झुम्सा खोला खानेपानी आयोजना निर्माण सम्पन्न गरी बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
बुटवल । खानेपानीमन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरी बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार बुटवल खानेपानी सुधार आयोजनाअन्तर्गत नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको बाध स्थलको प्राविधिक टोलीसहित स्थल गत निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन् ।
मन्त्री यादवले भने, “झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरी यहाँका नागरिकहरूलाई शुद्ध अनि सफा पानी खुवाउने सरकारको लक्ष छ । सोही अनुसार काम भइरहेको छ । बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।”
उक्त आयोजनाका विषयमा मंगलबार सरोकारवालसँग विस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै मन्त्री यादवले खानेपानी सम्बन्धी नागरिकका समस्या समाधानका लागि आफू हर समय प्रतिबद्ध एवं कटिबद्ध रहेको समेत विश्वास दिलाए ।
बुटवलमा दैनिक तीन करोड लिटर खानेपानीको माग रहेपनि अहिले जम्मा दुई करोड २५ लाख लिटर पानी वितरण हुँदै आएको र झम्सा परियोजना पूरा भएमा बुटवल उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध हुने मन्त्री यादवले दाबी समेत गरे । झुम्साबाट तीन करोड २० लाख लिटर पानी थप गरी करिब तीन लाख जनसङ्ख्या लाभान्वित हुने गरी दैनिक करिब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको सो कार्यक्रममा उनले जानकारी समेत दिए ।
करिब ६ अर्बको लगानीमा झुम्सा खानेपानी आयोजना सुरु भएको झण्डै तीन दशक पुग्न लागेको बताइएको छ । विसं २०५२/०५३ मा पाल्पाको सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित झुम्सा खानेपानी आयोजना सुरु भएको नेपाल खानेपानी संस्थानले जनाएको छ ।
सुरुमा केही वर्षको प्रयासका बाबजुद आयोजना असफल भएपछि फेरि विसं २०६४ सालमा झुम्साभन्दा परबाट खानेपानी ल्याउने भन्दै काम सुरु गरिएको नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदिपकुमार श्रेष्ठले जानकारी दिए ।
झुम्सा खोलामा बाँध निर्माण गरी ट्रष्ट पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने तथा दोस्रो चरण अन्तर्गत बुटवल–३ स्थित राम फेदीमा पानी प्रशोधन प्लान्ट बनाउने र भण्डारण ट्याङ्की बनाएर पानी वितरण गरिने खानेपानी संस्थानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोक सेवाले किन प्रस्ताव गर्यो सेवा प्रवेशको ३२ वर्षे उमेर हद ?
-
सर्वोच्च बार निर्वाचन : दुवै गठबन्धनलाई ‘भोट क्रस’ हुने चिन्ता
-
५ महिनामा ४५ हजार बीमा पोलिसी सरेन्डर, किन बढ्दैछ समर्पण?
-
मदन भण्डारी गोल्डकप : मदन भण्डारी स्पोर्टस एकेडेमी र सशस्त्र प्रहरीको जीत
-
क्रिकेट कपको नाममा अध्यक्ष शेर्पाले अनैतिक रूपमा पैसा उठाएको इतर समूहको आरोप
-
संविधान संशोधनको मुद्दामा मधेसवादी र माओवादी एक ठाउँमा आउने सम्भावना कति ?