शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सहकारी ठगी प्रकरण

रविसहितका ७ जनाविरुद्ध थुनछेक बहस सुरु, कतिदिन चल्छ बहस ?

मङ्गलबार, १६ पुस २०८१, १८ : २०
मङ्गलबार, १६ पुस २०८१

पोखरा । ठ्याक्कै संख्या छैन । प्रतिवादीका तर्फबाट २० भन्दा बढी वकिलले वकालतनामा दर्ता गरेका छन् । सरकारी वकिल र पीडित पक्षका वकिल १६ जना छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण, संगठित अपराध र राष्ट्र बैंक ऐन कसुरमा दर्ता भएको मुद्दामा जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएको छ । ७ जना प्रतिवादीसँग बयान सकेर मंगलबारदेखि थुनछेक बहस सुरु गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बञ्जाडे जोशी, पूर्वसांसद मीना गुरुङ, जिबी राई समूहकी लिला पछाईं, रामबहादुर खनाल, पूर्व सञ्चालक समिति सदस्य कृष्णबहादुर गुरुङ र आरती गुरुङसँग बयान सकेर थुनछेक बहस थालिएको हो । बहस सुरु भएसँगै धेरैको ध्यान कास्की जिल्ला अदालतमा केन्द्रित भएको छ । कति दिनमा आदेश आउँछ भन्न सकिन्नँ । यद्यपि कम्तीमा ३ दिन लाग्ने अदालत स्रोत बताउँछ ।

बुधबार पूरै सरकारी वकिलको बहस चल्नेछ, बिहीबार पीडितका पक्षबाट बहस सकिए शुक्रबार प्रतिवादीतर्फका वकिलहरूले बहस गर्नेछन् । शुक्रबार जवाफी बहस सकियो भने सोही दिन आदेश आउँछ । यदि सकिएन भने बहस लम्बिन सक्छ । मंगलबार मुद्दाको परिचय जस्तो मात्रै भएको छ । जिल्ला सरकारी वकिल कार्यालयकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्मा र सुजाता पौडेलले बहस गरेका थिए ।

उनीहरुले सबै प्रतिवादीको हकमा प्रतिवादीको अभियोग दाबीबारे जानकारी गराएका स्रेस्तेदार राजन खनालले जानकारी दिए । ‘अभियोजन पक्षको बहस नै बाँकी छ । जाहेरवालाको पक्षबाट बहस भइसकेपछि प्रतिवादीको तर्फबाट वकिलहरूले थुनछेक बहस गर्नुहुन्छ,’ उनले भने, ‘कतिदिन लाग्छ भन्ने यसै भन्न सकिएन ।’ मंगलबार बहस चल्दैगर्दा प्रतिवादी कृष्णबहादुर गुरुङको रुवाबासी चलेपछि बहस स्थगित भएको छ ।

‘कृष्णबहादुर गुरुङको नाम आएपछि रुवाबासी चल्यो । मुद्दामा छिरेर प्रतिवादीका बारेमा कुरा गर्दैगर्दा एक्कासी उठेर उहाँले प्रतिवाद गर्नुभयो,’ उनले भने, ‘केहीबेर अलि माहोल अर्कै भयो । अनि कार्यालय समय पनि सकिन लागेकोले स्थगित गरियो ।’ गुरुङले आफू सहकारी ठग नभएको दाबी गरेका थिए । ‘म त्यस्तो होइन, बरु यहीँ मर्दिन्छु । अरूले गल्ती गरेको मलाई थाहा छैन जस्ता कुरा गर्नुभयो,’ इजलासमा उपस्थित एक सदस्यले भने, ‘त्यसपछि माहोल बिग्रियो । बहस चल्नै नसकेपछि स्थगित भएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप