थुनछेक बहस चल्दै गर्दा इजलासमा रुवाबासी
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी थुनछेक बहस चल्दै गर्दा कास्की जिल्ला अदालतको इजलासमै रुवाबासी भएको छ । इजलासमा सरकारी वकिलले बहस गरिरहँदा प्रतिवादीमध्येका कृष्णबहादुर गुरुङले आफूले 'यहीँ मर्ने' अभिव्यक्ति दिएपछि रुवाबासी चलेको हो ।
८० वर्षीय गुरुङले इजलासमा यस्तो बताएपछि अवस्था असहज भएर बहस नै स्थगित गरिएको अदालत स्रोतले बताएको छ । उनको 'यहीँ मर्ने' अभिव्यक्तिपछि पूर्व सांसद मिना गुरुङ लगायत रुन थालेका थिए भने बहसको वातावरण एकाएक बिग्रन पुगेको थियो ।
जतिबेला न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलको तर्फबाट सुजाता पौडेलले बहस सकेर शान्तिदेवी शर्माले बहस थालेकी थिइन् ।
सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत जोडिएका छन् । उक्त मुद्दामा अदालतमा रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो ।
सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लगायतका केही प्रतिवादीलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ ।
लामिछानेसहितका बयान दिएका प्रतिवादीहरु सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै छन् । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।
यसैगरी प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ रुपैयाँ, जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ, पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
यस्तै सहकारी ठगीमा जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार रुपैयाँ र अर्का प्रतिवादी दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा दर्ता भएको छ भने सहकारी ठगी मुद्दामा चाहिँ लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म कुल ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बार र बेन्चबिच विवाद छैन तर संविधान संशोधन गर्ने नियमावली मान्दैनौँ’
-
स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
-
नयाँ वर्षकै दिन अमेरिकामा भएको आक्रमणबारे के भन्छन् डोनाल्ड ट्रम्प ?
-
तराई-मधेसमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह
-
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा ७५७ व्यक्तिद्वारा रक्तदान
-
चीनले बनायो दिमाग पढ्न सक्ने मेशिन