालनमा ल्याउने भएको छ । त्यससम्बन्धी नियमावली कार्यान्वयनमा ल्याउने तयारी भइरहेको सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसी बताउँछन् । 

८. एमाले बैठक
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्दैछ । यो बैठकलाई एमाले वृत्तले निकै चासोका साथ हेरेको छ । पुस १० गते बसेको केन्द्रीय सचिवालय बैठकले २१ र २२ गते बस्नेगरी केन्द्रीय समिति बैठक तय गरेको थियो ।

९. २०२४ लाई फर्केर हेर्दा
फेरि अर्को नयाँ वर्ष हाम्रो सङ्घारमा उभिएको छ । बिदा हुनै लागेको २०२४ नाटकीय रह्यो । कतिपयका लागि त यो मुटु नै कमाउन पनि भइदियो । पश्चिम एसिया ९मध्य पूर्व०मा झनै द्वन्द्व भड्कियो । युक्रेनको युद्ध साम्य होला भन्ने कामना सारा विश्वले गरिरहँदा यो झनै विकराल बनेर गयो । 

१०. थुनछेक बहस
ठ्याक्कै संख्या छैन । प्रतिवादीका तर्फबाट २० भन्दा बढी वकिलले वकालतनामा दर्ता गरेका छन् । सरकारी वकिल र पीडित पक्षका वकिल १६ जना छन् । पोखराको सूर्यदर्शन सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण, संगठित अपराध र राष्ट्र बैंक ऐन कसुरमा दर्ता भएको मुद्दामा जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएको छ । ७ जना प्रतिवादीसँग बयान सकेर मंगलबारदेखि थुनछेक बहस सुरु गरिएको हो ।

११. पश्चिम नेपालमा लगातार भूकम्प
पश्चिम नेपालमा पटक-पटक भूकम्प जानु सामान्य रहेको विज्ञहरूले बताएका छन् । तर यसबाट जोगिनका लागि ‘आफू र आफ्नो परिवार जोगाउन सक्छु ’ भन्ने सोचले सतर्कता अपनाउनु पर्ने सुझाएका छन् ।

१२. संयुक्त सैन्य अभ्यास 
नेपाली सेना र भारतीय सेनाबिच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आजदेखि सुरु भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको उक्त अभ्यासको मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुनले एक कार्यक्रमका बिच शुभारम्भ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप