शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

मृत्यु मानिसको स्थायी साथी

मङ्गलबार, १६ पुस २०८१, १६ : ३०
मङ्गलबार, १६ पुस २०८१

हिजोआजको अस्तव्यस्त जिन्दगीको दौडमा मान्छेलाई मृत्युका बारे सोच्ने फुर्सदै छैन । मनुष्य चोला लिएर जन्मेपछि मृत्यु अवश्यम्भावी छ, म एक दिन मर्नुपर्छ भन्ने आज भोलिका मानिसले बिर्सिसकेजस्तो लाग्छ । 

पृथ्वीलोकमा मानिसको जन्म, मृत्यु प्राकृतिक कुरा भए पनि बाँच्नु भने रहस्यमय छ । जब बाँच्नुको रहस्य बुझिन्न, तब मृत्युको सुन्दर परिकल्पना गर्न सकिन्न । नमरुञ्जेल म मर्दै छु भन्ने थाहा पाइराख्नु भनेको वास्तवमा बाँचिरहनु हो ।

प्रकृतिले आमाको गर्भाशयमा जीवनको अंकुरण गराउँछ । उसैले जीवनमा प्राण भर्छ । जीवनको जन्म र मृत्युको निर्धारण गर्छ । खासमा जीवन आफैँमा प्राकृतिक हुन्छ । विज्ञानले जन्म र मृत्युलाई जतिसुकै कृत्रिमताको लेपन गर्न खोजे पनि त्यो पूर्णतः सफल भएको छैन । प्रकृतिको चाहनाबिना जीवनको अस्तित्व असम्भव छ ।

मार्टिन एच फिस्चर भन्छन्— मृत्युदेखि किन डराउने ? यो त जीवनको सुन्दर अनुभूति होइन र ! तर कुनै कुनै  मृत्यु अप्राकृतिक हुन्छन्, जुन भयानक डरलाग्दो हुनेरहेछ । झनै आफ्नै मृत्युको कल्पना सबैभन्दा डरलाग्दो, कहालीलाग्दो र होस उडाउने हुन्छ । र पनि अपरिवर्तनीय स्वाभाविक र स्विकार्नैपर्ने मृत्युलाई स्निग्ध मनले किन स्वागत नगर्ने ?

जीवनमा सबै कुरा मिथ्या हुन सक्छन् तर मृत्यु कहिले झुटो हुन सक्दैन, सदा शाश्वत, सदा सत्य । मृत्युुले कहिले कसैप्रति पनि भेदभाव गर्दैन, राम्रो–नराम्रो मान्छे भन्दैन । सबैलाई सधैँ समान रूपले टप्प टिप्ने त्यो मृत्यु हो । नेपालको सन्दर्भमा भने राम्रा भनिएका मान्छेलाई छिटो लिन आइपुग्छ यमराज अर्थात् मृत्यु । 

मृत्यु मानिसको स्थायी साथी । मानिसको स्थायी साथी भनेको मृत्यु मात्र हो, जहाँ पनि र जहिले पनि सँगसँगै हिँड्ने । भौतिक जीवन भनेको त जुनसुकै समय गल्र्यामगुर्लुम्म ढल्न सक्छ । उसले आर्जेको धन–सम्पत्ति तत्क्षण उसैसँग सकिन्छ, तर जीवनमा गरेका सत्कर्म भने रहस्यमयी रहन्छन् जसलाई मृत्युले लान सक्तैन । सधैँ साथमा भएर पनि सधैँ अपरिचित साथी लाग्छ मृत्यु मान्छेलाई । 

गौतम बुद्धले भनेका छन्, ‘जो बुद्धिमान छ ऊ मृत्युको भयदेखि डराउँदैन ।’ जसले जीवनको अर्थ र महत्त्व बुझेका छन्, उनीहरू मर्नुपर्छ भनेर नराम्रो काम गर्न डराउँछन् । परहितमा आफूलाई लगाउँछन् । मृत्यु बिर्सनेहरू भने अरूलाई मारेर पनि आफू बाँच्न खोज्छन् । अरू पनि आफूजस्तै हो भन्ने बिर्सन्छन् । मलाई मृत्युदेखि डर लाग्दैन भन्नेहरू बाँचेर पनि मरिहन्छन् । जब मृत्यु अँगाल्न आउँछ, मान्छेले अन्तिम विश्राम लिन पुग्छ, तर जबसम्म यो विश्रामको घडी सम्मुख आउँदैन, मान्छेलाई जीवन बाँचिरहने उत्साहले बचाइराख्छ ।

मार्टिन एच फिस्चर भन्छन्— मृत्युदेखि किन डराउने ? यो त जीवनको सुन्दर अनुभूति होइन र ! तर कुनै कुनै  मृत्यु अप्राकृतिक हुन्छन्, जुन भयानक डरलाग्दो हुनेरहेछ । झनै आफ्नै मृत्युको कल्पना सबैभन्दा डरलाग्दो, कहालीलाग्दो र होस उडाउने हुन्छ । र पनि अपरिवर्तनीय स्वाभाविक र स्विकार्नैपर्ने मृत्युलाई स्निग्ध मनले किन स्वागत नगर्ने ?

जीवन र मृत्युको दूरी केवल त्यति नै छ, जति पल मान्छेले बाँच्न सक्छ । सपनाजस्तो एउटा यात्राको गन्तव्यमा पुर्‍याउने साथी अनन्त अज्ञात शून्यतामा विलीन हुन्छ । त्यति वेला मान्छेसँग जीवन रोज्ने विकल्प हुँदैन । बाँकी रहन्छ त केवल जीवनको शून्यता । 

हामीलाई कसैले मृत्युको खबर सुनाइदियो भने झसङ्ग हुन्छौँ । मृत्यु हुने व्यक्ति उमेर पुगेको होस् नहोस्— सामाजिक सञ्जालमा अल्पायु, असामयिक, समवेदना र श्रद्धाञ्जलीजस्ता शब्द खोजेर लेख्न हतारिन्छौँ तर मृत्यु खुट्ट्याउन जान्दैनौँ । 

१९१२ अप्रिल १४ राति समुद्रमा टाइटानिक जहाज डुब्यो । उक्त जहाजमा यात्रा गरेका १६३५ मानिसले कल्पना पनि गरेका थिएनन् होला, हाम्रो मृत्यु जहाज डुबेर हुनेछ । हामी विश्व घटनामध्येका एक सम्झनायोग्य घटनाको पात्र बन्नेछौँ ।

हामीलाई लाग्छ, त्यत्रो मानिसहरूको अकालमा ज्यान गयो । हामीले यो भुल्यौँ, त्यो कारण मृत्यु थियो । उनीहरू आजसम्म विश्वसामु बाँचिरहेका छन्, एक इतिहास बनेका छन् । यो झनै सुखद मृत्यु हो । फरक यति मात्रै हो— को, कहाँ कुन ठाउँमा कसले कसरी मृत्युवरण गर्छ भन्ने । सबै मृत्युको कारण हुन्छ, अकारण मृत्यु हुँदैन । 

आजभोलि घाटमा मृत्युत्सव मनाउने चलन नेपालमा पनि सुरु भएको पाइन्छ । ओशो संन्यासीले यसको सुरुवात गरेका छन् । जीवनको क्षणभङ्गुरतालाई पञ्चतत्त्वसँग मिलाइसकेपछि मृत्युको बाटो हिँडेका कहिल्यै फर्कंदैनन् । यसरी नफर्कने गरी गएकाहरूसँग गुनासो पनि सायदै रहन्न । गुनासो रहँदैन भने शोक मनाउनु पनि जायज होइन । मनाउने, मान्ने कुरा पनि एक प्रकारले उत्सवको स्वीकारोक्ति हो । 

मृत्यु ! डर, शोक मात्र होइन, मानिसलाई असल काममा लगाउने साधन पनि हो । मानिसले असल सोच राखेमा जीवन र मृत्यु दुवैलाई अँगाल्न सक्छ । मृत्यु रोजाइ होइन अनिवार्यता हो । शाश्वत मृत्युको धरातल नभए जीवन चम्कँदैन । मृत्युको जीवित अनुभूतिबाट मानव अस्तित्व मानव जीवन उत्सवमय बन्छ । 

मानिसलाई मृत्युबोध, मृत्यु चेतनाले एक सुन्दर जीवनप्रतिको आशा, भरोसा, आत्मविश्वास र प्रेरणा पनि दिनेछ । मृत्युलाई बुझ्ने र जीवनलाई गहिरिएर नियाल्ने अवसर पनि दिनेछ । 
त्यसैले म दैनिक सुन्दर मृत्यु यात्रामा हिँड्दै छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश भट्ट आश्रिन
सुरेश भट्ट आश्रिन
लेखकबाट थप