शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

सन् २०२४ को अन्तिम दिन विश्व क्रिकेटमा रोचक घटना ः वेस्ट इन्डिजका बलरले एक बलमै दिए १५ रन !

मङ्गलबार, १६ पुस २०८१, १६ : १५
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । सन् २०२४ को अन्तिम दिन विश्व क्रिकेटमा एउटा रमाइलो घटना भएको छ । बंगलादेश प्रिमियर लिग क्रिकेटको मंगलबार खेलिएको खेलमा एक बलरले एक बलमै १५ रन दिएका हुन् ।

बंगलादेश प्रिमियर लिगको नयाँ सिजनको तेस्रो खेल मंगलबार खुलना टाइगर्स र चटगाउँ किङ्सबिच खेलिएको थियो । चटगाउँ किङ्सले टस जिती पहिले बलिङको निर्णय लिएको थियो ।

पहिले ब्याटिङको निम्तो पाएको खुलना टाइगर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय तीन रन बनाएको थियो । त्यसपछि, चटगाउँ किङ्स दुई सय चार रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको थियो ।

चटगाउँ किङ्सको तर्फबाट नइम इस्लाम र परवेज हुसैन इमोन ओपनर ब्याट्सम्यानको भूमिकामा क्रिजमा थिए । खुलना टाइगर्सको तर्फबाट वेस्ट इन्डिजका ओशेन थोमसले पहिलो ओभर फाल्ने जिम्मेवारी पाएका थिए ।

थोमसको पहिलो बल नइम इस्लामले खेल्नु पर्ने थियो । थोमसले पहिलो बल नै ‘नो बल’ फाले । तर, त्यसमा थप रन भने बन्न सकेन । त्यसपछि नइम इस्लामले फ्रि हिटको मौका पाए । फ्रि हिटमा नइम इस्लामले छक्का प्रहार गरे । १४

दूर्भाग्यवशः थोमसले फालेको त्यो बल पनि ‘नो बल’ नै थियो । त्यसपछि नइम इस्लामले फेरि फ्रि हिटको अवसर पाए । तर, ओशेनले लगातार दुईपटक ‘वाइड बल’ फाले । त्यसपछिको बलमा नइम इस्लामले चौका हिर्काए ।

दूर्भाग्यवशः त्यो पनि ‘नो’ बल नै भयो । तर, त्यसपछिको ‘फ्रि हिट’ बलमा भने कुनै रन बन्न सकेन । यसरी खुलना टाइडर्सबाट खेलिरहेका क्यारेबियन बलर थोमशले एक बलमै १५ रन खर्चिएका थिए ।

त्यसपछि पनि थोमसले आफ्नो पहिलो ओभरमै अर्को ‘नो बल’ फालेका थिए । उनले ओभरको चौथो बल पनि ‘नो बल’ नै फालेका थिए । त्यसवापत प्राप्त ‘फ्रि हिट’ मा दुई रन बनेको थियो । रमाइलो पक्ष त के हो भने, थोमसले आफ्नो पाँचौँ बलमा नइम इस्लामको विकेट लिएका थिए ।

उक्त खेलमा खुलना टाइडर्सले चटगाउँ किङ्सलाई ३७ रनले हराएको थियो । चटगाउँ किङ्स १८.५ ओभरमा एक सय ६६ रन बनाउँदै अलआउट भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप