चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

कञ्चनपुर । चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्किनुहुन्छ, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना ।
साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवावयमा भन्दा कम छैन । उनले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहेका छन् । “छोराहरु बेरोजगार छन् । खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,” उनले भने, “डोरी बेचेरै पेट पालिएको छ ।”
डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप रु एक सय दिन्छन् । फुर्सदमा उनी चाउचाउ, बिस्कुटलगायत प्लास्टिक सङ्कलन गर्छन्। भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्छन् । उनका अनुसार रु दुई सय ५० देखि पाँच सय सम्ममा ती सामग्री बिक्री हुन्छन् । ग्रामीण क्षेत्रमा वनजङ्गलबाट पातपतिङ्गर ल्याउन जालको प्रयोग गरिन्छ । चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जङ्गलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,” उनले भने, “आकारअनुसार फरक फरक दरमा बेच्छु । दैनिक दुई/तीनवटा बिक्री हुँदा गुजारा चल्छ ।”
सानो आकारको जाल, मुखौरी रु दुई सय ५० र ठूलो आकारको रु पाँच सयमा बिक्री हुने गर्छ । प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन् ।
रामस्वरुपका दुई छोरा छन् । उनकी श्रीमती ५४ वर्षकै उमेरमा बितेकी थिइन् । कोरोना महामारीपछि यो व्यापारमा लागेको उनी बताउँछन्। “काम नगरी खान पुग्दैन । डोरीको व्यापारले जीवन धानिएको छ,” उनले भने, “बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य